अपुष्ट सूचना तथ्यजाँच वागमती सम्बन्धित प्रदेश

पाँच सय र हजारका नोट बन्द ? हल्ला मात्रै, निर्णय छैन


पाँच सय र हजारका नोट बन्द ? हल्ला मात्रै, निर्णय छैन

पछिल्लो समय सामाजिक सञ्जालमा नेपालमा ५०० र १००० रुपैयाँका नोट बन्द हुने तयारी भएको दावी व्यापक रूपमा फैलिएको छ। विशेषगरी छिट्टै बन्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले यस्तो निर्णय गर्न लागेको भनिएको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा यस्तो दावीलाई पुष्टि गर्ने कुनै आधिकारिक आधार फेला परेन।

के हो दावी ?

एक लाख ८८ हजार फलोअर्स भएको बीएन नेपाली खबर (BN Nepali Khabar) नामक फेसबुक पेज  मार्च १८, २०२६ मा एउटा भिडियो पोस्ट गरिएको छ।

‘५००–१००० का नोट बन्द गर्ने तयारी, रास्वपाको नजर कालो धन नियन्त्रणमा’ शीर्षकमा पोस्ट गरिएको भिडियोमा रास्वपा नेतृत्वको सरकारले ५०० र १००० रुपैयाँका नोट बन्द गर्ने योजना बनाएको दावी गरिएको छ।

उक्त भिडियो व्यापक रूपमा फैलिएको छ। हामीले बिहीबार दिउँसो तथ्य जाँच गर्दैगर्दा ३ हजारभन्दा बढी लाइक, १ हजारभन्दा बढी कमेन्ट र दुई हजारभन्दा बढी सेयर भइसकेको छ भने भिडियोलाई ७७ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियोको लिङ्कअर्काइभ लिङ्क

भिडियोमा दुई वटा वास्तविक फोटो र एउटा एआई जेनेरेटेड काल्पनिक फोटोको फ्रेम राखिएको छ।

सोही प्रकारको नोटबन्दीको तयारीबारे समाचार ग्यालेक्सी खबर (लिङ्क/अर्काइभ), ट्रेन्डिङ कुरा (लिङ्क/अर्काइभ), लालीगुराँस मिडिया नेटवर्क(लिङ्क/अर्काइभ)लगायतका पेजहरूमा पनि पछिल्लो समय अपलोड गरिएको छ ।

के हो तथ्य ?

यस दावीको तथ्य जाँच गर्न हामीले आधिकारिक स्रोतहरू खोज्यौँ। नेपालमा नोटबन्दीसम्बन्धी कुनै निर्णय भएको वा तयारी भइरहेको भन्नेबारे कुनै पनि आधिकारिक सरकारी निकाय, नेपाल राष्ट्र बैंक, विश्वसनीय मूलधारका सञ्चारमाध्यमहरूमा कुनै पनि आधिकारिक जानकारी फेला पर्न सकेन।

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. संजयप्रसाद मिश्रले नेपालफ्याक्टचेकसँगको कुराकानीमा यस्तो दावीबारे जानकारी नभएको बताए।

उनका अनुसार:

“नोटबन्दीको विषयमा सार्वजनिक भएका खबरहरू हेरेर हामी नै छक्क परेका छौँ। त्यस्तो कुनै निर्णय भएको हामीलाई थाहा छैन।”

यसका साथै, प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भए पनि नयाँ सरकार गठन भइसकेको छैन। रास्वपा वा त्यसका नेताहरूले पनि नोटबन्दीबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको हामीले भेटेनौँ।

पुरानो हल्ला पुनः दोहोरिएको

नेपालमा ५०० र १००० रुपैयाँका नोट बन्द गर्ने हल्ला नयाँ होइन।

विशेषगरी सन् २०१६ मा भारत सरकारले ५०० र १००० भारतीय रुपैयाँका नोट बन्द (demonetization) गरेपछि नेपालमा पनि यस्तै कदम चाल्नुपर्ने भन्ने बहस र अफवाहहरू सामाजिक सञ्जालमा देखिन थालेका थिए।

त्यसयता समय–समयमा सडक प्रदर्शन, सामाजिक सञ्जाल बहस र अफवाहहरूमार्फत् यस्ता दावीहरू पटक–पटक उठ्दै आएका छन्।

२०७८ सालमा पनि यस्तै हल्ला फैलिएको थियो, जसलाई नेपाल राष्ट्र बैंकले अफवाह भएको बताएको थियो।

तथ्य जाँच

दावी : नेपालमा ५०० र १००० रुपैयाँका नोट बन्द गर्ने तयारी भइरहेको छ।

दावीकर्ता : बीएन नेपाली खबर, ग्यालेक्सी खबर, ट्रेन्डिङ कुरा, लालीगुराँस मिडिया नेटवर्क लगायतका फेसबुक पेजहरू।

तथ्य/निष्कर्ष :अपुष्ट (Unverified)। नेपालमा ५०० र १००० रुपैयाँका नोट बन्द गर्ने “तयारी भइरहेको” भन्ने दावीलाई पुष्टि गर्ने कुनै प्रमाण फेला परेको छैन। यस्तो तयारी भइरहेको संकेत गर्ने कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन। त्यसैले सामाजिक सञ्जालमा फैलिएको दावी प्रमाणविहीन र भ्रामक रूपमा प्रस्तुत गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add