तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

नेपालीहरूले पाइराखेको ९५ प्रतिशत सूचनाहरू भ्रम रहेको दावी यसकारण गलत


नेपालीहरूले पाइराखेको ९५ प्रतिशत सूचनाहरू भ्रम रहेको दावी यसकारण गलत

पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा नेपालीहरूले पाइराखेको ९५ प्रतिशत सूचनाहरू भ्रम भएको दाबी गरिएको छ । तर, हाम्रो तथ्य जाँचले उक्त दाबी भ्रामक रहेको पुष्टि भएको छ।

के हो दाबी ?

विवेक थपलिया नामका फेसबुक प्रयोगकर्ताले जनवरी १२ तारिख सोमबार एउटा भिडियो पोस्ट गर्छन्। भिडियोमा उनले “हजुरहरूले पाइराख्नु भएको ९५ प्रतिशत सूचनाहरू भ्रम हुन्” भन्दै सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालले गरेको एक अध्ययनको स्क्रिनसट देखाउँछन्। उनले भिडियोमा नेपालीहरूले पाउने ९५ प्रतिशत सूचनाहरू भ्रमको खेती भएको पटक-पटक दाबी गर्छन्।

“भ्रमको खेती बुझौँ ! नेपालमा ९५ % सूचनाहरू भ्रम फैलाउन इन्टरनेटको प्रयोग भइरहेको छ !” शीर्षकसहित पोस्ट गरिएको भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा २ हजार ९ सय बढी लाइक, ३८० कमेन्ट र २७३ पटक शेयर गरिएको छ । उक्त भिडियोलाई ५७ हजार बढी पटक हेरिएको छ।

हेर्नुहोस् उक्त भिडियोको स्क्रिनरेकर्ड :

थपलियामा फेसबुकमा अपलोड गरेको भिडियोको लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

हामीले तथ्य जाँच गर्ने क्रममा सेन्टर फर मिडिया रिसर्च नेपालले गरेको उक्त अनुसन्धानको अध्ययन गर्‍यौँ। “95 percent Nepali internet users exposed to disinformation” शीर्षकमा गरिएको सेन्टर फर मिडिया रिसर्च नेपालको अनुसन्धानले सन् २०१९ मा ट्विटर प्रयोगकर्ताहरुमाझ गरेको सर्वेक्षणमा ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या जानकारी प्राप्त गर्ने गरेको देखाएको उल्लेख छ। यसको अर्थ, सामाजिक सञ्जालमा फैलिने ९५ प्रतिशत सूचनाहरू भ्रम नभई ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले चाहिँ मिथ्या सूचना पाउने गर्छन् भन्ने हो।

हेर्नुहोस्, सेन्टर फर मिडिया रिसर्च नेिपालको वेबसाइटमा राखिएको सर्वेक्षणको रिपोर्टको स्क्रिन सट :

सेन्टर फर मिडिया रिसर्चको सर्वेक्षणको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तथ्य जाँच

दावी : नेपालीहरूले पाइराखेको ९५ प्रतिशत सूचनाहरू भ्रम भएको भन्दै गरिएको दाबी।

दावीकर्ता : विवेक थपलिया नामक फेसबुक प्रयोगकर्ता।

तथ्य : भ्रामक सूचना। सामाजिक सञ्जालमा फैलिने ९५ प्रतिशत सूचनाहरू भ्रम नभई ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले चाहिँ मिथ्या सूचना पाउने गर्छन् भन्ने हो।

डिस्क्लेमर : यो तथ्य जाँच सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालको अनुसन्धान रिपोर्टबारे सामाजिक सञ्जालमा गरिएको दावीसम्बन्धी हो। यही संस्था र माइसंसारको संयुक्त प्रयासमा नेपालफ्याक्टचेक सञ्चालनमा रहेको छ। यद्यपि, यो तथ्य जाँचका लागि सम्पादकीय स्वतन्त्रताको प्रत्याभूति भएको छ र यो तथ्य जाँचको छनौट, अनुसन्धान र नतिजामा सिएमआर नेपालको कुनै प्रभाव रहेको छैन- सम्पादक


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add