तथ्यजाँच भ्रामक सूचना सुदूरपश्चिम

रास्वपा नेतृ ज्वाला सङ्ग्रौलामाथि कुटपिट भएको दाबी भ्रामक


रास्वपा नेतृ ज्वाला सङ्ग्रौलामाथि कुटपिट भएको दाबी भ्रामक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिक उम्मेदवार टिका सङ्ग्रौला (ज्वाला)माथि कुटपिट भएको खबरहरू सोमबारदेखि सामाजिक सञ्जालमा फैलिएका छन् । तर, हाम्रो तथ्य जाँचले सङ्ग्रौलामाथि भौतिक आक्रमण नभएको पुष्टि गरेको छ ।

के हो दाबी ?
लक्ष्मण धामी नामक फेसबुक प्रयोगकर्ताले सोमबार (जनवरी १६) राती १०ः२४ बजे सामाजिक सञ्जालमा एउटा स्ट्याटस राखे । जसमा उनले लेखेका छन्, ‘गुड न्युज ज्वालालाई सङ्ग्रौलालाई राम धुलाइ गरेछन् त वाह’

३६ हजार फलोअर्सको धामीको फेसबुक एकाउन्टमा राखिएको उक्त स्ट्याटसमा हामीले तथ्य जाँच गर्दै गर्दा एक हजार दुई सय बढी लाइक, तीन सय ५१ कमेन्ट र १२ पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त फेसबुक स्ट्याटसको लिङ्कअर्काइभ लिङ्क

रक्षा थापा नामक फेसबुक एकाउन्टमा पनि सोही स्ट्याटससहित एउटा मास्क लगाएको महिलाको तस्वीर अपलोड गरिएको छ । सोमबार (जनवरी १६) राती १०ः३५ मा अपलोड गरिएको उक्त तस्वीरसहितको पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा एक सय ९६ लाइक र एक सय ९ वटा कमेन्ट रहेका छन् ।

हेर्नुहोस् स्क्रिन सट :

फेसबुक लिङ्कअर्काइभ लिङ्क 

के हो तथ्य ?
तथ्य जाँचको क्रममा हामीले फेसबुकमा पोस्ट गरिएको लक्ष्मण धामीको प्रोफाइल हेर्यौ । एमाले लेखिएको टिसर्ट र क्याप टोपी लगाई हातमा सूर्य चिन्ह अङ्कित झण्डा समातिएको प्रोफाइल राखिएको धामीको फेसबुक भारतमा सञ्चालन भइरहेको पायौं ।

फेसबुकको ट्रान्सपरेन्सी अनुसार सन् २०२० जुलाई १ मा बनाइएको लक्ष्मण धामी नामक एकाउन्ट भारतबाट चलिरहेको पुष्टि भएको हो ।

हेर्नुहोस्, स्क्रिन सट :

प्रोफाइलमा नेकपा (एमाले)को चुनाव चिन्ह अङ्कित टिसर्ट लगाइएको फोटो राखिएको रक्षा थापा नामक फेसबुक एकाउन्ट पनि भारतबाटै सञ्चालन भएको पाइयो । फेसबुकको ट्रान्सपरेन्सी अनुसार सन् २०२४ अक्टोबर ८ मा बनाइएको उक्त फेसबुक एकाउन्टको लोकेसन भारत रहेको पाइएको हो ।

हेर्नुहोस्, स्क्रिन सट :

एड्भान्स सर्च गरेर हेर्दा हामीले रास्वपाकी केन्द्रीय सदस्य तथा आगामी प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिक उम्मेदवार टिका सङ्ग्रौला (ज्वाला)माथि कुटपिट भएको कुनै पनि आधिकारिक समाचार फेला पार्न सकेनौं ।त्यसैगरी, ज्वाला सङ्ग्रौला भन्दै दाबी गरिएको मास्क लगाएकी महिलाको तस्वीरबारे पनि रिभर्स इमेज सर्च गरेर खोजी गर्दा उक्त तस्वीर ज्वाला सङ्ग्रौलाकै भएको वा उनीसँग मिल्दोजुल्दो भएको पुष्टि हुन सकेन।

त्यसपछि हामीले रास्वपाकी केन्द्रीय सह–प्रवक्ता प्रतिभा रावलसँग यसबारे बुझ्यौं । उनले उक्त खबर सरासर झुटो भएको प्रतिक्रिया दिइन् । ‘मैले यस विषयमा स्वयं ज्वाला सङ्ग्रौलासँग कुरा गरे । उहाँले पनि हिजो साँझ आफूलाई यस विषयमा बुझ्न धेरैले फोन गरेको बताउनुभयो । यो सरासर झुटो हो ।’, सह–प्रवक्ता रावलले नेपाल फ्याक्ट चेकसँग भनिन् ।

त्यसपछि, हामीले यस विषयबारे जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी नायब सुब्बा अमर प्रसाद जैसीलाई सोध्यौं ।

उनले नेपाल फ्याक्ट चेकसँगको कुराकानीमा अछाममा त्यस्तो घटनाबारे कुनै उजुरी वा गुनासो प्राप्त नभएको बताए । उनले ज्वाला सङ्ग्रौला लगायतको टोली मंगलबार धनगढी प्रस्थान भएको जानकारी दिँदै ज्वाला सङ्ग्रौलामाथि कुटपिटको घटना सत्य नभएको बताए ।

हामीले ज्वाला सङ्ग्रौलामाथि कुनै भौतिक आक्रमण भएको प्रमाण फेला पार्न सकेनौँ।यद्यपि, उनी पछिल्लो समय चुनावी प्रचारप्रसारको क्रममा अछाममा खटिएको उनको फेसबुकमा अपलोड भएका पोस्टहरूबाट देखिन्छ।

तथ्य जाँच
दाबी : रास्वपा नेतृ ज्वाला सङ्ग्रौलामाथि कुटपिट भएको भन्दै फैलाइएको खबर

दाबीकर्ता : लक्ष्मण धामी र रक्षा थापा नामक फेसबुक प्रयोगकर्ता

तथ्य :  भ्रामक सूचना। रास्वपाकी केन्द्रीय सदस्य तथा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार टीका सङ्ग्रौला (ज्वाला)माथि कुटपिट नभएको रास्वपाकी सह-प्रवक्ता प्रतिभा रावल तथा जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी नायब सुब्बा अमर प्रसाद जैसीले पुष्टि गरेका छन्। भौतिक आक्रमण भएको कुनै प्रमाण फेला परेन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add