तथ्यजाँच जलवायु र वातावरण भ्रामक सूचना वागमती

‘भारी वर्षा’ भन्दै फैलाइयो भ्रम, वास्तविकता हल्का र मध्यम वर्षा


‘भारी वर्षा’ भन्दै फैलाइयो भ्रम, वास्तविकता हल्का र मध्यम वर्षा

सोमबार साँझ काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएपछि केही अनलाइन मिडिया र सामाजिक सञ्जाल पोस्टहरूले ‘भारी वर्षा’ भएको दाबी गरेका छन्।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त वर्षा ‘भारी’ नभई ‘हल्का’देखि ‘मध्यम’ स्तरको रहेको पुष्टि भएको छ।

के हो दावी ?

४ लाखभन्दा बढी फलोअर्स भएको मकालु खबर डटकमको फेसबुक पेजले मार्च १६, २०२६ साँझ ५:४९ बजे ‘काठमाडौंमा हावाहुरी र भारी वर्षा’ शीर्षकसहित सामग्री पोस्ट गरेको छ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

५ लाख २६ हजार फलोअर्स भएको यस्तै, अनलाइन टिभी नेपाल नामक फेसबुक पेजले ‘काठमाडौँमा मेघ गर्जनसहित भारी वर्षा हुँदै’ शीर्षकसहित भिडियो लाइभ गरेको छ। उक्त लाइभलाई ६ हजार तीन सय पटक हेरिएको छ ।

उक्त लाइभको अर्काइभ गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

लाइभ भिडियोको लिङ्कअर्काइभ लिङ्क

यस्तै, ६३ हजार फलोअर्स भएको एनपीएल वर्ल्ड न्युज नामक फेसबुक पेजमा पनि ‘सुनसरीको भोक्राहा–नरसिंहमा असिनासहित भारी वर्षा’ शीर्षकसहित वर्षा भइरहेको भिडियो पोस्ट गरिएको छ । भिडियोको लिङ्कअर्काइभ लिङ्क

यी सामग्रीहरूले वर्षालाई ‘भारी’ भनेर प्रस्तुत गरेका छन्।

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको विवरण जाँच गर्‍यौँ।

महाशाखाका अनुसार चैत २ गते बिहानदेखि चैत ३ गते बिहानसम्म (२४ घण्टा)मा देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको उल्लेख छ।

हामीले हावापानी विश्लेषण शाखाको वर्षा मापन डेटा पनि जाँच गर्‍यौँ।

उक्त रिपोर्टमा २४ घण्टामा:

  • देशभर १२३ स्थानमा वर्षा मापन भएको

  • सबैभन्दा बढी वर्षा धनकुटाको मुलघाटमा ३५ मि.मि.

  • काठमाडौंमा सबैभन्दा बढी वर्षा कीर्तिपुरमा ९.२ मि.मि.

पछिल्लो २४ घण्टामा काठमाडौंको कीर्तिपुर, नैकाप, पानीपोखरी, कपन, सुन्दरी जल लगायतका केन्द्रहरूमा पनि वर्षा मापन भएको थियो । तर, कीर्तिपुरमा मापन भएको ९.२ मि.मि सबैभन्दा बढी थियो । त्यसैले, काठमाडौंमा भएको वर्षा हल्का वर्षा हो ।

यस्तै, सोमबार साँझ सुनसरीको चतरा मापन केन्द्रमा २९ मि.मि. वर्षा भएको थियो मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले यो मध्यम वर्षा भित्र पर्दछ ।

पछिल्लो २४ घण्टामा कहाँ कति वर्षा मापन भयो ? हेर्न यहाँ क्लिक गर्नुहोस्

वर्षाको वर्गीकरण अनुसार ‘भारी’ होइन

मौसम पूर्वानुमान महाशाखा अनुसार कति वर्षा हुँदा कति भनिन्छ ?

१० मि.मि.सम्म → हल्का वर्षा

१०–५० मि.मि. → मध्यम वर्षा

५०–१०० मि.मि. → भारी वर्षा

उपलब्ध तथ्यांक अनुसार:

काठमाडौं (९.२ मि.मि.) → हल्का वर्षा

सुनसरी (२९ मि.मि.) → मध्यम वर्षा

अधिकतम धनकुटाको मूलघाट (३५ मि.मि.) → अझै मध्यम वर्षा

अर्थात्, कुनै पनि स्थानमा ५० मि.मि. भन्दा बढी वर्षा मापन भएको छैन, जसले ‘भारी वर्षा’ को मापदण्ड पूरा गर्दैन।

तथ्य जाँच

दावी : काठमाडौंसहित देशभर सोमबार भारी वर्षा भएको।

दावीकर्ता : मकालु खबर, अनलाइन टिभी नेपाल, एनपीएल वर्ल्ड न्युज लगायत सामाजिक सञ्जालका पेजहरू।

तथ्य/निष्कर्ष : भ्रामक सूचना। आधिकारिक मौसम तथ्यांक अनुसार उक्त अवधिमा देशभर हल्कादेखि मध्यम वर्षा मात्र भएको हो। ‘भारी वर्षा’ भन्ने दावी तथ्यसँग मेल खाँदैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add