- नेपाल फ्याक्ट चेक
- फाल्गुन १५, २०८२

भाइरल पोस्टको दावी सही होइन : ‘सार्को पोड’ लाई कानुनी मान्यता छैन
स्विजरल्याण्डमा सार्को पोड नामको इच्छामृत्यु यन्त्रले कानुनी मान्यता प्राप्त गरेको दावीसहितको पोस्ट फेसबुकमा भाइरल भएको छ।
तर, हाम्रो तथ्यजाँचमा यो दावी भ्रामक रहेको देखियो। स्विस सरकारले ‘सार्को पोड’ आफ्नो देशको कानुनअनुसार अनुकूल नरहेको बताउँदै यसको प्रयोगलाई औपचारिक कानुनी मान्यता दिएको छैन।
दावी के छ ?
फेसबुकमा एक लाख ५५ हजार फलोअर्स रहेको ओम उप्रेति नामक प्रयोगकर्ताले ‘स्विजरल्यान्डमा कानुनी मान्यता प्राप्त इच्छा मृत्यु यन्त्र ! ’ लेख्दै एउटा पोस्ट गरेका छन्।
पोस्टमा लेखिएको छ, ‘यो यन्त्रले भित्र बसेको व्यक्तिको अक्सिजन स्तरलाई घटाएर नाइट्रोजन ग्यासको प्रयोग द्वारा शान्तपूर्वक निद्राकै अवस्थामा मृत्यु गराउँछ। यो प्रविधि विशेष गरी निको नहुने रोगबाट पीडित व्यक्तिहरूका लागि इच्छा मृत्युको विकल्पका रूपमा विकास गरिएको हो। तर नेपालमा यसलाई कानूनी रुपमा मान्यता प्राप्त छैन र मान्यता दिनु पनि हुन्न !’
हेर्नुस्, स्क्रिनसट, अर्काइभ लिंक
शुक्रबार दिउँसो हामीले तथ्यजाँच गर्दासम्म ९३ पटक सेयर गरिएको उक्त पोस्टमा हजारौँ रियाक्सन, सयौँ कमेन्ट छन्। अधिकांश कमेन्ट लेख्नेहरुले दावीलाई सत्य मानेको पाइएपछि हामीले यसको तथ्यजाँच गरेका छौँ।
तथ्य के हो ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सुरुमा उक्त फोटोलाई डाउनलोड गरी गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। यस क्रममा सोही फोटो राखेर प्रकाशित भएका कयौँ सामाग्री फेला पार्यौँ।
Swissinfo ले २०२४ सेप्टेम्बरमा प्रकाशित गरेको Assisted suicide: Sarco capsule deemed incompatible with Swiss law शीर्षकको समाचारमा स्विस सरकारले ‘सार्को पोड’ आफ्नो कानुनअनुसार अनुकूल नरहेको जनाएको उल्लेख छ।
समाचार अनुसार, स्विस संसदमा बोल्दै स्वास्थ्यमन्त्री Elisabeth Baume-Schneiderले उक्त मेसिनले उत्पादन सुरक्षासम्बन्धी कानुन पालना नगरेको र नाइट्रोजन प्रयोगले रसायनसम्बन्धी ऐन उल्लंघन गर्न सक्ने भन्दै यसको प्रयोगलाई अनुमति दिन नसकिने बताएकी छन्।
त्यसैले अल जजिराले २४ सेप्टेम्बर २०२४ मा ‘Switzerland opens probe into use of suicide booth’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। उक्त समाचारअनुसार, ‘सार्को पोड’ प्रयोग गरी एक अमेरिकी महिलाको मृत्यु भएपछि स्विस प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै, बीबीसीले पनि ‘Several arrested after woman dies in ‘suicide pod’ शीर्षकमा समाचार प्रकाशित गर्दै सो मेसिन गैरकानुनी भएको र प्रयोगमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरिएको जनाएको छ।
भ्रम कसरी सुरु भयो ?
यो विषयमा समाचार एजेन्सी एसोसियट प्रेस (एपी) ले १० डिसेम्बर २०२१ मा ‘No, Switzerland has not approved a ‘suicide capsule’ शीर्षकमा तथ्यजाँच प्रकाशित गरेको थियो।
उक्त तथ्यजाँचअनुसार, ‘सार्को पोड’ निर्माणमा संलग्न Philip Nitschke ले आफ्ना कानुनी सल्लाहकारको राय उद्धृत गर्दै एक अन्तर्वार्तामा “कानुनी बाधा नहुन सक्छ” भनेपछि केही मिडियाले त्यसलाई ‘कानुनी मान्यता पायो’ भनेर गलत अर्थ लगाएका थिए। पछि सोही सामग्री उद्धृत गर्दै सामाजिक सञ्जालमा भ्रम फैलिएको देखिन्छ।
कानुनी अवस्था के हो?
स्विजरल्याण्डमा ‘Assisted Suicide’ (सहयोगसहितको आत्महत्या)ले कानुनी मान्यता पाएको छ तर निश्चित सर्तहरु पूरा गरेर मात्रै। यदि सहयोग गर्ने व्यक्तिले स्वार्थरहित रूपमा सहयोग गरेको छ भने मात्रै शर्त पूरा हुन्छ। तर, यसको अर्थ कुनै पनि यन्त्र वा उपकरणलाई स्वतः कानुनी मान्यता प्राप्त हुन्छ भन्ने होइन।
‘सार्को पोड’ भने स्विस कानुनअनुसार औपचारिक रूपमा स्वीकृत गरिएको छैन। बरु, यसको प्रयोगपछि अनुसन्धान र पक्राउ भएको तथ्यले ‘सरकारले स्वीकृति दिएको’ भन्ने दावीलाई असत्य ठहर गर्छ।
तथ्य जाँच
दावी : स्विजरल्याण्डमा इच्छा मृत्यु यन्त्र (सार्को पोड) ले कानुनी मान्यता पायो।
दावीकर्ता : ओम उप्रेती (फेसबुक प्रयोगकर्ता)।
तथ्य : भ्रामक सूचना। स्विजरल्याण्डमा सहयोगसहितको आत्महत्या निश्चित सर्तमा कानुनी भए पनि ‘सार्को पोड’ मेसिनलाई सरकारले कानुनी मान्यता दिएको छैन। यसको प्रयोगपछि अनुसन्धान र पक्राउसमेत भएको छ।
अनलाइनखबर र nepalfactcheck.orgको सहकार्य
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।
