जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना

नझुक्किनुस्, लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज भारी हिमपात र वर्षाको सम्भावना होइन


नझुक्किनुस्, लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज भारी हिमपात र वर्षाको सम्भावना होइन

इमेज खबरले बुधबार बिहान ‘लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज पनि भारी हिमपात र वर्षा हुँदै’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। तर, हाम्रो तथ्य जाँचले भने बुधबार (आज) देशभर कुनै पनि क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना नरहेको देखाएको छ। यद्यपि, हल्का वर्षा र हिमपातको सम्भावना भने छ।

के हो दाबी ?

इमेज टेलिभिजनको अनलाइन संस्करण इमेज खबरमा बुधबार बिहान  ‘लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज पनि भारी हिमपात र वर्षा हुँदै’  शीर्षकमा समाचार प्रकाशन भएको छ।

हेर्नुहोस्, समाचारको स्क्रिनसट :

उक्त समाचारको लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने दैनिक मौसमसम्बन्धी बुलेटिन हेर्‍यौँ।

महाशाखाले बुधबारका लागि जारी गरेको मौसम पूर्वानुमानअनुसार देशको कुनै पनि क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छैन।

दिउँसोको लागि भनिएको छ, ‘ देशका तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा /हिमपातको सम्भावना रहेको छ ।’

मौसम पूर्वानुमान महाशाखाले आज रातिको लागि पूर्वानुमानबारे भनेको छ, ‘देशका तराई भू–भागका थोरै स्थानहरूमा तँवालो रहनेछ । देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।’

मौसम पूर्वानुमान महाशाखाले बुधबारको लागि जारी गरेको मौसम पूर्वानुमानमा कहीँ कतै पनि भारी वर्षा र हिमपात भनेर उल्लेख गरिएको भेटिएन ।

हेर्नुहोस्, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबारको लागि जारी गरेको मौसमसम्बन्धी बुलेटिन :

हेर्नुहोस्, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीनदिनको मौसमसम्बन्धी जानकारी :

हल्का वर्षा/हिमपात र भारी वर्षा/हिमपातमा के फरक छ ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात दुवैलाई मिलिमिटर (मि.मि)मा नापिन्छ । हिउँ वर्षाकै एक रूप हो ।

महाशाखाका अनुसार १० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई हल्का वर्षा वा हिमपात भनिन्छ । १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई मध्यम वर्षा वा हिमपातको रूपमा चिनिन्छ ।

यस्तै, ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई भारी र १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई धेरै भारी रूपमा लिइन्छ । त्यस्तै, २०० मिलिमिटर भन्दा माथिको वर्षा वा हिमपातलाई अति धेरै वर्षा वा हिमपात भनिने महाशाखाले जनाएको छ ।

तथ्य जाँच

दाबी : ‘लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज पनि भारी हिमपात र वर्षा हुँदै’ भन्ने शीषर्कमा प्रकाशित समाचार

दाबीकर्ता : इमेज खबर नामक अनलाइन

तथ्य : भ्रामक । लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा  भारी हिमपात र वर्षाको सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हल्का वर्षा र हिमपातको सम्भावना मात्रै छ। १० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई हल्का वर्षा वा हिमपात भनिन्छ । भारी वर्षा वा हिमपात हुनको लागि ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षा वा हिमपात हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add