- नेपाल फ्याक्ट चेक
- फाल्गुन २१, २०८२

बालेन शाहले हेलिकप्टर प्रयोग गर्न अनुमति नलिएको मिडियाको दावी गलत
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले अनुमति नलिई हेलिकप्टर प्रयोग गरेपछि अवतरण गर्न नदिई फर्काइएको दावीसहितका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन्।
तर नेपालफ्याक्टचेकको तथ्यजाँचले उक्त दावी भ्रामक रहेको पुष्टि गरेको छ। बालेन शाह चढेको हेलिकप्टर अनुमति नलिएको कारण नभई सुरक्षाको कारण देखाउँदै अवतरण नगराई फर्काइएको हो।
दावी के हो ?
फागुन २१ गते रातोपाटी अनलाइनले ‘अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।
समाचारको लिडमा लेखिएको छ:
“राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ।”
समाचारमा थप भनिएको छ ‘शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो ।त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको हो । ‘निर्वाचन आयोगबाट अनुमति लिएको नदेखिएपछि फर्काइएको हो,’ स्रोतले भन्यो ।
अर्काइभ लिंक, स्क्रिनसट

त्यस्तै, ‘अनुमति नलिई हेलिकोप्टर लिएर झापा उडेका बालेन ल्यान्ड नगरी काठमाडौं फर्किए’ शीर्षकमा इकान्तिपुर डटकमले पनि समाचार राखेको छ।
हेर्नुस्, अर्काइभ लिंक । स्क्रिनसट

यो समाचार रातोपाटी र इकान्तिपुर अनलाइनबाहेक अन्य फेसबुक पेज र अनलाइनले समेत हालेका छन्।
तथ्य के हो ?
यस विषयमा जानकारी लिन नेपालफ्याक्टचेकले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग सम्पर्क गरेको छ।
उनका अनुसार बालेन शाहले हेलिकप्टर प्रयोगका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए र आयोगले फागुन २० गते नै अनुमति दिएको थियो।
भण्डारीले भने:
“हेलिकप्टर प्रयोगका लागि निवेदन दिएपछि आयोगले अनुमति दिएको थियो।”
हेर्नुस्, आयोगले दिएको अनुमति पत्र

यस विषयमा थप जानकारी लिन हामीले बालेन शाहको सचिवालयसँग पनि सम्पर्क गरेका छौँ।
सचिवालय सदस्य सुरेन्द्र बजगाईंका अनुसार बालेन शाह काठमाडौँमा मतदान गरेपछि बिहान करिब ९:३० बजे हेली एभरेस्टको 9N-AOB कलसाइन भएको हेलिकप्टर चढेर झापा तर्फ गएका थिए।
तर सुरक्षा कारण देखाउँदै हेलिकप्टरलाई झापामा अवतरण नगरी बीचबाटै फर्काइएको उनले बताए।
बजगाईंले भने:
“निर्वाचन आयोगबाट अनुमति लिएर हेलिकप्टरमार्फत झापा जानुभएको हो। तर सुरक्षा कारण देखाउँदै बीचबाटै फर्किनुभयो।”
तथ्यजाँच
दावी : अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइयो।
दावीकर्ता : रातोपाटी, इकान्तिपुर तथा अन्य सञ्चारमाध्यम।
तथ्य/निष्कर्ष : भ्रामक सूचना (misleading)। रास्वपाका नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगबाट अनुमति लिएर नै झापा प्रस्थान गरेका थिए। त्यसैले अनुमति नलिई हेलिकप्टर प्रयोग गरेका कारण फर्काइएको भन्ने दावी तथ्यसँग मेल खाँदैन। उनको हेलिकप्टर बीचबाटै फर्काइएको भने उनको सचिवालयले सही भएको जनाएको छ।