तथ्यजाँच मिथ्या सूचना वागमती

रणवीर कपुरले बालेन शाहको समर्थन गरेको दावी सही होइन : दृश्य वास्तविक, अडिओ नक्कली


रणवीर कपुरले बालेन शाहको समर्थन गरेको दावी सही होइन : दृश्य वास्तविक, अडिओ नक्कली

बलिउड अभिनेता रणवीर कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन शाहको समर्थन गर्दै बोलेको दावीसहितको १७ सेकेन्डको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

हामीले गरेको तथ्य जाँचमा यो दावी मिथ्या रहेको पुष्टि भएको छ। वास्तविक भिडिओमा एआईद्वारा तयार गरिएको अडिओ जोडेर फैलाइएको हो।

के हो दावी ?

@speed8817 नामक टिकटक प्रयोगकर्ताले बिहीबार अर्थात् सन् २०२६ को फेब्रुअरी २६ को दिन बलिउड अभिनेता रणवीर कपुरको १७ सेकेन्डको भिडिओ क्लिप अपलोड गरेका छन्। भिडिओमा उनले आफ्नो प्यारो साथी बालेन शाहले राम्रो काम गरिरहेको र उनलाई समर्थन गर्नुपर्ने बताएका छन्।

उनले अंग्रेजीमा बोलेका शब्द जस्ताको त्यस्तै :

Hello Nepal, this is Ranbir Kapoor. Thank you for your endless love and support. I hope my upcoming film Love and War receives huge love from Nepal. And my dear friend Balan Shah is doing great work and I hope you will support him too. Much love always and I promise to visit Nepal soon. Thank you.

शुक्रबार दिउँसो यो तथ्य जाँच गर्ने समयसम्ममा टिकटक पोष्टमा १२ हजारभन्दा धेरै पटक रियाक्ट भएको छ भने २ सयभन्दा बढी कमेन्ट र २ लाखभन्दा धेरै पटक हेरिएको छ ।

भिडियोको ओरिजिनल लिंक यहाँ छने अर्काइभ लिंक यहाँ छ । अर्काईभ भिडिओ यहाँ छ ।

के हो तथ्य ?

१७ सेकेन्डको यो भिडिओबारे तथ्य जाँच गर्नका लागि हामीले सबैभन्दा पहिले गुगल एआईको प्रयोग भएको छ कि छैन भनेर SynthID मार्फत् जाँच गरी हेर्‍यौँ। गुगल एआईले बनाएका फोटो र भिडिओमा SynthID वाटरमार्क हुने गर्छ। यो भिडिओमा SynthID वाटरमार्क भेटिएन। तर भिडियो डिपफेक हुनसक्ने संकेतहरु भने देखिए।

भिडिओमा ओठको चाल र अडिओ  lip-sync mismatch मिलेको देखिएन। आवाज  अलिअस्वाभाविक (रोबोटिक टोन) सुनियो।

ओठ र चिउँडोको वरिपरि केही धमिलोपन वा अनावश्यक हलचल देखिन्छ, जुन प्रायः एआईद्वारा बनाइएका भिडियोहरूमा हुने  गर्छ।

त्यसपछि हामीले यो भिडिओ एआईबाट निर्मित भएको हो कि होइन भनेर जाँच गर्न हाइभ मोडरेसनको सहायता लियौँ। यसले पनि भिडिओ आफैं पूर्ण रुपमा एआईबाट बनाइएको सम्भावना शून्य देखायो । भिडिओमा डिपफेकको संकेत न्यून शून्य दशभलव २ प्रतिशत देखियो। तर अडिओमा प्रयोग भएको आवाज (Speech) एआईमार्फत निर्मित भएको हुन सक्ने सम्भावना ६९ दशमलव ७ प्रतिशत दखायो। यसको अर्थ दृश्य नभई आवाज नक्कली हुन सक्छ।

हेर्नुस् HIVE MODERATION ले दिएको नतिजाको स्क्रिनसट-

HIVE MODERATION ले दिएको नतिजाको लिंक यहाँ छ

भाइरल भिडिओको एउटा फ्रेम निकालेर हामीले  इमेजह्विस्पररमार्फत् जाँच गरेर हेर्‍यौँ। नतिजामा दृश्य वास्तविक रहेको देखियो । दृश्यमा एआईको प्रयोग नभएको यसले संकेत गर्‍यो ।

हेर्नुहोस् इमेजह्विस्पररले दिएको नतिजाको स्क्रिनसट

त्यसपछि हामीले ट्रुथ स्क्यानमा गएर प्रयोग भएको अडिओ एआई निर्मित हो कि होइन भनेर जाँच गर्‍यौँ। नतिजामा अडिओ ९९ प्रतिशत एआई निर्मित एवम् नक्कली भएको भेटियो।

हेर्नुहोस् ट्रुथ स्क्यानले दिएको नतिजाको स्क्रिनसट

अडिओ नक्कली तर दृश्य सत्य भएको संकेत प्राप्त भएसँगै यो दृश्य कहाँको हो भनेर हामीले भिडिओबाट एउटा फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ। यसको नतिजामा filmfare.com मा समाचार प्रकाशित भएको र भाइरल भिडिओको फ्रेमसँग मिल्ने रणबीर कपुरको फोटो प्रयोग भएको भेटियो ।

यो समाचार सन् २०२५ को सेप्टेम्बर २९ को दिन प्रकाशित भएको देखिन्छ भने समाचारमा अभिनेता रणवीरले जन्मदिनको अवसरमा पहिलो पटक इन्स्टाग्राम लाइभ गरेको दावी गरिएको छ ।

filmfare.com मा प्रकाशित  समाचारको स्क्रिनसट हेर्नुहोस्।

filmfare.com को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यही दावीसहितको समाचार The indian express ले पनि सन् २०२५ को सेप्टेम्बर २९ कै दिन प्रकाशित गरेको भेटियो।

इन्डियन एक्सप्रेसले लेखेको समाचारको ओरिजिनल लिंक यहाँ छ

समाचार अनुसार उनले आफ्नो आगामी फिल्म लभ एन्ड वारका बारेमा कुरा गरेका थिए, तर नेपाल वा बालेन शाहको नाम लिएको उल्लेख छैन।

सन् २०२५ को सेप्टेम्बर २८ को दिन Ranbir Kapoor Kingdom नामक युटुब च्यानलमा १८ मिनेट १५ सेकेन्डको इन्स्टाग्राम लाइभ भिडिओ पोष्ट भएको भेटियो। भिडिओ हामीले सुरुदेखि अन्तिमसम्म नै हेर्‍यौँ। भिडिओमा रणवीरले कतै पनि ‘नेपाल’ र ‘बालेन शाह’ शब्द उच्चारण गरेका छैनन्।

Ranbir Kapoor Kingdom नामक युटुब च्यानलमा अपलोड भएको भिडिओको स्क्रिनसट हेर्नुहोस्

युटुब च्यानलमा अपलोड भएको भिडिओको  ओरिजिनल  लिंक यहाँ छ  ।

तथ्य जाँच

दावी : बलिउड अभिनेता रणवीर कपुरले बालेन शाहको समर्थन गर्दै बोलेको भिडिओ।

दावीकर्ता : @speed8817 नामक टिकटक प्रयोगकर्ता

तथ्य/निश्कर्ष : मिथ्या सूचना। भाइरल १७ सेकेन्डको भिडिओ मूल १८ मिनेटभन्दा लामो इन्स्टाग्राम लाइभबाट काटिएको अंश हो। मूल भिडिओमा ‘नेपाल’ वा ‘बालेन शाह’ सम्बन्धी कुनै अभिव्यक्ति छैन। दृश्य वास्तविक भए पनि अडिओ एआईमार्फत् कृत्रिम रूपमा निर्माण/सम्पादन गरिएको प्रमाण फेला परेको छ। त्यसैले रणवीर कपुरले बालेन शाहको समर्थन गरेको दावी तथ्यहीन र भ्रामक हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add