- सुरज घिमिरे
- फाल्गुन १३, २०८२

मंगलबार काठमाडौंसहितका स्थानमा भारी होइन, हल्कादेखि मध्यम वर्षा भएको हो
आइएनएस डट न्युज (आइएनएस स्वतन्त्र समाचार)मा मंगलबार ‘काठमाडौंसहित विभिन्न स्थानमा भारी वर्षा’ शीर्षकमा एउटा समाचार प्रकाशित भयो। तर, हाम्रो तथ्य जाँचले मंगलबार काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको सही भए पनि ‘भारी वर्षा’को परिभाषामा पर्ने गरी वर्षा भने नभएको देखियो।
के हो दाबी ?
आइएनएस डट न्युज (आइएनएस स्वतन्त्र समाचार)मा मंगलबार (फेब्रुअरी २४) मा ‘काठमाडौंसहित विभिन्न स्थानमा भारी वर्षा’ शीर्षकमा एउटा समाचार प्रकाशित भयो, जसमा उपत्यकासहित मुलुकका विभिन्न भूभागमा मंगलबार दिउँसो पानी परेको उल्लेख छ।
हेर्नुहोस्, समाचारको स्क्रिनसट :

उक्त समाचारको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखासँग सम्पर्क गर्यौ । उक्त महाशाखाले दैनिक रूपमा अवलोकन गरेको मौसम गतिविधिअनुसार फागुन १२ गते बिहान ०८:४५ बजेदेखि फागुन १३ बिहान ०८:४५ बजे सम्म देशभरका ७७ वटा केन्द्रहरूमा वर्षा भएको छ।
३३७ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालित : ८१ र स्वचालित : २५६) मध्ये देशभरका ७७ वटा केन्द्रहरूमा वर्षा भएको हावापानी विज्ञान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ७७ वटा केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा सङ्खुवासभा जिल्लाको नुम केन्द्रमा मापन भएको छ। नमु केन्द्रमा ३७ दशमलव ४ मिलिमिटर (मि.मि) वर्षा मापन गरिएको हो। महाशाखाका अनुसार यो समयमा काठमाडौंको कपन, नैकाप, सुन्दरी जल, ललितपुरको खुमलटार, गोदावरी, लेले मापन केन्द्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको थियो।
हेर्नुहोस्, फागुन १२ गते बिहान ०८ः४५ बजेदेखि फागुन १३ बिहान ०८ः४५ बजे सम्म देशभरका मापन गरिएको वर्षाको विवरण :

यसरी गरिन्छ वर्षाको मापन
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अशोक बख्रेलका अनुसार वर्षाको मापन मिलिमिटर (मि.मि)मा हुन्छ। १० मिलिमिटरसम्म वर्षा हुनुलाई हल्का वर्षा भनिन्छ भने १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ।
यस्तै, ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटर भन्दा माथिको वर्षालाई अति धेरै वर्षा भनिने मौसमविद् बख्रेल बताउँछन्।
यस अनुसार फागुन १२ गते बिहान ०८ः४५ बजेदेखि फागुन १३ बिहान ०८ः४५ बजे सम्म देशभरमध्ये सबैभन्दा बढी सङ्खुवासभा जिल्लाको नुम केन्द्रमा मापन गरिएको ३७ दशमलव ४ मिलिमिटर (मि.मि) वर्षा मध्यम वर्षा हो।
तथ्य जाँच
दाबी : ‘काठमाडौंसहित विभिन्न स्थानमा भारी वर्षा’ शीर्षकमा प्रकाशित समाचार।
दाबीकर्ता : आइएनएस डट न्यूज नामक समाचार संस्था।
तथ्य : भ्रामक सूचना । मंगलबार काठमाडौंसहितका विभिन्न स्थानमा वर्षा भएको सही हो। तर, भारी वर्षा हुन ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा मापन हुनुपर्छ। फागुन १२ गते बिहान ०८ः४५ बजेदेखि फागुन १३ बिहान ०८ः४५ बजे सम्म देशभरमध्ये सबैभन्दा बढी सङ्खुवासभा जिल्लाको नुम केन्द्रमा मापन गरिएको ३७ दशमलव ४ मिलिमिटर (मि.मि) वर्षा हो, जुन मध्यम वर्षा भित्र पर्दछ।