तथ्यजाँच भ्रामक सूचना वागमती

ओलीले घण्टी चिह्न अङ्कित क्याप लगाएका होइनन्, भाइरल फोटो सम्पादन गरिएको


ओलीले घण्टी चिह्न अङ्कित क्याप लगाएका होइनन्, भाइरल फोटो सम्पादन गरिएको

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घण्टी चिन्ह अङ्कित क्याप लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, हाम्रो तथ्य जाँचले भने उक्त फोटो सम्पादित गरी बनाइएको भएको पुष्टि गरेको छ।

के हो दाबी ?

एनइबी नेपाल नामक फेसबुक पेजले बुधबार बिहान ६ः४८ मा (फेब्रुअरी २५, २०२६) एउटा पोस्ट राख्यो । ‘वाओ : एमालेले बुथ सुरक्षाका लागि प्रत्येक केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने’ क्याप्सनसहित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फोटो अपलोड गरिएको छ।

उक्त फोटोमा केपी शर्मा ओलीले रातो रङ्गको घण्टी चिह्न अङ्कित क्याप लगाएको देखिन्छ। ६६ हजार फलोअर्स भएको एनइबी नेपाल नामक फेसबुक पेजमा राखिएको उक्त पोस्टमा हामीले बुधबार अपराह्न तथ्य जाँच गर्दै गर्दा तीन हजार ९ सय बढी लाइक, सात सय ४६ कमेन्ट र २१ पटक शेयर गरिएको छ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त फेसबुक पोस्टको लिंकअर्काइभ लिंक

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले सुरुमा ‘एमालेले बुथ सुरक्षाका लागि प्रत्येक केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने’ विषयलाई गुगलमा खोज्यौँ।

खोजी गर्ने क्रममा प्रशासन नामक अनलाइनले फागुन ११ गते सोमबार ‘बुथ सुरक्षाका लागि प्रत्येक केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउँदै एमाले’ शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो।

समाचारमा झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका दिन देशभरका प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जनाका दरले ‘नेशनल यूथ फोर्स’ का स्वयंसेवक खटाइने बताएको उल्लेख गरिएको छ ।

समाचारको स्क्रिन सट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

यस्तै, रातोपाटी डटकम नामक अनलाइनले पनि फागुन ११ गते सोमबार नै ‘ओलीको निर्देशन : हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स बनाउनू’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा पनि सोमबार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै ओलीले हरेक बुथको सुरक्षा लागि कम्तीमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको उल्लेख गरिएको छ ।

रातो पाटीमा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

त्यसपछि हामीले फोटोको वास्तविकताबारे खोज्यौं।

बाल्कोट नामक फेसबुक पेजले ‘नेशनल भोलेन्टियर फोर्स’ गठन भएको दिन २०८२ मङ्सिर ५ गते अर्थात् सन् २०२५ नोभेम्बर २१ मा वास्तविक फोटो अपलोड गरेको थियो ।

हेर्नुहोस्, स्क्रिन सट :

बाल्कोट नामक फेसबुक पेजमा अपलोड गरिएको फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्

भाइरल भएको सम्पादित फोटो र वास्तविक फोटोको तुलना हेर्नुस्-

तथ्य जाँच

दावी : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घण्टी चिन्ह अङ्कित क्याप लगाएको।

दावीकर्ता : एनइबी नेपाल नामक फेसबुक पेज।

तथ्य : भ्रामक । एमाले अध्यक्ष ओलीले घण्टी चिन्ह अङ्कित क्याप लगाएका हैनन्। गत मङ्सिर ५ मा ‘नेशनल भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा कार्यक्रममा ओलीले ‘नेशनल भोलेन्टियर फोर्स’ लेखिएको क्याप लगाएका थिए । सोही फोटोलाई सम्पादन गरेर घण्टी चिन्ह अङ्कित बनाइएको हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add