तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

मोदीले नेपालसहितका देश अखण्ड भारतमा गाभिने भनेको भिडिओ ‘डिपफेक’


मोदीले नेपालसहितका देश अखण्ड भारतमा गाभिने भनेको भिडिओ ‘डिपफेक’

अफगानिस्तान, बंगलादेश, नेपाल र श्रीलंका बिना युद्ध अखण्ड भारत बन्नेछन् भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको दावीसहितको एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडिओ एआई प्रविधिको सहायताले तयार गरिएको डीपफेक भएको पुष्टि भएको छ।

के हो दावी ?

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राजावादी पक्षको समर्थनमा सामग्री पोस्ट गर्दै आएको Rpp Nepal Khabar नामक फेसबुक पेजमा शुक्रबार (मार्च १३, २०२६) दिउँसो ३ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ५१ सेकेन्डको भिडिओ पोस्ट गरिएको छ।

भिडिओमा मोदीले भारत इजरायलको साथमा रहेको र इजरायल तथा भारतको लक्ष्य एउटै रहेको भनेर बोलेको सुनिन्छ। भिडिओको करिब ३० सेकेन्डपछि उनले ‘अफगानिस्तान, बंगलादेश, नेपाल र श्रीलंका बिना युद्ध नै अखण्ड भारत बन्ने’ दावी गरेको सुनिन्छ।

शुक्रबार राति यो तथ्यजाँच गर्ने समयसम्म उक्त पोस्टमा ४५७ प्रतिक्रिया, १५३ कमेन्ट र १ हजार ३ सयभन्दा बढी शेयर भइसकेका छन्। भिडिओ १ लाख ३८ हजारभन्दा बढी पटक हेरिएको छ। अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यही दावीसहित उक्त भिडिओ साझा गरिरहेका छन्।

हेर्नुहोस् भिडिओ पोस्टको स्क्रिन रेकर्ड

ओरिजिनल  लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो  तथ्य ?

यो भिडिओको तथ्यजाँच गर्न हामीले सबैभन्दा पहिले भिडिओको एउटा फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। खोजी गर्दा मार्च १२, २०२६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक युट्युब च्यानलमा ४२ मिनेट ४८ सेकेन्ड लामो भिडिओ अपलोड गरिएको भेटियो।

उक्त भिडिओमा मोदीको सम्बोधन ८ मिनेट १५ सेकेन्डपछि सुरु हुन्छ र ४१ मिनेट १८ सेकेन्डमा समाप्त हुन्छ। भाइरल भिडिओ र युट्युबमा अपलोड गरिएको मूल भिडिओमा मोदीको पहिरन, माइक, स्टेज र पृष्ठभूमि समान देखिन्छ।

हामीले मूल भिडिओ पूरा हेरेर ‘नेपाल’ शब्द उल्लेख भएको छ कि छैन भनेर जाँच गर्‍यौँ। तर उक्त भिडिओमा मोदीले ‘नेपाल’ शब्द एकपटक पनि उच्चारण गरेको भेटिएन। उनले ‘अफगानिस्तान, बंगलादेश, नेपाल र श्रीलंका बिना युद्ध नै अखण्ड भारत बन्ने’ जस्ता कुनै अभिव्यक्ति दिएको पनि भेटिएन।

हेर्नुहोस् मोदीको युटुब च्यानलमा अपलोड गरिएको भिडिओ

मोदीको युटुब च्यानलको ओरिजिनल लिंक यहाँ छ ।

त्यसपछि हामीले भाइरल भिडिओमा एआईको प्रयोग भएको छ कि छैन भनेर जाँच गरेर हेर्‍यौँ।

सुरुमा हामीले ट्रुथ स्क्यानमार्फत जाँच गरेर हेर्‍यौँ । यसले अडिओ एआईमार्फत् निर्माण गरिएको ७१ प्रतिशत सम्भावना देखायो।

हेर्नुहोस् ट्रुथ स्क्यानले दिएको नतिजाको स्क्रिनसट

 

त्यसैगरी हामीले हाइभ मोडरेसनबाट पनि यसको जाँच गर्‍यौँ। यसले यसमा रहेको अडिओ ९९.७ प्रतिशत एआईबाट बनेको हुने संकेत देखायो।

टुलले यस्तो संकेत देखाएपछि हामीले यो भिडिओको अडिओलाई ध्यानपूर्वक सुन्यौँ। त्यसमा हामीले यस्तो पायौँ-

  • अडियोमा नरेन्द्र मोदीको जस्तो सुनिने आवाज छ, तर बोल्ने शैलीमा प्राकृतिक मानिसमा हुने भावना वा श्वासप्रश्वासको कमी देखिन्छ। शब्दहरू बीचको ग्याप र लय अलि “मेकानिकल” वा बनावटी सुनिन्छ।
  •  यस अडिओमा मोदीले “नेपाललगायतका विभिन्न देश बिना युद्ध नै अखण्ड भारतमा गाभिनेछ” भन्ने जस्ता गम्भीर र विवादास्पद कुरा गरेको सुनिन्छ। यस्ता अभिव्यक्तिहरू कुनै पनि आधिकारिक माध्यम वा विश्वसनीय समाचारमा फेला पर्दैनन्, जुन डिपफेकको एउटा प्रमुख लक्षण हो।

  • आवाजको पछाडिको ध्वनि (Background noise) र मुख्य आवाज बीचको तालमेल मिलेको छैन। कहिलेकाहीँ आवाज काटिएको वा अस्वाभाविक रूपमा जोडिएको जस्तो अनुभव हुन्छ।

यस विषयमा भारतमा कुनै आधिकारिक प्रतिक्रिया आएको छ कि भनेर खोजी गर्दा भारत सरकारको Press Information Bureau (PIB) Fact Check ले पनि यही भिडिओबारे तथ्यजाँच गरेको भेटियो।

PIB Fact Check का अनुसार उक्त भिडिओ प्रविधिको दुरुपयोग गरी तयार गरिएको डीपफेक सामग्री हो। PIB Fact Check ले मूल भिडिओ र फेक भिडिओको तुलना समेत सार्वजनिक गरेको छ।

हेर्नुहोस् (PIB Fact Check) 

तथ्य जाँच

दावी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अफगानिस्तान, बंगलादेश, नेपाल र श्रीलंका बिना युद्ध नै अखण्ड भारत बन्ने’ भनेको भिडिओ।

दावीकर्ता : Rpp Nepal Khabar फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य : मिथ्या सूचना। एआई डिटेक्सन टुलको परीक्षण, अडिओको म्यानुअल अध्ययन अनुसार उक्त भिडिओ डीपफेक प्रविधि प्रयोग गरेर तयार गरिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक भाषणमा यस्तो अभिव्यक्ति भेटिँदैन। साथै भारत सरकारको PIB Fact Check ले पनि उक्त भिडिओ डीपफेक भएको पुष्टि गरेको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add