- सुरज घिमिरे
- चैत्र १५, २०८२

रमेश प्रसाईँले ‘रवि र बालेन अमेरिकी एजेन्ट’ भने ? भाइरल भिडियो सम्पादन गरिएको
सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–प्रवक्ता तथा सांसद रमेश प्रसाईँले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई ‘अमेरिकी एजेन्ट’ भनेको दावी फैलिएको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडियो तोडमोड (सम्पादन) गरी भ्रामक रूपमा प्रस्तुत गरिएको देखिन्छ।
के हो दाबी ?
एक लाख ९८ हजार फलोअर्स भएको रमेश लामा नामक फेसबुक पेजमा मार्च २४ मा एउटा भिडियो क्लिप पोस्ट गरिएको छ। ‘बोल्दा बोल्दै प्वाक्क मुखबाट सत्य निस्केपछि’ शीर्षकमा पोस्ट गरिएको उक्त भिडियोमा रमेश प्रसाईँले “यी बालेन, रवि अमेरिकी एजेन्ट हुन्…” भन्ने अभिव्यक्ति दिएको दावी गरिएको छ।
१६ सेकेन्डको उक्त क्लिप सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया, कमेन्ट र शेयरसहित फैलिएको छ। भिडियोलाई हामीले तथ्य जाँच गर्दासम्म तीन लाख २५ हजार पटक हेरिएको छ ।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले रास्वपा नेता रमेश प्रसाईँको सम्बोधनको उक्त भिडियोबाट केही स्क्रिनसटहरू लिएर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ।
गुगलमा रिभर्स इमेज सर्च गर्ने क्रममा हामीले गत जनवरी ३० मा ‘झापा-२ मा इन्दिरालाई जिताउन बालेन पत्नी सबिना मैदानमा-रमेशको दमदार मन्तव्य’ क्याप्सनसहित नामक टिकटक एकाउन्टमा पोस्ट गरिएको भिडियो भेट्यौँ।
१० मिनेट ३० सेकेन्डको उक्त भिडियोको मध्यतिर प्रसाईँले भनेका छन्, “अब यहाँ कसै कसैले भन्दै छन् अरे, यो त अमेरिकन एजेन्ट हुन् नि यिनीहरू त । यी बालेन रवि अमेरिकन एजेन्ट हुन् भन्छन् अरे । तपाईँले जनसमुदायलाई बुझाउनु पर्ने छ । एमसिसी यो देशमा पास हुँदै गर्दा रास्वपा भन्ने पार्टी पनि थिएन, बालेन्द्र र रवि राजनीतिमा पनि थिएनन् । तिनका बाले पास गराएको हो एमसिसी । तिनका बाले सिग्नेचर गरेर पास गराको हो एमसिसी।”
अर्थात्, उनले आफ्नो भनाइ नभई अरूले लगाएको आरोपको सन्दर्भ उल्लेख गरेका छन् “अब यहाँ कसैले भन्दै छन् अरे, यी बालेन रवि अमेरिकन एजेन्ट हुन् भन्छन् अरे…” भन्दै।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
पूरा भिडियो यहाँ हेर्न सकिन्छ।
पूर्ण भिडियोमा अर्थ फरक देखिन्छ। टिकटकमा अपलोड गरिएको पूरा भिडियो वेभ नेपाल नामक युट्युब च्यानलमा जनवरी ३० मा अपलोड गरिएको छ ।
वेभ नेपाल नामक युट्युब च्यानलमा अपलोड गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
भाइरल १६ सेकेन्डको भिडियोमा वाक्यको अघिल्लो भाग हटाइएको छ, सन्दर्भ काटिएको छ र नयाँ अर्थ सिर्जना गरिएको छ जसले दर्शकलाई प्रसाईँले प्रत्यक्ष रूपमा आरोप लगाएको जस्तो भ्रम पैदा गर्छ।
तथ्यजाँच
दावी : रमेश प्रसाईँले रवि लामिछाने र बालेन्द्र शाहलाई ‘अमेरिकी एजेन्ट’ भने।
दावीकर्ता : रमेश लामा नामक फेसबुक पेज।
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। भाइरल भिडियो मूल सन्दर्भबाट काटेर सम्पादन गरिएको हो। पूर्ण भिडियोमा प्रसाईँले उक्त आरोपलाई आफ्नो भनाइका रूपमा नभई अरूले लगाएको आरोपको रूपमा उल्लेख गरेका छन्। सन्दर्भ हटाएर प्रस्तुत गरिएकाले दावी भ्रामक हुन्छ।