- उमेश श्रेष्ठ
- फाल्गुन २१, २०८२

के टिकटकमा दावी गरिए जस्तो साँच्चै यो केन्द्रमा ४ जना मात्र मतदाता हुन्? होइन, तथ्य यस्तो छ
मुस्ताङ जिल्लाको एक मतदान केन्द्रमा ४ जना मात्र मतदाता रहेको दावीसहितको भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त मतदान केन्द्रमा दावी गरिएभन्दा ९ गुणा बढी मतदाता रहेको पुष्टि भएको छ।
के हो दाबी?
टिकटक प्रयोगकर्ता @corporate_0fficial ले एउटा भिडियो पोस्ट गर्दै नेपालमा यस्तो मतदान केन्द्र रहेको दाबी गरेका छन् जहाँ केवल ४ जना मात्र मतदाता रहेका छन्।
समाचार वाचनको शैलीमा पछाडि स्क्रिनमा एआईबाट जेनेरेट गरेको जस्तो देखिने बिग्रिएको नेपाली अक्षरसहितको ठाउँसहित एक महिलाले मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं. ५ को साङता गाउँस्थित श्री हिमाली आधारभूत विद्यालय मा ४ जना मात्र मतदाता रहेको दाबी गरिएको छ।
यो भिडियो पोस्ट भएको टिकटकमा बुधबार रातिसम्म ५ लाख ३५ हजार भ्युज, २८ हजार लाइक, १३७ कमेन्ट र ११५५ फेभरेट रहेको देखिन्छ।
यही भिडियोको आवाज प्रयोग गरेर अन्य १८ प्रयोगकर्ताले पनि भिडियो बनाएर फैलाएका छन्। हेर्नुस् स्क्रिनरेकर्ड–
के हो तथ्य?
भिडियोमा देखाइएको स्थानको विवरणका आधारमा हामीले निर्वाचन आयोगमा प्रकाशित मतदाता नामावली जाँच गर्यौँ।
जाँच गर्दा त्यहाँ कूल ३९ जना मतदाता रहेको देखियो।
हेर्नुस् स्क्रिनसट–
अर्थात् सामाजिक सञ्जालमा गरिएको “४ जना मात्र मतदाता” भन्ने दाबी गलत छ।
तथ्य जाँच
दावी: मुस्ताङको एक मतदान केन्द्रमा ४ जना मात्र मतदाता छन्।
दावीकर्ता: टिकटक प्रयोगकर्ता @corporate_0fficial तथा अन्य।
निश्कर्ष: भ्रामक (Misleading)। निर्वाचन आयोगको आधिकारिक मतदाता नामावली अनुसार उक्त मतदान केन्द्रमा ४ जना होइन ३९ जना मतदाता छन्। त्यसैले सामाजिक सञ्जालमा फैलाइएको दाबी तथ्यसँग मेल खाँदैन।
