- सुरज घिमिरे
- चैत्र १५, २०८२

केपी ओलीको हातमा हतकडी लगाइएको भाइरल भिडियो एआई निर्मित
सामाजिक सञ्जालमा आइतबार नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी लगाइएका भिडियोहरू भाइरल भइरहेका छन्। शनिबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको भोलिपल्ट यस्ता भिडियोहरु भाइरल भएका हुन्।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडियोहरू सही नभएको र एआईबाट बनेको पुष्टि हुन्छ।
के हो दावी ?
६ लाख ६२ हजार फलोअर्स भएको देश दुनियाँ अपडेट नामक फेसबुक पेजमा आइतबार मध्याह्न एउटा भिडियो पोस्ट भयो। त्यसमा शनिबार पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी लगाइएको दृश्य देखाइएको छ ।
उक्त भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा एक हजार एक सय रियाक्सन, २७ कमेन्ट र २१ पटक शेयर गरिएको छ । साथै, भिडियोलाई २८ हजार पटक हेरिएको छ ।
हेर्नुहोस्, उक्त भिडियो समाचारको स्क्रिनरेकर्ड
उक्त भिडियोको लिङ्क
त्यस्तै, अन्य फेसबुक प्रयोगकर्ताहरूले पनि सोही दावीका साथ छोटा भिडियो क्लिपहरू शेयर गरेका छन्।
पोखरेल दिनेश नामक फेसबुक एकाउन्टमा पनि ११ सेकेन्डको भिडियो अपलोड गरिएको छ ।
हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड
उक्त भिडियोको लिङ्क
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले विभिन्न विश्वसनीय सञ्चारमाध्यमका समाचार र फोटोहरू जाँच गर्यौँ:
अनलाइन खबर
द काठमाडौं पोस्ट
बीबीसी नेपाली सेवा
अलजजिरा
यी सबै स्रोतहरूमा ओली पक्राउ परेको उल्लेख भए पनि हतकडी लगाइएको कुनै प्रमाण भेटिँदैन। समाचारहरुमा ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको उल्लेख गरिएको छ ।
भिडियोमा एआईका संकेतहरू
त्यसपछि हामीले भिडियोलाई नियालेर हेर्यौ । उक्त भिडियोमा ओलीको अनुहारको हाउभाउ र हिँडाइ अस्वाभाविक देखिन्छ । साथै, ओलीको हात समाएका एक प्रहरी अधिकारीको काँधको फुली अस्वाभाविक छ भने हातमा देखिएको रातो कलरको चिन्ह पनि नेपाल प्रहरीको जस्तो देखिँदैन।
हेर्नुहोस्, स्क्रिन सट

एआई डिटेक्सन टुलको नतिजा
हामीले यो भिडियोको SynthID जाँच गर्यौँ। SynthID गुगलले विकास गरेको AI watermarking प्रविधि हो, जसले एआईबाट बनेका फोटो, अडियो वा सामग्रीमा मानव आँखाले नदेखिने डिजिटल चिन्ह राख्छ। यसले पछि उक्त सामग्री एआई–निर्मित हो वा होइन भन्ने पहिचान गर्न सहयोग गर्छ।
नतिजा यस्तो देखियो-
नेपालीमा अनुवाद गर्दा :
यस भिडियोका दृश्यहरू गुगल एआई (Google AI) को प्रयोग गरेर परिमार्जन गरिएका वा बनाइएका हुन्। भिडियोको सुरुदेखि अन्त्यसम्म (०:००-०:१०) दृश्यहरूमा सिन्थ-आईडी (SynthID) फेला परेको छ, यद्यपि अडियोमा भने यस्तो कुनै संकेत देखिएको छैन।
भिडियोलाई नजिकबाट नियाल्दा केही अस्वभाविक कुराहरू देखिन्छन् जसले यो डिजिटल रूपमा सम्पादन गरिएको पुष्टि गर्छन्:
-
हतकडीको बनावट: भिडियोमा हतकडीहरू मानिसको हातमा बिलाएको वा टाँसिएको जस्तो देखिन्छ। एआईले बनाएका तस्विरहरूमा प्रायः यस्तै अस्पष्टता देखिने गर्छ।
-
शारीरिक बनावट: छेउमा रहेका व्यक्तिहरूको हातका औंलाहरू र बनावट प्राकृतिक देखिँदैनन्, जुन एआई प्रविधिको एउटा साझा त्रुटी हो।
-
पोशाक र अक्षर: सुरक्षाकर्मीको पोशाकमा लेखिएका अक्षरहरू स्पष्ट छैनन् र कुनै वास्तविक सुरक्षा निकायको लोगो वा चिन्हसँग मेल खाँदैनन्।
तथ्यजाँच
दावी : केपी शर्मा ओलीलाई पक्राउ गर्दा हतकडी लगाइएको भिडियो।
दावीकर्ता : देश दुनियाँ अपडेट फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य/निष्कर्ष : मिथ्या (False) र एआई निर्मित (AI Generated) । केपी शर्मा ओलीलाई हतकडी लगाइएको देखाउने भाइरल भिडियो एआईमार्फत निर्माण गरिएको हो। विश्वसनीय स्रोतहरू, वास्तविक भिडियोहरू र एआई विश्लेषणले यो पुष्टि हुन्छ।
