- उमेश श्रेष्ठ
- चैत्र ३, २०८२

बदर मत ‘३५ वर्षयताकै सबैभन्दा बढी’ कि ‘घट्यो’ ? कान्तिपुर र गोरखापत्रका दावी किन फरक?
प्रतिनिधिसभा निर्वाचन २०८२ पछि बदर मतबारे दुई फरक निष्कर्ष सार्वजनिक भएका छन्। कान्तिपुरमा “३५ वर्षयताकै सबैभन्दा बढी बदर मत” भएको दावी गरिएको छ भने गोरखापत्रमा “बदर मत प्रतिशत घटेको” दावी गरिएको छ।
नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा भने दुवै निष्कर्ष आंशिक तथ्यमा आधारित र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत गरिएको पाइएको छ।
के हो दावी ?
कान्तिपुर राष्ट्रिय दैनिकले ३५ वर्षयताकै सबैभन्दा बढी मत यसपालि बदर शीर्षकमा पहिलो पेजमा समाचार २०८२ फागुन ३० गते छापेको छ। समाचारमा २०८२ सालको निर्वाचनमा बदर मत “बहुदलीय व्यवस्था पुनःस्थापनापछि भएका ८ वटा निर्वाचन मध्ये यसपालि सबैभन्दा बढी” भएको दावी गरिएको छ।
हेर्नुस् कान्तिपुरमा प्रकाशित समाचारको स्क्रिनसट-
सोही दिन प्रकाशित सरकारी मिडिया गोरखापत्र दैनिकले भने ‘घट्यो बदर मत प्रतिशत’ शीर्षकमा पहिलो पेजमा नै समाचार प्रकाशन गरेको छ। समाचारमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा बदर मतदानको प्रतिशत अघिल्ला निर्वाचनका तुलनामा घटेको’ दावी गरिएको छ। हेर्नुस् स्क्रिनसट-
दुवै समाचारले निर्वाचन आयोगकै तथ्यांक प्रयोग गरेका छन्।
के हो तथ्य ?
यो तथ्यजाँचका लागि हामीले निर्वाचन आयोगले सार्वजनिक गरेको आधिकारिक मत परिणाम प्रयोग गरेका छौँ।
विश्लेषण गर्दा पहिलो हुने निर्वाचित हुने प्रणाली (FPTP) अर्थात् प्रत्यक्ष र समानुपातिक (PR) दुवै प्रणालीको छुट्टाछुट्टै र समग्र रूपमा तुलना गरिएको छ।
२०८२ सालको तथ्यांक
निर्वाचन आयोगले फागुन २८ गते प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार प्रत्यक्षतर्फ ९४.५५ प्रतिशत मत सदर भएको छ। त्यसैगरी समानुपातिकतर्फ ९६.५ प्रतिशत मत सदर भएको छ।
यसबाट बदर मतको हिसाब गर्दा
प्रत्यक्ष (FPTP):
- बदर मत: ६,०९,०१५
- प्रतिशत: ५.४५%
समानुपातिक (PR):
- बदर मत: ४,६३,३७३
- प्रतिशत: ३.९५%
२०७९ सालसँग तुलना
निर्वाचन आयोगले २०७९ सालको प्रतिनिधि सभा निर्वाचन पछि २०७९ मंसिर २८ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रत्यक्षतर्फ ५.०६ प्रतिशत र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको उल्लेख गरेको छ।
प्रत्यक्ष (FPTP):
- २०७९: ५.०६%
- २०८२: ५.४५%
+ बढेको
समानुपातिक (PR):
- २०७९: ५.०९%
- २०८२: ३.९५%
– घटेको
यदि दुवै प्रणालीको औसत निकालिन्छ भने:
- २०८२: ४.७%
अघिल्लो निर्वाचनको तुलनामा थोरै घटेको
किन फरक निष्कर्ष आयो ?
‘कान्तिपुर’ले मुख्यतः प्रत्यक्ष प्रणाली (FPTP) को बदर मतलाई आधार मान्यो, त्यसैले “बढेको” देखियो।
‘गोरखापत्र’ले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको औसत प्रतिशतलाई आधार मान्यो, त्यसैले बदर मत “घटेको” देखियो।
दुवै समाचारले निर्वाचन आयोगको सही तथ्यांक प्रयोग गरेका छन्। तर पूर्ण सन्दर्भ नदिई आंशिक तथ्यबाट निष्कर्ष निकालिएको छ। यही कारणले एउटै तथ्याङ्कबाट दुई फरक र विरोधाभासी निष्कर्ष देखिएको हो।
तथ्य जाँच
दावी : २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा बदर मत “३५ वर्षयताकै सबैभन्दा बढी” (कान्तिपुर) वा “घटेको” (गोरखापत्र)।
दावीकर्ता : कान्तिपुर र गोरखापत्रमा प्रकाशित समाचार सामग्री।
तथ्य/निष्कर्ष : आंशिक रूपमा सही तर सन्दर्भ अपूर्ण (Missing context)।
कान्तिपुरले प्रत्यक्षतर्फ बदर मत प्रतिशत (५.४५%) बढेको तथ्य सही रूपमा उल्लेख गरेको छ। गोरखापत्रले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको औसतका आधारमा बदर मत घटेको निष्कर्ष निकालेको छ। यो पनि आफ्नो सन्दर्भमा सही हो।
तर कान्तिपुरको हेडलाइनले समग्र बदर मत बढेको जस्तो सन्देश दिन सक्छ, जबकि समानुपातिकतर्फ बदर मत घटेको छ। त्यसैगरी गोरखापत्रको समाचारले समग्र रूपमा बदर मत घटेको देखाउँछ, जबकि प्रत्यक्षतर्फ बढेको छ।
यसैले बदर मतको वास्तविक प्रवृत्ति बुझ्न दुवै प्रणाली छुट्टाछुट्टै हेर्न आवश्यक हुन्छ।



