- नेपाल फ्याक्ट चेक
- फाल्गुन २१, २०८२

‘म्याग्दीमा बुथ कब्जा र गोली’ दावी गलत, सुरक्षा अभ्यासको भिडिओ प्रयोग
बुथ कब्जा गर्न खोज्दा म्याग्दीमा गोली चलेको दावीसहितको एउटा भिडिओ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले उक्त दावी भ्रामक रहेको पुष्टि गरेको छ। गत फागुन १० गते म्याग्दीको बेनीमा गरिएको मतदान तथा सुरक्षा अभ्यासको भिडिओलाई अहिले गलत सन्दर्भ र क्याप्सन राखेर फैलाइएको हो।
दावी के हो ?
फेसबुकमा ५६ हजार फलोअर्स रहेका गणेश विष्ट नामक प्रयोगकर्ताले “म्याग्दीमा बुथ कब्जा गर्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ” क्याप्सन राखेर १५ सेकेन्ड लामो एउटा भिडिओ पोस्ट गरेका छन्।
भिडिओमा नेपाली सेनाले गोली चलाएको देखिन्छ भने भाग्ने क्रममा एक जना व्यक्तिलाई गोली लागेर ढलेकोजस्तो दृश्य देखिन्छ।
हेर्नुस्, भिडियो लिंक, स्क्रिन रेकर्ड
यो तथ्यजाँच गर्दासम्म उक्त भिडियो १५ हजार जनाले हेरेका छन् भने २३ कमेन्ट र १६ पटक सेयर गरिएको छ।
तथ्य के हो ?
यस विषयमा तथ्यजाँच गर्न नेपालफ्याक्टचेकले जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापासँग टेलिफोन सम्पर्क गरेको छ। उनका अनुसार म्याग्दीमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
उनले भने, “म्याग्दीमा निर्वाचनको क्रममा कुनै झडप, बुथ कब्जाको प्रयास वा सुरक्षा निकायबाट गोली प्रहार भएको छैन। केही दिनअघि मतदान तथा सुरक्षा अभ्यासको क्रममा खिचिएको भिडिओलाई अहिले कसैले गलत सन्दर्भमा प्रयोग गरेको हुन सक्छ।”
उनका अनुसार फागुन १० गते म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा नमुना मतदान तथा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको थियो। अभ्यासका क्रममा सम्भावित झडप वा जोखिमपूर्ण अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सुरक्षा निकायले अभ्यास प्रदर्शन गरेका थिए। सोही क्रममा गोली चलाउने, भागदौड हुने जस्ता दृश्यहरू पनि प्रदर्शन गरिएको थियो।
यसपछि हामीले गुगलमा ‘म्याग्दीमा नमुना मतदान अभ्यास’ कीवर्ड प्रयोग गरेर खोजी गर्यौँ। खोजीका क्रममा बेनी अनलाइनले ‘बेनीमा नमुना मतदान अभ्यास’ शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो।
समाचार अनुसार फागुन १० गते म्याग्दीको बेनीस्थित खुल्लामञ्चमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको थियो। अभ्यासका क्रममा सम्भावित जोखिम र आपतकालीन परिस्थितिमा सुरक्षा निकायले कसरी प्रतिक्रिया जनाउने भन्ने प्रदर्शन गरिएको उल्लेख गरिएको छ।

त्यस्तै, ढोरपाटन न्यूजले पनि ‘निर्वाचन सफल बनाउन म्याग्दीमा नमुना अभ्यास’ शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो। उक्त समाचारमा निर्वाचनलाई भयरहित रूपमा सम्पन्न गराउन तथा आकस्मिक अवस्थालाई नियन्त्रण गर्न सुरक्षा अभ्यास गरिएको उल्लेख गरिएको छ।
हामीले भाइरल भिडिओलाई पनि नजिकबाट नियालेर हेर्यौँ। भिडिओको अन्तिमतिर करिब १२ सेकेन्डतिर सानो र ब्लर गरिएको अक्षरमा “बेनी खुल्ला मञ्चमा फागुन २१ गते निर्वाचनका लागि सुरक्षा अभ्यास” लेखिएको देखिन्छ। यसले उक्त भिडिओ अभ्यासको क्रममा खिचिएको भएको संकेत दिन्छ।
हेर्नुस्, स्क्रिनसट

यस आधारमा भाइरल भइरहेको भिडिओ फागुन १० गते म्याग्दीको बेनीमा गरिएको संयुक्त निर्वाचन सुरक्षा अभ्यासको क्रममा खिचिएको भएको पुष्टि हुन्छ। अहिले उक्त भिडिओलाई गलत क्याप्सनसहित सामाजिक सञ्जालमा फैलाइएको हो।
तथ्यजाँच
दावी : म्याग्दीमा बुथ कब्जा गर्न खोज्दा नेपाली सेनाले गोली चलायो।
दावीकर्ता : गणेश विष्ट नामक फेसबुक प्रयोगकर्ता।
तथ्यजाँच/निश्कर्ष : भ्रामक सूचना (Misleading) । म्याग्दीमा निर्वाचनको क्रममा बुथ कब्जा गर्ने प्रयास वा गोली चलेको कुनै घटना भएको छैन। फागुन १० गते बेनीमा गरिएको निर्वाचन सुरक्षा अभ्यासको भिडिओलाई गलत सन्दर्भ र क्याप्सनसहित फैलाइएको हो।
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।