तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

‘मोदीले बालेनलाई चुनावी शुभकामना दिए’ भनिएको भिडियो सही होइन


‘मोदीले बालेनलाई चुनावी शुभकामना दिए’ भनिएको भिडियो सही होइन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुनाव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा प्रस्तावित झापा ५ का उम्मेदवार बालेन शाहलाई आगामी चुनावका लागि शुभकामना दिएको दावीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  भिडियोमा मोदीजस्तो देखिने व्यक्तिले हिन्दीमा बोल्दै नेपाली र बालेन शाहलाई आगामी चुनावका लागि शुभकामना दिएको सुनिन्छ।

तर, नेपालफ्याक्टचेकको विश्लेषणले उक्त भिडियो एआई–निर्मित डीपफेक भएको पुष्टि गरेको छ।

के हो दाबी ?

५ हजारभन्दा बढी फलोअर्स भएका पुरुषोत्तमकुमार यादवले सोमबार (मार्च २) बिहान एउटा २८ सेकेन्डको भिडियो राखेका छन्।

भाइरल क्लिपमा मोदीजस्तो देखिने व्यक्तिले  हिन्दीमा “म, नरेन्द्र मोदी, मेरो प्रिय छिमेकी देश नेपाललाई शुभकामना दिन्छु। बालेन शाहजीलाई आगामी चुनावका लागि शुभकामना…” भन्दै गरेको सुनिन्छ।

भिडियोमा भारतीय झण्डाको पृष्ठभूमि देखिन्छ र मोदीले औपचारिक सम्बोधन गरिरहेको जस्तो देखाइन्छ।

मंगलबार बिहान यो तथ्य जाँच तयार गर्दासम्म यो भिडियोमा सयौँ रियाक्सन, ९८० सेयर र ७६ हजार भ्युज भइसकेको देखिन्छ। हेर्नुस् स्क्रिनसट

हेर्नुस् स्क्रिनरेकर्ड-

वरिष्ठ पत्रकार किशोर नेपालले समेत मौन अवधि शुरू हुनासाथ यो फेरी के आयो अर्को उल्का ! भारतीय प्रम मोदीको बालेनलाई शुभकामना ! यो एआई हो कि के हो ? लेख्दै यही भिडिओको लिङ्क एक्समा सेयर गरेका छन्। हेर्नुस् अर्काइभ लिङ्क।

हामीलाई यसको तथ्य जाँच गरिदिन अनुरोध पनि आएको छ।

के हो तथ्य ?

यसको तथ्य जाँचका लागि हामीले भारतीय प्रधानमन्त्री कार्यालय, भारत सरकारका आधिकारिक च्यानलहरू, मोदीका प्रमाणीकरण भएका सामाजिक सञ्जाल अकाउन्टहरु फेसबुक, एक्स, युट्युबमा हेर्‍यौँ।

कुने पनि ठाउँमा भाइरल भएको जस्तो भिडियो हामीले फेला पारेनौँ। विश्वसनीय भारतीय मिडिया कुनैमा पनि यसबारे उल्लेख छैन।

यति संवेदनशील राजनीतिक सन्देश सार्वजनिक भएको भए प्रमुख सञ्चारमाध्यमहरूले कभरेज गर्ने सम्भावना अत्यन्तै उच्च हुन्थ्यो।

भारत सरकार र प्रधानमन्त्रीले सार्वभौम राष्ट्रहरूको आन्तरिक निर्वाचन प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप नगर्ने नीति अपनाउने गरेको छ। अर्को देशको स्थानीय तहका उम्मेदवारलाई खुलेर समर्थन जनाउने कदम अत्यन्त असामान्य र कूटनीतिक रूपमा संवेदनशील हुन्छ। त्यसैले यस प्रकारको सन्देश आधिकारिक रूपमा आउनु अस्वभाविक हुन्छ।

डीपफेक संकेतहरू

हामीले भिडियोको विश्लेषण गर्दा निम्न संकेतहरू देखिए,  बोलिएका हिन्दी शब्द र ओठको चाल पूर्ण रूपमा मेल खाँदैनन्। आवाज मोदीको जस्तो सुनिए पनि भाव, विराम र उच्चारणमा कृत्रिमता देखिन्छ। भिडियोको पृष्ठभूमि स्थिर भए पनि अनुहारको सूक्ष्म गतिमा अस्वाभाविकता देखिन्छ, जुन फेस–स्वाप वा एआई लिप–सिंक टुलमार्फत बनाइएका भिडियोमा सामान्य हुन्छ।

यी विशेषताहरू एआई–जनरेटेड डीपफेक सामग्रीका सामान्य संकेत हुन्।

तथ्य जाँच

दावी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र बालेन शाहलाई आगामी चुनावका लागि शुभकामना दिएको भिडियो।

दावीकर्ता : पुरुषोत्तमकुमार यादव (फेसबुक प्रयोगकर्ता)

तथ्य/निश्कर्ष : मिथ्या (False)उक्त भिडियो आधिकारिक स्रोतमा उपलब्ध छैन। दृश्य तथा ध्वनि विश्लेषणका आधारमा यो एआई–निर्मित डीपफेक भएको पुष्टि हुन्छ। मोदीले नेपालको चुनावमा कुनै उम्मेदवारलाई सार्वजनिक रूपमा समर्थन जनाएको प्रमाण भेटिँदैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add