तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

चुनावी माहौलमा बालेनविरोधी नाराबाजी? नझुक्किनुस्, भिडियो चार वर्ष पुरानो हो


चुनावी माहौलमा बालेनविरोधी नाराबाजी? नझुक्किनुस्, भिडियो चार वर्ष पुरानो हो

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनाव नजिकिँदै गर्दा रास्वपाका वरिष्ठ नेता एवम् झापा ५ का उम्मेदवार बालेन शाहविरुद्ध हालै काठमाडौंमा नाराबाजी भएको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। तर हामीले गरेको तथ्य जाँचमा बालेनविरुद्धको यो नाराबाजी अहिलेको नभई चार वर्ष पुरानो (सन् २०२२) को भएको पुष्टि भएको छ।

के हो दावी ?

१५ हजार फलोअर्स भएको अनिल झा नाम गरेका फेसबुक प्रयोगकर्ताले यही आइतबार (२०२६ को फेब्रुअरी १) को दिन एउटा भिडियो राखेका छन्।  भिडियोमा आन्दोलनकारीले बालेनविरुद्ध चर्का नाराबाजी गरेको सुनिन्छ।

भिडियोमा यो नाराबाजी आज ( अपलोड भएको दिन- फेब्रुअरी १) मा काठमाडौंमा भएको दाबीसहितको अक्षर लेखेको पढ्न सकिन्छ। यो तथ्य जाँच गर्ने समयसम्ममा भिडियोमा १ हजार ४ सय रियाक्ट आएको छ भने २५२ कमेन्ट र ३७१ सेयर भएको छ भने ८० हजार जनाले हेरेका छन्।

हेर्नुहोस् अनिल झाले गरेको पोष्टको स्क्रिन रेकर्ड

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

यो भिडियोको तथ्य जाँचका लागि हामीले एउटा फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा  भिडियोको मुख्य स्रोतसम्म पुग्न सकेनौँ। त्यसपछि हामीले भिडियोको ब्याग्राउन्डलाई अलि राम्रोसँग नियाल्यौं ।

भिडियोमा पछाडि धुवाँको मुस्लो देखिन्छ भने अगाडि नाराबाजी भइरहेको छ। अगाडि नाराबाजी गरिरहेका व्यक्तिहरुको हुलियालाई पनि नियाल्यौं। हामीले काठमाडौंमा कबाडी व्यवसायीहरुले गरेको आन्दोलन वा थापाथलीमा भएको सुकुम्बासी बस्ती हटाउन खोज्दा भएको अनुमानमा थप खोज अगाडि बढायौँ।

त्यसपछि हामीले ‘महानगर प्रहरी र सुकुम्बासी’ किवर्ड प्रयोग गरेर गुगल एड्भान्स सर्च गर्‍यौँ। नतिजामा सन् २०२२ को नोभेम्बर २८ मा नेपाल वान एचडीले  सार्वजनिक गरेको भिडियो भेटियो।

नेपाल वान एचडीमा देखिएका व्यक्ति र भाइरल भिडिओमा देखिएका व्यक्तिका हुलिया समान भेटिए। नेपाल वान एचडीले ‘थापाथलीमा मच्चियो आतंक, नगर प्रहरी र सुकुम्बासीको दोहोरो भिडन्त, बालेन विरोधी नाराबाजी, एसपीमाथि आक्रमण’ शीर्षकमा भिडियो पोष्ट गरेको भेटियो। भिडियोमा देखिएका नाराबाजी गर्ने युवाहरु मात्रै होइन, उनीहरुको हुलियासमेत एउटै देखिन्छ ।

नाराबाजी गरिरहेका युवाहरु नेपाल वान एचडीको फेसबुक पेजमा हेर्नुहोस् स्क्रिनसट

नेपाल वान एचडीको भिडिओको ओरिजिनल लिंक यहाँ छ  ।

नेपाल वान एचडीले सन् २०२२ को नोभेम्बर २८ मा भिडियो सार्वजनिक गरेको भेटिएसँगै हामीले यसैसँग सम्बन्धित सन् २०२२ का अरु भिडियोहरु पनि खोजेका छौं। खबर सेन्टर नामक फेसबुक पेजले यही नाराबाजी र यही हुलियासहितको भिडियो सन् २०२२ को नोभेम्बर २८ कै दिन पोष्ट गरेको भेटियो।

हेर्नुहोस् खबर सेन्टर फेसबुक पेजमा पोष्ट भएको भिडिओको स्क्रिन रेकर्ड

भिडियोको ओरिजिनल लिंक यहाँ छ  ।

भिडियोसँगै हामीले त्यसबेला सुकुम्बासी र महानगर प्रहरीबीच भएको झडपबारे समाचारहरुसमेत खोजी गरेका छौं। यसको नतिजामा नागरिकन्यूजले त्यही दिन ‘थापाथलीमा सुकुम्बासी र प्रहरीबीच झडप’ शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो। नाराबाजी गर्ने व्यक्तिको हुलिया नागरिक दैनिकले सार्वजनिक गरेको समाचारमा समावेश तस्बिरसँग ठ्याक्कै मेल खायो।

हेर्नुहोस् नागरिक न्यूजको वेबसाइटमा प्रकाशित समाचारमा प्रयोग भएको तस्बिरको स्क्रिनसट

नागरिक न्यूजको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

२०२२ को नोभेम्बर २८ कै दिन शिलापत्रका लागि फोटो पत्रकार सुशील श्रेष्ठले सुकुम्बासी र काठमाडौं महानगर प्रहरीबीच भएको झडपका केही तस्बिरहरु कैद गरेको भेटियो। श्रेष्ठले खिचेको तस्बिरमा नाराबाजी गरिरहेको अवस्थामा देखिएका व्यक्तिको हुलिया र अहिले भाइरल भइरहेको भिडियोको हुलिया एउटै भेटियो ।

हेर्नुहोस् शिलापत्रमा प्रकाशित फोटोफिचरको स्क्रिनसट

शिलापत्रको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

सुकुम्बासी बस्तीमा महानगर प्रहरीको झडप भएकोबारे हामीले युट्युबमा पनि भिडियोहरु खोजी गरेका छौं। नतिजामा नोभेम्बर २८ कै दिन योहो टेलिभिजनले पनि यही हुलियाका व्यक्तिहरुको भिडियो फुटेज प्रयोग गरेको भेटियो ।

हेर्नुहोस् योहो टेलिभिजनले सार्वजनिक गरेको भिडिओमा प्रयोग भएको फुटेजको स्क्रिनसट

योहो टिभीले सार्वजनिक गरेको भिडिओको ओरिजिनल लिंक यहाँ छ  ।

तथ्य जाँच

दावी : रास्वपाका वरिष्ठ नेता एवम् झापा ५ का उम्मेदवार बालेन शाहविरुद्ध काठमाडौंमा हालसालै नाराबाजी भएको दाबीसहितको भिडियो।

दावीकर्ता : अनिल झा।

तथ्य : भ्रामक सूचना। बालेन शाहविरुद्ध काठमाडौंमा नाराबाजी भएको विषय सत्य हो, तर अहिले हैन सन् २०२२ को नोभेम्बर २८ को दिन । त्यसबेला बालेन भर्खरै काठमाडौंको मेयर निर्वाचित भएका थिए । काठमाडौं महानगरले सुकुम्बासी बस्ती जबरजस्ती हटाउन खोज्दा महानगर प्रहरीसँग झडप भयो भने सुकुम्बासी बस्तीका बासिन्दा बालेनविरुद्ध नाराबाजीसहित ढुंगामुढा र आगजनीमा उत्रिएका थिए।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। , हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add