तथ्यजाँच कर्णाली भ्रामक सूचना

नुवाकोटमा रास्वपालाई लखेटे भन्दै भाइरल भिडियो जाजरकोटको खेलकुद प्रतियोगिताको


नुवाकोटमा रास्वपालाई लखेटे भन्दै भाइरल भिडियो जाजरकोटको खेलकुद प्रतियोगिताको

पछिल्लो केही दिनयता नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता लखेटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तर, हाम्रो तथ्य जाँचले उक्त भिडियो नुवाकोटको नभई जाजरकोटको राष्ट्रपति रनिङ शिल्ड तथा सातौं मेयर कप प्रतियोगिताको क्रमको भएको पुष्टि गरेको छ ।

के हो दाबी ?
Rai_राई नामक फेसबुक पेजमा फेब्रुअरी २ तारिख सोमबार दिउँसो ३ः७ बजे एउटा भिडियो पोस्ट गरिएको छ । ‘नुवाकोटमा रास्वपालाई लखेटे’ लेखिएको भिडियोसँगै पोस्टमा यस्तो लेखिएको छ, ‘देशै भरिबाट यसरी नै लखेट्नु पर्छ । भ्रमको खेती गर्ने पार्टीलाई’।

१३ हजार फलोअर्स भएको उक्त पेजमा राखिएको १ मिनेट ५ सेकेन्ड लामो भिडियोमा एक सार्वजनिक कार्यक्रममा केही युवाहरूबीच झडप भएको र प्रहरीले नियन्त्रणमा लिन खोजेको देखिन्छ । हामीले तथ्य जाँच गर्दै गर्दा उक्त भिडियोमा ६ हजार ६ सय लाइक, एक हजार तीन सय कमेन्ट र एक हजार ६ सय पटक शेयर गरिएको छ । उक्त भिडियोलाई पाँच लाख २७ हजार बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :

सोही भिडियोको लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?
हामीले तथ्य जाँचको क्रममा भाइरल उक्त भिडियोबाट केही फ्रेमहरू निकालेर गुगलमा रिजर्भ इमेज सर्च गर्यौ । यसरी खोज्ने क्रममा लाल बहादुर गिरी नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी २ तारिख बिहान ८ः५८ बजे सोही भिडियोलाई अपलोड गरेको फेला पार्यौ । जहाँ उनले क्याप्सनमा लेखेका छन्, ‘जाजरकोट नलगाड नगरपालिका वडा ५ सिर्केमा जेन्जीहरूले हाम्रा मेयर ज्यूलाई पनि छोडेनन्’ ।

गिरीले फेसबुकमा अपलोड गरेको भिडियोको स्क्रिन सट :

उक्त भिडियोको लिङ्कअर्काइभ लिङ्क

हामीले थप खोज्ने क्रममा इन्द्र जित शाही  नामक फेसबुक प्रयोगकर्ताले पनि सोही सोही भिडियो फेसबुकमा पोस्ट गरेको फेला पार्यौ । फेब्रुअरी २ तारिख सोमबार बिहान ११ः२० बजे उक्त भिडियोको पोस्ट गर्दै लेखेका छन्, ‘जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. ५ मा एक कार्यक्रम मा त्यहाँका युवाहरूले मेयरलाई काम गर्न सकेन भन्दै राजीनामा मागेका छन् ।’

हेर्नुहोस्, स्क्रिनसट :

भिडियोको लिंकअर्काइभ लिंक

सन्तोष विक्रम सिंह ठकुरी नामक फेसबुक प्रयोगकर्ताले पनि सोही सन्दर्भको भिडियो फेसबुकमा पोस्ट गरेका छन् ।

फेब्रुअरी २ तारिख सोमबार बिहान १२ः४७ बजे ‘जनताका साना गुनासाहरू नसुनेर गाउँ आउँदाको अवस्था हेर्न सक्नुहुन्छ’, भन्दै पोस्ट गरिएको उक्त १ मिनेट १० सेकेन्ड भिडियोको कमेन्टमा रिप्लाई दिँदै ठकुरीले उक्त भिडियो नलगाड नगरपालिका–५ सिर्के, जाजरकोटको भएको स्पष्ट पारेका छन् ।

हेर्नुहोस्, स्क्रिन सट :

भिडियोको लिङ्कअर्काइभ लिङ्क

के भएको थियो त्यतिबेला ?

जाजरकोटको नलगाड नगरपालिका– ५ र बारेकोट गाउँपालिका– ८ जोड्ने झोलुङ्गे पुल दशकौंदेखि जीर्ण अवस्थामा रहेको र मर्मतमा कसैले ध्यान नदिएपछि युवाहरूले राष्ट्रपति रनिङ शिल्ड तथा सातौं मेयर कप प्रतियोगिताको क्रममा विरोध जनाएको माघ १९ गते जेन्जी युवा नलगाड नगरपालिका ५ सिर्के जाजरकोटका संयोजक विशाल सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

माघ १३ देखि सुरु भएको प्रतियोगिताको क्रममा माघ १५ गते पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, नलगाड नगरपालिकाका मेयर डम्बर रावत लगायतलाई पुल नबनाउन्जेल सम्म भोट माग्न नआउन आग्रह गरेको र माघ १८ गते मेयर रावत आएपछि नाराबाजी गरी भगाउने प्रयास गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हेर्नुहोस्, विज्ञप्ती 

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले पनि हामीसँग कुरा गर्दै सो भिडियोमा देखिएको दृश्य नलगाड नगरपालिकाको सातौँ नगरप्रमुख खेलकुद प्रतियोगिताको अन्तिम दिनको भएको पुष्टि गरेका छन् ।

तथ्य जाँच
दाबी : नुवाकोटमा रास्वपा लखेटिएको भन्दै भाइरल भिडियो ।

दाबी : Rai_राई नामक फेसबुक पेज

तथ्य : भ्रामक । उक्त भिडियो नुवाकोटको नभई जाजरकोटमा राष्ट्रपति रनिङ शिल्ड तथा सातौं मेयर कप प्रतियोगिताको क्रमको भएको हाम्रो तथ्य जाँचले पुष्टि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add