तथ्यजाँच भ्रामक सूचना लुम्बिनी

नझुक्किनुस्, हिउँले ढाकेको पाल्पाको सिद्धबाबा मन्दिरको फोटो सही होइन


नझुक्किनुस्, हिउँले ढाकेको पाल्पाको सिद्धबाबा मन्दिरको फोटो सही होइन

लुम्बिनी प्रदेशस्थित पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिर क्षेत्रमा हिमपात भएको देखिने फोटो सामाजिक सञ्जालमा फैलिएको छ।

तर, हाम्रो तथ्य जाँचले भने त्यस क्षेत्रमा हिउँ पर्ने तापक्रम नै नहुने र फोटोहरु सम्पादित भएको पुष्टि भएको छ।

के हो दाबी ?

सागर भण्डारी नामका फेसबुक प्रयोगकर्ताले बिहीबार (फेब्रुअरी १२) बिहान ८ः२६ आफ्नो फेसबुक पेजमा  ‘बिहानै सिद्ध बाबा मन्दिरको दर्शन गर्नुहोस्’ लेख्दै एउटा फोटो राखे। फोटोमा पाल्पा जिल्लामा पर्ने तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिर हिउँले ढाकिएको देखिन्छ।

७१ हजार फलोअर्स भएको उक्त फेसबुक पेजमा अपलोड गरिएको तस्वीरमा हामीले शुक्रबार अपराह्न तथ्य जाँच गर्दैगर्दा ८ सय ४५ रियाक्सन छन् भने २० वटा कमेन्ट रहेका छन् ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त फेसबुक पोस्टको लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

हामीले तथ्य जाँच गर्ने क्रममा त्यस क्षेत्र वरपर कतै हिमपात भएको छ कि भनी खोज्यौँ। त्यस क्रममा कुनै पनि विश्वसनीय मिडियामा यसबारे समाचार प्रकाशन भएको देखेनौँ।

त्यसपछि हामीले सिद्धबाबा क्षेत्रमा हिउँ  पर्ने सम्भावना बारे खोज्यौँ।

पाल्पा जिल्लामा रहेको भए पनि सिद्धबाबा मन्दिर रुपन्देहीको बुटवल सहरबाट नजिकै पर्छ।  सिद्धार्थ राजमार्गमा पर्ने पहाडी जिल्ला पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिर पाल्पा र रूपन्देही जिल्लाको सिमानाबाट केवल १ किलोमिटर टाढा तिनाउ नदीको किनारमा अवस्थित छ।

हामीले विकिपिडियामा उपलब्ध Mithunkunwar9 युजरनेमबाट अपलोड गरिएको मेटाडेटासहितको सिद्धबाबा मन्दिरको फोटो डाउनलोड गरी त्यसलाई metadata2go बाट मेटाडेटा हेर्‍यौँ।

त्यसमा यो ठाउँको उचाइ समुद्री सतहबाट २१६.४ मिटरमात्र माथि रहेको देख्यौँ। हेर्नुस् स्क्रिनसट-

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार नेपालमा हिमपात प्रायः मङ्सिरदेखि माघ,फागुनसम्म (लगभग नोभेम्बर अन्त्यदेखि मार्चसम्म) हुने गर्छ। उनका अनुसार हिउँदको अवधिमा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन्छ।

सामान्यतया ० डिग्री सेल्सियसभन्दा कम तापक्रम हुँदा पानी वर्षाको सट्टा हिउँका रूपमा पर्ने गर्छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विभाग (जलवायु विश्लेषण खण्ड)का अनुसार डिसेम्बर २०२४ देखि फेब्रुअरी २०२५ (जाडो मौसम) मा पाल्पाको तानसेन स्टेसनले अधिकतम तापक्रम औसतमा २१.३ डिग्री मापन गरेको थियो भने न्यूनतम तापक्रम औसतमा ९.६ डिग्री मापन गरेको थियो। तानसेन सिद्धबाबा मन्दिर रहेको क्षेत्रभन्दा निकै उचाइमा (समुद्री सतहबाट लगभग १३५० मिटर) अवस्थित छ।

यसको अर्थ, सिद्धबाबा क्षेत्रमा हिउँ पर्ने सम्भावना न्यून हुन्छ।

हामीले भाइरल फोटोलाई गुगल रिभर्स इमेज सर्चमार्फत जाँच गर्दा सोही दृश्यको मूल फोटो फेला पर्‍यो, जसमा हिमपात देखिँदैन।

गल्कोट अपडेट नामक फेसबुक पेजमा भएको फोटो र हिउँ परेको फोटोमा धेरै समानता छ।

हेर्नुहोस् स्क्रिन सट :

उक्त पेजमा अपलोड गरिएको तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोस्

दुई फोटोको तुलना गर्दा वास्तविक फोटोलाई सम्पादन गरी हिमपातले ढाकेको बनाइएको प्रष्ट हुन्छ-

 

तथ्य जाँच

दाबी : पाल्पाको सिद्ध बाबा मन्दिर हिउँले ढाकिएको देखिने फोटो।

दाबीकर्ता : सागर भण्डारी नामको फेसबुक पेज।

तथ्य : भ्रामक सूचना। सामाजिक सञ्जालमा फैलिएको पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर क्षेत्रमा हिमपात भएको भन्ने दाबी भ्रामक हो। उक्त स्थान समुद्री सतहबाट करिब २१६ मिटर उचाइमा रहेको र नजिकैको उच्च स्थान (तानसेन, करिब १३५० मिटर) मा समेत जाडोयाममा औसत न्यूनतम तापक्रम ० डिग्री सेल्सियसभन्दा माथि रहने तथ्यांकका आधारमा त्यहाँ हिमपात हुने सम्भावना अत्यन्त न्यून देखिन्छ। साथै, रिभर्स इमेज सर्च र दृश्य तुलना गर्दा सामाजिक सञ्जालमा भाइरल तस्वीर वास्तविक फोटोमा डिजिटल सम्पादन गरी हिउँ थपेर बनाइएको पुष्टि हुन्छ। त्यसैले सिद्धबाबा मन्दिर हिउँले ढाकिएको देखिने भाइरल तस्वीर तथ्यमा आधारित नभई सम्पादित सामग्री हो।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add