- सुरज घिमिरे
- फाल्गुन १४, २०८२

नझुक्किनुस्, कांग्रेस नेता रुख बोकेर चुनावी प्रचारमा हिँडेको फोटो वास्तविक होइन
नेपाली कांग्रेस चितवनका नेता जीतनारायण श्रेष्ठले चुनावी प्रचारप्रसारको क्रममा जरैदेखि उखेलिएको रुख बोकेर हिँडेको एउटा फोटो अहिले सामाजिक सञ्जालमा फैलिएको छ।
तर, यो फोटो वास्तविक नभई एआई प्रविधि प्रयोग गरेर बनाइएको/सम्पादन गरिएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ।
के हो दाबी ?
फेब्रुअरी २५, २०२६ मा सुरेश बोहोरा नामक फेसबुक प्रयोगकर्ताले एउटा फोटो पोस्ट गरेका छन्, जसमा नेपाली कांग्रेस चितवनका नेता जीतनारायण श्रेष्ठले जरैदेखि उखेलिएको रुख बोकेर चुनावी प्रचारमा हिँडेको देखिन्छ।
पोस्टको क्याप्सनमा लेखिएको छ:
“नयाँ दलहरू (विशेष गरी रास्वपा) ले चुनाव चिह्नलाई भौतिक रूपमै बोकेर हिँड्ने (घण्टी बजाउने) जुन शैली भित्र्याए, त्यसले पुराना दलहरूलाई पनि आफ्नो परम्परागत प्रचार शैली बदल्न बाध्य पारेको देखिन्छ । जीतनारायणले हिजो जे बोले आज त्यो गरेर देखाए।”
२१ हजार फलोअर्स भएको उक्त पेजमा राखिएको पोस्टमा हामीले बिहीबार दिउँसो तथ्य जाँच गर्दासम्म १५ हजारभन्दा बढी प्रतिक्रिया, ३ हजारभन्दा बढी टिप्पणी र १७८ पटक शेयर भएको थियो।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त फेसबुक पोस्टको लिङ्क र अर्काइभ लिङ्क
त्यस्तै, १७ लाखभन्दा बढी फलोअर्स रहेको पूर्वेली न्युज नामक फेसबुक पेजले पनि सोही तस्वीर पोस्ट गरेको छ। त्यहाँ रास्वपा नेतृ तोसिमा कार्की लाई समेत तस्वीरमा देखाइएको छ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त फेसबुक पोस्टको लिङ्क र अर्काइभ लिङ्क
सो फोटोको प्रयोग गर्दै मेरो देश मेरो गौरव (लिङ्क/अर्काइभ लिङ्क) लगायतका फेसबुक पेजहरूमा पनि विभिन्न पोस्टहरू राखिएको छ ।
के हो तथ्य ?
हामीले भाइरल फोटोलाई गुगल रिभर्स इमेज सर्चमार्फत जाँच गर्दा यसको कुनै विश्वसनीय स्रोत वा समाचार रिपोर्ट भेटिएन।
त्यसपछि हामीले फोटोलाई नजिकबाट नियाल्दा केही शङ्कास्पद संकेत देखिए:
-
पछाडि रहेकी महिलाको प्रचार सामग्रीमा लेखिएका अक्षर अस्पष्ट छन्।
-
केही व्यक्तिहरूको अनुहार अस्वाभाविक देखिन्छ।
-
फोटोमा एआई–निर्मित सामग्रीमा देखिने किसिमका त्रुटि छन्।
यो हेर्नुहोस् :

एआईबाट निर्मित फोटोहरूमा प्रायः अनुहार, हाउभाउ तथा अक्षरहरू अवास्तविक देखिने गर्छ ।
हामीले फोटो लाई गुगलको SynthID Check प्रयोग गरेर परीक्षण गर्यौँ। SynthID गुगलद्वारा विकसित प्रविधि हो, जसले एआईबाट सिर्जित सामग्रीमा डिजिटल वाटरमार्क पहिचान गर्न मद्दत गर्छ।
परीक्षणको नतिजाले उक्त फोटोमा SynthID भेटियो जसको अर्थ यो फोटोको सबै वा आंशिक भाग एआईमार्फत बनाइएको वा सम्पादन गरिएको संकेत हो।

त्यसपछि हामीले हाइभ मोडेरेशनमा पनि जाँच गर्यौ । हाइभ मोडेरेशनले पनि उक्त फोटो एआई निर्मित भएको संकेत देखायो।
हेर्नुहोस्, हाइभ मोडेरेशनको निष्कर्ष :

हामीले मूल सन्दर्भ पत्ता लगाउन खोज्यौँ। यस क्रममा फेब्रुअरी २३, २०२६ मा “नेट पाटी टिभी एचडी” नामक फेसबुक पेजले जीतनारायण श्रेष्ठसँगको एक अन्तर्वार्ता पोस्ट गरेको थियो। उक्त भिडियोमा श्रेष्ठले भनेका थिए:
“… हामीले रुखको जरा बोकेर हिँड्न थाल्यौं भने के हुन्छ कांग्रेसले ? रुखै बोकेर हिँड्ने हो भने के हुन्छ त्यो बेलामा ? …”
उनको यही भनाइलाई आधार बनाएर एआई प्रविधिबाट दृश्य सिर्जना गरिएको देखिन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
तथ्य जाँच
दावी: नेपाली कांग्रेस चितवनका नेता जीतनारायण श्रेष्ठ चुनावी प्रचारप्रसारका क्रममा जरैदेखि उखेलिएको रुख बोकेर हिँडेको फोटो।
दावीकर्ता: सुरेश बोहोरा, पूर्वेली न्युज र मेरो देश मेरो गौरव लगायतका फेसबुक पेजहरू।
तथ्य/निष्कर्ष: भ्रामक। भाइरल फोटो एआई प्रविधि प्रयोग गरी बनाइएको/सम्पादन गरिएको हो। रिभर्स इमेज सर्च, दृश्यगत विश्लेषण, SynthID परीक्षण र Hive Moderation परीक्षणबाट फोटो कृत्रिम रूपमा सिर्जित भएको पुष्टि हुन्छ।
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।