- सुरज घिमिरे
- फाल्गुन ३०, २०८२

मनकामनाबाट फर्किएको माइक्रो दुर्घटनाका नाममा फैलाइएका फोटो एआई निर्मित
शनिबार मनकामना दर्शन गरेर फर्किएको ईभी माइक्रो दुर्घटनासँग जोडिएका केही फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा ती फोटोहरू वास्तविक नभई एआई प्रयोग गरेर बनाइएका भएको पुष्टि भएको छ।
के हो दाबी ?
७ लाख ५२ हजार फलोअर्स भएको प्रेम पराजुली नामक फेसबुक पेजमा शनिबार राति ९:०२ बजे (मार्च १४, २०२६) एउटा भिडियो पोस्ट गरिएको छ। ‘अहिले भर्खरै मनकामना दर्शन गरेर फर्किँदै गर्दा’ शीर्षकसहितको भिडियोमा मनकामनाबाट फर्किँदै गरेको यात्रु बोकेको ईभी माइक्रो बस आँबुखैरेनीमा दुर्घटनामा परेको दाबी गरिएको छ।
भिडियोमा दुर्घटनाग्रस्त माइक्रो बसका फोटोहरू प्रयोग गरिएको छ। तथ्यजाँच गर्ने समयसम्म उक्त भिडियोमा तीन हजारभन्दा बढी प्रतिक्रिया, सयौँ कमेन्ट र दुई सयभन्दा बढी शेयर भइसकेका छन्। भिडियो ६३ हजारभन्दा बढी पटक हेरिएको छ।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
सोही पेजमा त्यसको केही समयपछि (९:४० बजे) अर्को भिडियो पनि पोस्ट गरिएको छ। ‘अहिले भर्खरै नेपाल घुम्न आएका’ शीर्षकमा पोस्ट गरिएको भिडियोमा दुर्घटनामा सात जना भारतीय नागरिकको मृत्यु भएको दाबी गरिएको छ। उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
हामीलाई यो विषय सही हो कि होइन पत्ता लगाइदिन अनुरोध आएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले उक्त दुर्घटनासम्बन्धी समाचार खोज्यौँ। त्यस क्रममा शनिबार अनलाइनखबरमा प्रकाशित समाचार फेला पर्यो।‘गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय’ शीर्षकको समाचारमा गोरखाको शहीद लखन गाउँपालिका–३ कनटारमा मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परी सात जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
यो समाचार रातोपाटी लगायतका सञ्चारमाध्यमहरूले पनि प्रकाशित गरेका छन्। सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दुर्घटनाग्रस्त माइक्रो बसका फोटोहरू भने सामाजिक सञ्जालमा भाइरल भएका फोटोहरूसँग मेल खाँदैनन्।
हामीले भाइरल फोटोहरूलाई नजिकबाट नियाल्दा अवास्तविक देखिने केही संकेत देखा परे। उदाहरणका लागि, दुर्घटनाग्रस्त भनिएको माइक्रो बसमा ठूलो क्षति देखिँदैन। साथै एउटै दुर्घटनासँग सम्बन्धित भनिएका फोटोहरूमा समय, प्रकाश र दृश्यको अवस्था फरक–फरक देखिन्छ—एउटा फोटो रातको जस्तो देखिन्छ भने अर्को फोटोमा दिनको समयमा क्रेनले गाडी तानेको दृश्य देखिन्छ।
माइक्रो बसमा लेखिएका अक्षरहरु पनि स्पष्ट छैनन्।

त्यसपछि हामीले ती फोटोहरू एआईमार्फत जाँच गर्न Hive Moderation प्रयोग गर्यौँ। उक्त टुलले पनि ती फोटोहरू एआईद्वारा निर्मित हुने उच्च सम्भावना रहेको नतिजा देखायो।
हेर्नुहोस्, स्क्रिनसट :

तथ्य जाँच
दाबी : मनकामना दर्शन गरेर फर्किएको ईभी माइक्रो दुर्घटनासम्बन्धी फोटोहरू।
दाबीकर्ता : प्रेम पराजुली नामक फेसबुक पेज।
तथ्य/निष्कर्ष : भ्रामक सामग्री। मनकामना दर्शन गरेर फर्किएको ईभी माइक्रो दुर्घटनामा सात जनाको मृत्यु भएको घटना वास्तविक हो। तर सामाजिक सञ्जालमा फैलाइएका दुर्घटनाका फोटोहरू वास्तविक घटनाका नभई एआईमार्फत सिर्जना गरिएको हाम्रो तथ्यजाँचले देखाउँछ।