तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

सन्दर्भ काटेर भाइरल बनाइएको गगन थापाको जनजातिसम्बन्धी भिडियो भ्रामक


सन्दर्भ काटेर भाइरल बनाइएको गगन थापाको जनजातिसम्बन्धी भिडियो भ्रामक

नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई गाली गर्दै ब्राह्मण क्षेत्रीको पक्षमा बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

तर, हामीले गरेको तथ्य जाँचमा ७ वर्षअघिको झण्डै २८ मिनेटको भाषणको भिडिओको अंशलाई तोडमोड गरेर निर्वाचनको मुखमा भ्रम छर्ने प्रयास भएको पुष्टि भएको छ।

के हो दावी ?

@globalmedia0098 टिकटक ह्यान्डलबाट सोमबार (सन् २०२६ को फेब्रुअरी २३) को दिन गगन थापाको ३७ सेकेन्डको भिडिओ पोष्ट भएको छ। यो टिकटक एकाउन्टमा सोमबार मध्याह्न हामीले तथ्य जाँच गर्ने बेलासम्ममा यही एउटा मात्रै भिडिओ पोष्ट भएको देखिन्छ भने टिकटकमा फलोअर्स पनि निक्कै कम २ सय ३९ जना मात्रै देखिन्छ ।

तर, यो तथ्य जाँच गर्ने समयसम्ममा भिडिओलाई २ लाख ६४ हजारभन्दा धेरैले हेरेका छन् भने ९ हजार ८ सय ३६ पटक रियाक्ट र १ हजार ३ सय ५५ पटक कमेन्ट आइसकेको छ ।

भिडिओमा गगन थापा जनजाति समुदायप्रति अपमानजनक अभिव्यक्ति दिँदै ब्राह्मण–क्षेत्रीको पक्षमा बोलेको जस्तो देखिन्छ।

भिडियोमा सुनिने अंशमा उनी यसरी बोलिरहेको सुनिन्छ:

“यो जनजातिहरुले नेपालमा आफूले आफूलाई के भन्ठानेका छन्?… नेपालमा क्षेत्री ब्राह्मण नभएको भए नेपालमा कुनै पार्टी चल्थ्यो?…”

ग्लोबल मिडिया नामक टिकटक अकाउन्टबाट पोष्ट भएको भिडिओको स्क्रिन रेकर्ड हेर्नुहोस्

टिकटक पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यही भिडियो एक लाखभन्दा बढी सदस्य रहेको श्रम संस्कृति पार्टी- हर्क साम्पाङ नामको फेसबुक ग्रुपमा पनि सेयर भएको छ।  त्यसैगरी एक्समा पनि @MissionFalgun21 ले यही भिडियो पोस्ट गरेका छन् जसलाई ३३ पटक रिपोस्ट गरिएको छ। 

के हो तथ्य ?

भाइरल भिडिओको तथ्य जाँच गर्नका लागि हामीले भिडिओबाट एउटा फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ। यसको नतिजामा Magar LaaphaTv नामक फेसबुक पेजमा सन् २०२० को सेप्टेम्बर ३ मा ७ मिनेट १७ सेकेन्डको भिडिओ पोष्ट भएको भेटियो ।

पूरा भिडियोको सन्दर्भ अनुसार गगन थापाले आफ्नै धारणा व्यक्त गरेका होइनन्।

उनले तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा प्रचण्डले आफूलाई भनेको दाबी सार्वजनिक मञ्चमा उद्धृत गरिरहेका थिए।

७ मिनेट १७ सेकेन्डको भिडिओमा  गगन थापाले १ मिनेट ५७ सेकेन्डपछि यसो भनेका छन्, –

जतिखेर नेपालमा जनजाति आन्दोलन चर्किरहेको थियो, जनजाति आन्दोलनहरु, क्षेत्री ब्राह्मण सबैको आन्दोलन चर्किरहेको बेलामा हामी केही कांग्रेसका साथीहरु प्रचण्डजीलाई भेट्न उहाँको दरबारमा गयौँ । उहाँको दरबारमा गएर उहाँलाई हामीले भन्यौँ,  तपाईँ नेपालको एउटा ठूलो नेता हुनुहुन्छ केही विषयमा तपाईसँग गफ गर्नुछ। हामी नेपालको संविधान सभालाई सफल बनाउने कुरामा कांग्रेसका साथीहरु, माओवादी, एमाले सबसँग छलफल गरौँ भनेर उहाँहरुको घरघर गएका थियौँ।
प्रचण्डजीको घर गैसकेपछि उहाँले आफ्नो कोठामा बोलाउनु भो । बोलाएपछि उहाँले हामीलाई कालो च्या मगाउनु भो । चिया खुवाउन थाल्नुभयो। चिया खुवाइसके पछाडि हामीले गफ सुरु गर्न मात्र पाएका थिएनौँ उहाँले टाउको सरर सबैतिर घुमाउनुभयो। टाउको सरर सबैतिर घुमाएपछि उहाँले के बोल्न के भन्न थाल्नुभयो भने यो जनजातिहरुले नेपालमा आफूले आफूलाई के भन्ठानेका छन् ? सबै कुरा अधिकार मागेर, यो चाहियो त्यो चाहियो भनेर, यिनीहरुले गर्न के खोजेको ? नेपालमा क्षेत्री ब्राह्मण नभएको भए नेपालमा कुनै पार्टी चल्थ्यो ? तपाईको पार्टी हेर्नुस् कसले चलाएको छ ? मेरो पार्टी हेर्नुस् कसले चलाएको छ ? एमाले हेर्नुस्, राप्रपा हेर्नुस्, कुन चैँ पार्टी क्षेत्री ब्राह्मण बाहेक अरुले चलाएको छ ? नेपालमा जनयुद्धको नेतृत्व कसले गर्‍यो- क्षेत्री ब्राह्मणले । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व कसले गरे-क्षेत्री ब्राह्मणले । रुसमा जसरी मुख्य जातिले रुसको आन्दोलन सफल बनायो नेपालमा पनि क्षेत्री ब्राह्मणले सफल बनाएको । त्यसैले क्षेत्री ब्राह्मणलाई अन्य समूहमा राख्ने, अधिकार नदिने -जनजातिहरुको यस्ता वाइयात कुराले हुन्छ  ?
अनि मैले पनि टाउको सरर त्यो कोठामा घुमाएर हेरेँ । यसो हेरेको त्यो कोठामा को-को रहेछ भने दाहाल, भट्टराई , भण्डारी,  केसी हामी यति मात्र बाँकी रहेछौँ। जहाँ कोठामा दाहाल, भण्डारी. भट्टराई, केसी भेट्यौँ, त्यहाँ जनजातिलाई गाली गर्न थालिहाल्यौँ। जहाँ जनजातिको बीचमा गएर उभियो -त्यहाँ गएर क्षेत्री ब्राह्मण शोषक सामन्त दलाल के-के भन्न सकिन्छ भन्न थालिहाल्यो ।

सुन्नुहोस् ६ वर्षअघि सन् २०२० मा पोष्ट भएको गगन थापाको भिडिओको १ मिनेट ५७ सेकेन्डपछिको खण्ड

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

अर्थात्, भाइरल क्लिपमा सुनिएको अंश प्रत्यक्ष रूपमा गगन थापाको धारणा होइन, तर उनले प्रचण्डको भन्दै उद्धृत गरेको भनाइ हो।

हामीले यस विषयमा थप जान्न नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीलाई सम्पर्क गर्‍यौँ। उनले रोल्पामा ७ वर्षअघि भएको एउटा कार्यक्रममा  गगन थापाले दिएको भाषणको एक अंशलाई अर्थ फरक लाग्ने गरी भ्रामक रुपमा फैलाइएको बताए। उनले त्यस कार्यक्रमको २७ मिनेट ५६ सेकेन्ड लामो भिडियो समेत हामीलाई पठाए।

युट्युबमा शेरबहादुर थापा नामबाट मे २३, २०१९ मा अपलोड भएको यो भिडियोको २ मिनेट ३४ सेकेन्डबाट ३ मिनेट ११ सेकेन्डसम्मको अंश अहिले भाइरल बनाइएको भिडियोसित हुबहु मिल्छ।

हेर्नुस् भिडियो-

तथ्य जाँच 

दावी : गगन थापाले जनजातिलाई गाली गर्दै ब्राह्मण–क्षेत्रीको पक्षमा बोलेको दाबीसहितको भिडियो।

दावीकर्ता :  @globalmedia0098 नामक टिकटक ह्यान्डल

तथ्य : भ्रामक सूचना। भाइरल भिडियो सन् २०१९ मा सार्वजनिक भएको २७ मिनेटभन्दा लामो भाषणको अंश काटेर तयार गरिएको हो। उक्त अंशमा गगन थापाले आफ्नै धारणा व्यक्त गरेको जस्तो देखाइएको छ। तर पूरा भिडियो हेर्दा उनले प्रचण्डले उक्त टिप्पणी गरेको दाबी गर्दै फरक–फरक समूहमा फरक भाषा प्रयोग हुने प्रवृत्तिको आलोचना गरेका हुन्। अर्थात्, भाइरल क्लिपमा सुनिएको अंश प्रत्यक्ष रूपमा गगन थापाको धारणा होइन, तर उनले उद्धृत गरेको भनाइ हो। तर भाइरल भिडियोमा अघिल्लो र पछिल्लो व्याख्या काटेर टुक्रा प्रस्तुत गर्दा अर्थ पूर्ण रूपमा परिवर्तन भएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add