- टेकमान शाक्य
- चैत्र ४, २०८२

शेरबहादुर तामाङले आफू हारे पनि श्रीमतीलाई सांसद बनाउन सफल भएको भन्ने शिलापत्रको दावी गलत
प्रतिनिधिसभा निर्वाचन २०८२ पछि एमाले नेता शेरबहादुर तामाङकी श्रीमती उषाकला राई समानुपातिक सांसद बनेको दावीसहित समाचार र सामाजिक सञ्जाल सामग्रीहरू फैलिएका छन्।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उषाकला राईको नाम समानुपातिक बन्दसूचीमा परेको भए पनि सांसद भने नबनेको पुष्टि भएको छ।
के हो दावी ?
अनलाइन न्युजपोर्टल शिलापत्रले २०८२ चैत २ गते ‘दलहरूमा हटेन परिवारवाद : प्रत्यक्षमा श्रीमान् हार्दा समानुपातिकमा श्रीमतीको जित’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।
समाचारमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर पराजित भएका नेताका श्रीमती समानुपातिकतर्फ सांसद बनेको दावी गरिएको छ।
हेर्नुहोस् स्क्रिनसट

शिलापत्रको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
शिलापत्रको यही दावीलाई आधार बनाएर सामाजिक सञ्जालमा समेत सामग्रीहरू फैलिएका छन्। जस्तै, ‘हाम्रो अपडेट’ नामक फेसबुक पेजमा पनि यही दावीसहित भिडियो पोस्ट गरिएको छ।
हेर्नुहोस् हाम्रो अपडेटको स्क्रिनसट

हाम्रो अपडेटको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
हामीले निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा जाँच गर्दा शेरबहादुर तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको र चुनावमा पराजित भएको पुष्टि भयो।
हेर्नुहोस् निर्वाचन आयोगको स्क्रिनसट

त्यसपछि हामीले आयोग कै वेबसाइटमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची जाँच गर्यौँ।
उक्त सूचीमा उषाकला राईको नाम एमालेतर्फ ४ नम्बरमा रहेको भेटियो। राईको पतिको नाम शेरबहादुर तामाङ रहेको त्यसमा उल्लेख छ। यसले उनी समानुपातिक उम्मेदवार भएको पुष्टि गर्छ।

समानुपातिक बन्द सूचीको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फ निर्वाचित सांसदहरूको अन्तिम सूची जाँच गर्दा भने उषाकला राईको नाम भेटिएन। एमालेबाट १६ जना समानुपातिकतर्फ निर्वाचित भएकोमा आदिवासी जनजातितर्फ बन्दसूचीमा पहिलो र दोस्रो नम्बरमा रहेकी भूमिका लिम्बु सुब्बा र गंगादेवी श्रेष्ठमात्र निर्वाचित भएकी छिन्।

समानुपातिकतर्फ निर्वाचनको नतिजाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
तथ्यजाँच
दावी : एमाले नेता शेरबहादुर तामाङकी श्रीमती उषाकला राई समानुपातिक सांसद बनेकी हुन्।
दावीकर्ता : शिलापत्र डटकम र सामाजिक सञ्जाल पोस्टहरू।
तथ्य/निष्कर्ष : मिथ्या सूचना (False)। उषाकला राईको नाम समानुपातिक बन्दसूचीमा भए पनि उनी सांसद निर्वाचित भएकी छैनन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचित सूचीमा उनको नाम छैन।