तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

गगन थापाकै अघि ‘बाख्रो ब्याएन भनेर बोको कुट्नु हुँदैन’ भनियो भन्ने दाबी भ्रामक


गगन थापाकै अघि ‘बाख्रो ब्याएन भनेर बोको कुट्नु हुँदैन’ भनियो भन्ने दाबी भ्रामक

  • पवित्रा पराजुली, सुरज घिमिरे-

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन कुमार थापालाई मत माग्ने क्रममा एक पुरुषले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल छ । जसमा एक मतदाताले गगन थापालाई भनेका छन्, ‘तर, बाख्रो ब्याएन भनेर बोको कुट्न चाहिँ पाइँदैन ।’ तर, हाम्रो तथ्य जाँचले उक्त भाइरल भिडियो पुरानो र अडियो सम्पादन गरी बनाइएको पुष्टि गरेको छ ।

के हो दाबी ?
खोजी प्रेस नामक फेसबुक पेजमा फेब्रुअरी ९ तारिख सोमबार दिउँसो २ः२० बजे एउटा भिडियो समाचार अपलोड भयो । ‘बाख्रो ब्याएन भनेर बोको कुट्नु भएन भनेपछि’ भन्ने थम्बनेलसहितको भिडियो समाचारमा एकंरले भन्छिन्, ‘गगन कै अघि बाख्रो ब्याएन भनेर बोको कुट्नु भएन भनेपछि’

त्यसपछि गगन थापाले मत माग्दै गरेको भिडियो देखाइन्छ । जसमा एक मतदाताले गगन थापालाई भनेका छन्, ‘तर, बाख्रो ब्याएन भनेर बोको कुट्न चाहिँ पाइँदैन ।’

त्यसपछि एकंरले पुनः समाचार सुरु गर्दै भन्छिन्, ‘नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट चुनावी मैदानमा होमिँदै छन् । चुनावी घरदैलो अभियानको क्रममा एक व्यक्तिले उनलाई यस्तो कुरा भने, जुन कुरा सुनेर गगन रिसाएका थिए । ती व्यक्तिले गगनलाई कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन । तर, बाख्रो ब्याएन भनेर बोको कुट्न चाहिँ पाइँदैन भनेका छन् । जुन कुरा सुनेर गगन रिसाएको भिडियोमा देख्न सकिन्छ ।’

हामीले तथ्य जाँच गर्दै गर्दा उक्त भिडियोमा ६ हजार ४ सय लाइक, एक सय तीन कमेन्ट र दुई सय तीन पटक शेयर गरिएको छ भने उक्त भिडियोलाई एक लाख २६ हजार बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, खोजी प्रेस नामक फेसबुक पेजमा अपलोड गरिएको समाचारको स्क्रिन रेकर्ड :

उक्त समाचारको लिंकअर्काइभ लिंक

फेब्रुअरी ७ दिउँसो १ः१४ मा रामजी यादव नामक फेसबुक प्रयोगकर्ताले गगन थापाले मत माग्दै गरेको उक्त भिडियो फेसबुकमा अपलोड गरेका छन् । ‘यो भन्दा ठुलो सम्मान कुन उम्मेदवारलाई हुन्छ होला त ?’ भन्ने शीर्षकसहित हालिएको १८ सेकेन्डको भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा दुई हजार ९ सय बढी लाइक, एक सय ६५ कमेन्ट र दुई सय ६७ पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन सट :

उक्त फेसबुक एकाउन्टमा अपलोड गरिएको भिडियोको लिंकअर्काइभ लिंक 

दुई लाख ८० हजार फलोअर्स भएको मनु पिठा नामक फेसबुक एकाउन्टमा फेब्रुअरी ६ तारिख बिहान ६ः२१ बजे सोही भिडियो अपलोड गरिएको छ ।

‘के भन्दैछ जनता’ भन्ने शीर्षकसहित अपलोड गरिएको उक्त भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा दुई हजार दुई सय लाइक, ८७ कमेन्ट र चार सय ५५ पटक शेयर गरिएको छ भने ५९ हजार पटक उक्त भिडियो हेरिएको छ ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन सट :

उक्त फेसबुक एकाउन्टमा अपलोड गरिएको भिडियोको लिंकअर्काइभ लिंक 

के हो तथ्य ?
हामीले तथ्य जाँच गर्ने क्रममा उक्त भाइरल भिडियोबाट स्क्रिन सट लिएर गुगलमा रिजर्भ इमेज सर्च गर्यौ । खोज्दै जाँदा हामीले २०७४ सालमा भएको आम निर्वाचनको समयमा भोट माग्दै गरेको गगन थापाको भिडियोहरू फेला पार्यौ ।

सन् २०१७ डिसेम्बर १ अर्थात् वि.सं. २०७४ साल मङ्सिर १५ गते प्रवेश भण्डारी नामक युट्युब च्यानलमा Gagan Thapa Election Campaign 2017 Kathmandu Constituency No 4, Nepal शीर्षकमा भिडियो अपलोड गरिएको छ । जुन अहिलेको भाइरल भिडियोसँग ठ्याक्कै मिल्छ । तर, उक्त भिडियोमा ती व्यक्तिले भनेका छन्, ‘तपाईँले जुन लिडिङ गर्नुभएको छ, त्यसको लागि अब बिपीको लाइनमा आइदिनुस् ।’ त्यसपछि उनले अन्य काम गरिदिन अपिल गर्छन् ।

हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :

प्रवेश भण्डारी नामक युट्युबमा राखिएको उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

हामीले गगन थापाको भिडियोमा राखिएको अडियोबारे पनि खोज्यौं । कलाकार मनोज गजुरेलले फेब्रुअरी ४ तारिख बुधबार मध्यान्ह १२ः२० मा एउटा भिडियो हालेका छन् । ‘झापा ५ का छिमेकी, ईटहरा, मोरङ निवासी राजनीतिका भुक्तभोगी श्री कमल भान्जा मिश्र भन्नुहुन्छ – ‘जीत–हार आफ्ना ठाउँमा छ तर…भिडियो हेर्नुहोस्’  शीर्षकमा हालिएको भिडियोमा उक्त कुरा भनिएको छ ।

हेर्नुहोस्, कलाकार मनोज गजुरेलले फेसबुकमा अपलोड गरेको भिडियोको स्क्रिन रेकर्ड :

कलाकार मनोज गजुरेलले फेसबुकमा अपलोड गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

(अर्काइभ लिंक यहाँ उपलब्ध छ) 

यसरी तुलना गर्दा पूरानो भिडियोलाई सम्पादन गरि भिडियोमा छुट्टै अडियो जोडेर अहिले भाइरल बनाइएको पुष्टि हुन्छ ।

तथ्य जाँच
दाबी : नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन कुमार थापालाई मतदाताले ‘बाख्रो ब्याएन भनेर बोको कुट्नु भएन भनेपछि’ भन्दै भाइरल भिडियो ।

दाबीकर्ता : खोजी प्रेस, रामजी यादव र मनु पिठा लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : भ्रामक । गगन थापाले मत माग्दै गरेको भिडियो ८ वर्ष पूरानो हो । जसमा छुट्टै अडियो जोडेर अहिले उक्त भिडियोलाई भाइरल बनाइएको हो ।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add