- सुरज घिमिरे
- चैत्र ८, २०८२

इनिशा विक र उनका प्रेमीबीच भएको व्हाट्सएप च्याट भन्दै भाइरल स्क्रिन सटहरू एआईनिर्मित
सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विक र उनका प्रेमीबीच भएको व्हाट्सएप च्याट भन्दै केही स्क्रिन सटहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर हामीले गरेको तथ्यजाँचले भने ती स्क्रिन सटहरू र कुराकानी एआईको माध्यमबाट बनाइएको पुष्टि गरेको छ ।
के हो दाबी ?
एक लाख ५३ हजार फलोअर्स भएको केटीएम पोस्ट (Ktm Post) नामक फेसबुक पेजले मार्च १७, २०२६ मा बिहान ७ः४७ बजे एउटा फोटो अपलोड गर्यो । ‘इनिसा बिक लाई यसरी फकाउँदै गरेका थिए काण्ड, पुरा च्याट पढौँ’ भन्दै अपलोड गरिएको फोटोमा स्व. इनिशा विक लेखिएको फोटोमा माला चढाइएको छ भने नजिकै कुर्सीमा बसेकी एक महिलाले मोबाइलमा ह्वाट्सएप च्याट जस्तो देखिने कुराकानी देखाएकी छिन् ।
इनिशालाई प्रेमीले गरेको च्याट दाबी गरिएको उक्त च्याटमा भएको कुराकानी :
प्रेमी – एक्लै आउनु काम छ यार
इनिशा – यस्तो किन हो त है
प्रेमी – काम गर्नुछ के बुझ न पागल
इनिशा – के बुझ्ने र हुम ?
प्रेमी – साथीहरू आएपछि डिस्टर्ब हुन्छ के बुझ न
इनिशा – हेरम कस्तो हुन्छ
प्रेमी – पक्का आउँ है
उक्त फेसबुक पोस्टमा हामीले तथ्यजाँच गर्दै गर्दा एक हजार ९ सय लाइक, दुई सय २० कमेन्ट र २० पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
यस्तै सन्दीप क्षेत्री नामक फेसबुक प्रयोगकर्ताले सोही प्रकारको च्याटसहितको फोटो भोजराज थापा नामक फेसबुक ग्रुपमा पनि अपलोड गरेका छन् । मार्च १६ मा बिहान ९ : १५ बजे ‘इनिशा विकको प्रेमीको गोप्य च्याट बाहिरियो । सबै जनाले रिप लेख्नुहोला ।’ शीर्षकसहितको फोटोमा हामीले तथ्य जाँच गर्दै गर्दा ६ सय ४१ लाइक, ९४ कमेन्ट र ७ पटक शेयर गरिएको छ ।
इनिशालाई प्रेमीले गरेको च्याट दाबी गरिएको उक्त च्याटमा भएको कुराकानी :
इनिशा – बसेको अनि तिमि नि
प्रेमी – सेम यार के गर्नु
इनिशा – होर अनि के छ नयाँ नौलो खबर भन्नुस्
प्रेमी – के हुनु ठिकै छ अब कहिले भेट्ने हामी, भेट्ने लास्टै मन लागिराछ
इनिशा – कहिले भेट्नु आफैँ भन्नु न, बट टाइम त छैन
प्रेमी – भोली भेटम न, साथीहरू लिएर नआउनु है
इनिशा – ल किन र यस्तो ?
प्रेमी – त्यस्तै यार एक्लै आउनु है
हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्यजाँच गर्ने क्रममा हामीले सुरुमा इनिशा विक प्रकरणबारे खोज्यौँ । सोही क्रममा हामीले गत फाल्गुन २८ गते ईकान्तिपुरमा प्रकाशित ‘घटना, अनुसन्धान र न्यायको माग : इनिसा विकको बलात्कारपछि हत्या प्रकरणलाई पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्’ शीर्षकको सामाग्री भेट्यौँ । जहाँ सुर्खेतको वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको लगायतको विषय समेटिएको छ ।
ईकान्तिपुरमा प्रकाशित उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
त्यसपछि हामीले सामाजिक सञ्जालमा भाइरल च्याटको विषयमा खोजी गर्यौ । ती च्याटबारे कुनै पनि आधिकारिक सञ्चारमाध्यममा उल्लेख गरिएको छैन ।
भाइरल बनेको च्याटको स्क्रिन सट ह्वाट्सएपको जस्तो फिचर भएको देखिन्छ । तर फन्ट, अन्य फिचर लगायतका केही कुराहरू भने अस्वाभाविक देखिन्छन् । हामीले उक्त भाइरल बनाइएका फोटोहरूलाई हाइभ मोडेरेशनमा राखेर जाँच गर्यौ । हाइभ मोडेरेशनले उक्त फोटोहरू एआईको मद्दतले निर्मित भएको पुष्टि गर्यो ।
हेर्नुहोस्, स्क्रिन सट :


हामीले इनिशा र प्रेमीबीच भएको च्याट दाबी गरिएको ती म्यासेजहरूबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग बुझ्यौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापासँग कुराकानी गर्यौ । नेपाल फ्याक्ट चेकसँगको कुराकानीमा उनले ती सामाजिक सञ्जालमा सार्वजनिक भएका इनिशा र उनको प्रेमीबीचको च्याटहरूबारे भने – “अहिले जसरी सोसल मिडियामा इनिशा विक र उनको प्रेमीबीचको च्याटहरू भन्दै भाइरल बनेका छन्, ती सबै फेक हुन् । ती च्याटहरू र च्याटमा भएको कुराकानी (म्यासेज) दुवै एआईमार्फत बनाइएका हुन् । त्यसमा कुनै सत्यता छैन ।”
तथ्यजाँच
दाबी : इनिशा विक र उनका प्रेमीबीच भएको व्हाट्सएप च्याट भन्दै सामाजिक सञ्जालमा भाइरल स्क्रिन सट ।
दाबीकर्ता : केटीएम पोस्ट नामक फेसबुक पेज र सन्दीप क्षेत्री नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : मिथ्या । इनिशा विक र उनका प्रेमीबीच भएको व्हाट्सएप च्याट भन्दै सामाजिक सञ्जालमा भाइरल स्क्रिन सटहरू सही नभएको हाम्रो तथ्य जाँचले पुष्टि गर्छ ।