एक्सप्लेनर जलवायु र वातावरण सही सूचना

एक्सप्लेनर : सास फेर्नै गाह्रो बनाउने वायु प्रदूषण : के हो एक्यूआई ? कुन स्तर खतरनाक हुन्छ ?


एक्सप्लेनर : सास फेर्नै गाह्रो बनाउने वायु प्रदूषण : के हो एक्यूआई ? कुन स्तर खतरनाक हुन्छ ?

पछिल्लो केही दिन यता काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण ह्वात्तै बढेको छ। काठमाडौं उपत्यका तुवाँलोले ढाकिएको छ भने नागरिकलाई सास फेर्न समेत गाह्रो पर्ने स्थितिको सिर्जना भएको छ।

तपाईँले विभिन्न सञ्चारमाध्यमहरूमा वायु प्रदूषणबारे समाचारहरू त पक्कै हेर्नु वा सुन्नुभएको होला। वायु प्रदूषणका समाचारहरूमा एक्यूआई (एअर क्वालिटी इन्डेक्स) लगायतका शब्दहरू पनि सुन्नु वा हेर्नु भएको होला। आजको एक्सप्लेनरमा हामी, एक्यूआई के हो ? कसरी नापिन्छ ? वायुको गुणस्तर कति एक्यूआई पुग्नु खतरनाक हो ? लगायतका विषयमा चर्चा गर्दैछौं।

के हो वायु प्रदूषण ?

वायु प्रदूषण भनेको हावामा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्‍याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु हो। वायु प्रदूषण हुनुमा प्राकृतिक र मानवीय क्रियाकलाप दुवैको भूमिका रहन्छ। सवारीका साधनबाट निस्कने धुवाँ, कलकारखाना र उद्योगहरूबाट निस्कने धुवाँ र रसायनिक पदार्थहरू, फोहोर जलाउने काम, कृषिजन्य गतिविधिहरू (जस्तै: पराल जलाउने, वन डढेलो, मरुभूमिबाट हावाले उडाउने धुलो आदि) जस्ता गतिविधिका कारण हानिकारक ग्याँस र धुलोका कणहरू हावामा मिसिएर गुणस्तर खस्किन्छ ।

के हो एक्यूआई ?

एअर क्वालिटी इन्डेक्स (एक्यूआई) दैनिक रूपमा वायुको गुणस्तर रिपोर्ट गर्ने सूचकाङ्क हो। यसले हावा कति सफा वा प्रदूषित छ भन्ने बताउँछ । एक्यूआईले प्रदूषित हावासँग सम्बन्धित स्वास्थ्य प्रभावहरूबारे जानकारी दिने काम गर्छ । एक्यूआईमा ग्राउन्ड–लेभल ओजन (भू–तहको ओजन – ओ ३), कण प्रदूषण (कण पदार्थ–पी.एम २.५ र पी.एम. १०), कार्बन मोनो अक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडको गणना गरिन्छ ।

के हो कण पदार्थ अर्थात् पी.एम. ?

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले उल्लेख गरेअनुसार पी.एम.भनेको हावामा पाइने ठोस कण र तरल थोपाहरूको मिश्रण हो । धुलो, फोहोर वा धुवाँ जस्ता केही कणहरू नाङ्गो आँखाले देख्न सकिने हुन्छन् भने केहीलाई केवल इलेक्ट्रोन माइक्रो स्कोप प्रयोगमा देख्न सकिन्छ ।

पी.एम.२.५ र पी. एम. १० भन्नाले के बुझिन्छ ?

साधारणतया २.५ माइक्रो मिटर र त्यसभन्दा सानो व्यास भएको धुलाका कणहरूलाई पी.एम. २.५ भनिन्छ । सामान्य मानिसको कपालको रौंको व्यास ७० माइक्रो मिटर हुन्छ । यसरी यस समूहमा पर्ने सबैभन्दा ठुला कणहरूको व्यास भन्दा कपालको रौको व्यास ३० गुणा ठुलो हुन्छ । यस्ता कणहरू निकै साना हुने भएकोले सजिलै सँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन् भने धेरै मसिना कणहरू फोक्सो बाट रगतमा प्रवेश गरी शरीरका विभिन्न अङ्गमा प्रवेश गर्दछन् ।

साधारणतया १० माइक्रो मिटर र त्यसभन्दा सानो व्यास भएको धुलाका कणहरूलाई पी.एम. १० भनिन्छ ।

वातावरण विभागका अनुसार यी कणहरू विभिन्न साइज र आकारका हुन्छन् । साथै, एउटै कणमा सयौँ रसायनहरू हुन सक्दछन् । यी कणहरू कुनै यिनीहरूका स्रोतहरूबाट प्रत्यक्ष हावामा आउँछन् भने कुनै कुनै वायुमण्डलमा भएका विभिन्न रसायनहरूको प्रतिक्रियाबाट उत्पन्न हुन्छन् ।

एक्यूआईको कुन अवस्था कति खतरनाक ?

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) अनुसार पनि ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ।

एक्यूआई ०-५० (राम्रो) : यो वायुको गुणस्तर सन्तोषजनक मानिन्छ । यसमा वायु प्रदूषणले थोरै वा कुनै जोखिम उत्पन्न गर्दैन ।

एक्यूआई ५१-१०० (मध्यम) : यो वायुको गुणस्तर स्वीकार्य हुन्छ । यद्यपि, पहिले नै श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू जस्ता संवेदनशील व्यक्तिहरूमा खोकी वा सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन थाल्छन् ।

एक्यूआई १०१-१५० (संवेदनशील समूहका लागि अस्वस्थ) : यो एक्यूआई दायरामा सामान्य जनतालाई प्रभाव पार्ने सम्भावना कम हुन्छ । तर, फोक्सोको रोग भएका व्यक्ति, वृद्ध वृद्धा र बालबालिकाहरू ओजनको सम्पर्कबाट बढी जोखिममा पर्छन् । त्यस्तै, मुटु र फोक्सोको रोग भएका व्यक्ति, वृद्ध वृद्धा र बालबालिकाहरू हावामा रहेका कणहरूबाट बढी जोखिममा हुन्छन् ।

एक्यूआई १५१-२०० (अस्वस्थ्य) : वायु प्रदूषण १५१-२०० एक्यूआई मापन हुँदा सबै व्यक्तिहरूले केही प्रतिकूल स्वास्थ्य प्रभावहरू अनुभव गर्न थाल्न सक्छन् । साथै, संवेदनशील समूहका व्यक्तिहरूले अझ गम्भीर प्रभावहरू अनुभव गर्न सक्छन् ।

एक्यूआई २०१-३०० (धेरै अस्वस्थ) : जब वायु प्रदूषण २०१ देखि ३०० एक्यूआई सम्म हुन्छ । तब सबै व्यक्तिहरूले गम्भीर स्वास्थ्य प्रभावहरूको सामना गर्न बाध्य हुन्छन् ।

एक्यूआई ३०१ बढी (खतरनाक) : वायु प्रदूषण ३०० एक्यूआई भन्दा बढी मापन हुनु खतरनाक अवस्था हो । यसले आपत्कालीन अवस्थाको स्वास्थ्य चेतावनी जारी गर्छ । यसबाट सम्पूर्ण जनसङ्ख्या प्रभावित बन्ने सम्भावना बढी हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add