- नेपाल फ्याक्ट चेक
- फाल्गुन २७, २०८२

चुनाव हारेपछि ओली रोए भन्ने भिडियो भ्रामक, ९ वर्ष पुरानो अन्तर्वार्ता भाइरल
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन २०८२ हारेपछि आँखा भरी आँसु पार्दै मिडियामा आएको दावी गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी भ्रामक रहेको पुष्टि भएको छ। ९ वर्ष पुरानो अन्तर्वार्ताको भिडियो क्लिपलाई नयाँ सन्दर्भमा क्याप्सन राखेर भाइरल गराइएको हो।
दावी के छ ?
७८ हजार फलोअर्स रहेको अर्थ चौतारी नामक फेसबुक पेजमा मार्च ८ मा ‘चुनाव हारेपछि आँखा भरी आँसु पार्दै केपी ओली पहिलोपटक मिडियामा, यस्तो भने नयाँ सरकार बारे’ क्याप्सन राखेर ५ मिनेट ४० सेकेन्ड लामो भिडियो अपलोड गरिएको छ ।
भिडियोमा एक प्रस्तोताले प्रश्न सोधेको आवाज सुनिन्छ। उनले ओलीलाई ‘कस्तो छ हजुरको हेल्थ अहिले?’ भनेर सोधेका छन्। जवाफमा ओली भन्छन्, ‘ठिकै छ अहिले एक दुई दिनदेखि अलिअलि चिसो लागेको छ।’
त्यसपछि प्रस्तोताले ‘गर्मीमा पनि चिसो लाग्यो?’ भनेर सोध्दा ओलीले ‘मौसम अलि त्यस्तै थियो’ भन्छन्। त्यसपछि उनीहरूबीच ओलीको दैनिक दिनचर्या, कति बजे सुत्ने र उठ्ने, पढाइ तथा सपनाबारे कुराकानी भएको सुनिन्छ।
पूरा भिडियोमा ओलीले आफ्नो अध्ययन गर्ने बानी, ढिलोसम्म पढ्ने र सुत्ने समयबारे कुरा गरेका छन्। भिडियोको क्याप्सनमा दावी गरेझैँ उनले चुनाव, आफ्नो पराजय वा आँसु झारेको प्रसंग कतै पनि उल्लेख गरिएको छैन।
यो तथ्यजाँच गर्दासम्म उक्त भिडियो २० लाखभन्दा बढी पटक हेरिएको छ भने ५८ हजारभन्दा बढी रियाक्सन, ४ हजारभन्दा बढी कमेन्ट र करिब १ हजारभन्दा बढी शेयर भइसकेका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्, स्क्रिन रेकर्ड
तथ्य के हो ?
तथ्यजाँचका क्रममा हामीले भाइरल भिडियोको फ्रेम निकालेर रिभर्स इमेज सर्च गर्यौँ। खोजी गर्दा युट्युबमा ‘Lonely Garage’ नामक च्यानलले ‘KP sharma Oli Latest interview after Gen-Z protest । Full Video’ शीर्षकमा अपलोड गरेको १ घण्टा २१ मिनेट लामो एउटा भिडियो भेटियो, जसमा केपी शर्मा ओलीको अन्तर्वार्ता देखिन्छ।
त्यसपछि हामीले थप खोजी गर्दा ‘Dekhapadi Stories’ नामक युट्युब च्यानलमा ९ वर्षअघि अपलोड गरिएको ‘KP Oli | Prime Minister | My Dream | Hamrokatha Full Interview’ शीर्षकको १ घण्टा २२ मिनेट लामो भिडियो भेटियो।
उक्त भिडियोमा देखिएको सेट, ओलीले लगाएको पहिरन र कुराकानीको सुरुवाती प्रसंग भाइरल भिडियोसँग मिल्छ। भिडियोको स्क्रिनमा ‘hamrokatha.com’ को लोगो पनि देखिन्छ।

भिडियोको विवरणअनुसार यो अन्तर्वार्ता ओली प्रधानमन्त्रीबाट बिदाइ हुने क्रममा ‘हाम्रो कथा’ प्लेटफर्मसँग गरिएको ‘प्रधानमन्त्रीको बिदाइ अन्तर्वार्ता’ हो।
भाइरल भिडियोमा देखिएको ५ मिनेट ४० सेकेन्डको अंश यही पुरानो अन्तर्वार्ताबाट काटिएको भाग हो। तर त्यसलाई अहिलेको प्रतिनिधिसभा निर्वाचनसँग जोडेर ‘चुनाव हारेपछि आँसु झार्दै पहिलोपटक मिडियामा’ भन्ने क्याप्सनसहित फैलाइएको छ।
तसर्थ सामाजिक सञ्जालमा फैलाइएको भिडियो अहिलेको निर्वाचनसँग सम्बन्धित होइन।
हेर्नुस्, स्क्रिनसट । पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

उक्त भिडियोको थम्बनेल तथा विवरणमा ‘प्रधानमन्त्रीको बिदाई अन्तरवार्ता लेखिएको छ ।
९ वर्ष पुरानो भिडियोको भाइरल भिडियोसँग हुबहु मिल्ने अंशको स्क्रिन रेकर्ड (गलत क्याप्शन हालेर भाइरल भिडियोमा प्रस्तोतालाई पूर्ण देखाइएको छैन्)
तसर्थ, अर्थ चौतारीले गरेको दावी भ्रामक छ। किनकि उसले ९ वर्ष अघि ओली प्रधानमन्त्रीबाट बिदाइ हुदै गर्दा दिएको अन्तर्वाताको क्लिप अहिले फरक सन्दर्भमा गलत क्याप्सन हालेर अपलोड गरेको छ।
तथ्यजाँच
दावी : एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव हारेपछि आँसु झार्दै पहिलोपटक मिडियामा आए।
दावीकर्ता : अर्थ चौतारी नामक फेसबुक पेज।
तथ्यजाँच : भ्रामक सूचना। भाइरल भिडियो ९ वर्षअघि प्रधानमन्त्रीबाट बिदाइ हुने क्रममा दिइएको अन्तर्वार्ताको क्लिप हो। उक्त पुरानो भिडियोलाई अहिलेको निर्वाचनसँग जोडेर गलत सन्दर्भमा फैलाइएको हो।