एआई जेनेरेटेड तथ्यजाँच भ्रामक सूचना लुम्बिनी सम्बन्धित प्रदेश

बुटवलको कांग्रेस सभामा ‘बोटबिरुवासहित’ देखाइएको फोटो एआई–निर्मित


बुटवलको कांग्रेस सभामा ‘बोटबिरुवासहित’ देखाइएको फोटो एआई–निर्मित

“रुपन्देहीमा कांग्रेसको जनलहर । आज भोलि त बोट बिरुवा पनि सङसङै हिड्न थालेछन्” भन्ने क्याप्सनसहित सामाजिक सञ्जालमा एउटा फोटो फैलिएको छ। फोटोमा नेपाली कांग्रेसको झण्डासहितको भीडमा मानिसहरूले रुखका हाँगा बोकेको देखिन्छ।

तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त फोटो वास्तविक नभई एआई प्रयोग गरेर बनाइएको/सम्पादन गरिएको पुष्टि भएको छ।

के हो दाबी ?

सुरेश बोहोरा (Suresh Bohara) नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी २८, २०२५ मा उक्त फोटो पोस्ट गरेका छन्। फोटोमा नेपाली कांग्रेसका झण्डा र चुनाव चिन्ह देखिने भीडका बीच रुखका हाँगाहरू बोकेको देखिन्छ।

फोटोमा ‘रुपन्देहीमा कांग्रेसको जनलहर’, ‘नेपाली कांग्रेस रुपन्देही’, ‘जनलहर २०८१’ लेखिएका ब्यानरहरू देखिन्छन्। केही ब्यानरमा अस्पष्ट तथा नबुझिने खालका अनुहारहरू पनि छन्।

पोस्टमा २ हजार ३ सयभन्दा बढी प्रतिक्रिया, २३२ कमेन्ट र ३० शेयर छन्।

हेर्नुस् स्क्रिनसट-

के हो तथ्य ?

 स्थान मिल्छ, दृश्य मिल्दैन

भाइरल फोटोमा देखिएको संरचना बुटवलमा आयोजित नेपाली कांग्रेसको सभास्थलसँग मेल खान्छ। विभिन्न समाचार पोर्टल र फेसबुक पेजहरू जस्तै अर्घाखाँची डट कम, तिनाउ न्युज, लम्बिनी टाइम्सनागरिक अनलाइन तथा रातोपाटीमा प्रकाशित तस्वीरहरूमा सोही स्थानका संरचनाहरू देखिन्छन्।

तर ती कुनै पनि विश्वसनीय फोटोमा मानिसहरूले रुखका हाँगा बोकेको दृश्य देखिँदैन।

दृश्यगत अस्वभाविकता

भाइरल फोटो नियाल्दा निम्न शंकास्पद संकेतहरू देखिए:

  • केही झण्डामा कांग्रेसको रुख चिन्ह र चारतारे झण्डा देखिए पनि केही झण्डा सूर्यजस्तो आकृतिका छन्

  • ब्यानरमा लेखिएका अक्षरहरूको बनावट अस्वाभाविक, हाल २०८२ साल भए पनि २०८१ लेखिएको

  • सहभागीहरू मञ्चतर्फ नहेरी उल्टोतर्फ फर्किएको

  • केही अनुहारहरू विकृत वा अस्पष्ट

  • मञ्चको दिशा अन्य भिडियो र फोटोमा देखिएको अवस्थासँग मेल नखाने

मनिष श्रेष्ठ नामक फेसबुक प्रयोगकर्ताले पोस्ट गरेको भिडिओमा सोही स्थानको वास्तविक अवस्थिति देखिन्छ, जसले भाइरल फोटोमा देखिएको मञ्चको दिशा र भीडको संरचना फरक रहेको पुष्टि गर्छ।

प्राविधिक परीक्षण

हामीले फोटोको प्राविधिक परीक्षण गर्‍यौँ। Google SynthID Check प्रयोग गर्दा फोटोमा SynthID वाटरमार्क भेटियो। गुगल एआईको प्रयोग गरेर बनेको फोटो वा भिडिओमा यस्तो आँखाले देख्न नसकिने वाटरमार्क रहेको हुन्छ।

तथ्य जाँच

दाबी: नेपाली कांग्रेस रुपन्देहीको सभामा सहभागीहरूले रुखका हाँगा बोकेको भनिएको फोटो।

दावीकर्ता: सुरेश बोहोरा नामक फेसबुक अकाउन्ट।

तथ्य/निश्कर्ष:  भ्रामक (Misleading)। रिभर्स इमेज सर्च, दृश्यगत विश्लेषण, SynthID परीक्षणका आधारमा भाइरल फोटो एआई प्रविधि प्रयोग गरी बनाइएको/सम्पादन गरिएको पुष्टि हुन्छ। फोटो वास्तविक घटनाको होइन।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add