तथ्यजाँच भ्रामक सूचना वागमती

‘चुनावका लागि ७ दिन विदा’ र ‘भारतमा शनिबार–आइतबार मात्रै चुनाव’ हुने दावी भ्रामक


‘चुनावका लागि ७ दिन विदा’ र ‘भारतमा शनिबार–आइतबार मात्रै चुनाव’ हुने दावी भ्रामक

पत्रकार समा थापाले चुनावका लागि ७ दिन बिदा दिएको तथा भारतमा शनिबार वा आइतबार मात्रै चुनाव हुने गरेको दावीसहित फेसबुक पोस्ट गरेकी छिन्।

तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा उक्त दुवै दावी भ्रामक रहेको पुष्टि भएको छ।

के हो दावी ?

फेसबुकमा १ लाख १३ हजार फलोअर्स भएकी पत्रकार समा थापाले मार्च १ को दिन राति एउटा पोस्ट गर्दै संसारमा कुन देशमा चुनाव आयो भन्दैमा ७ दिन विदा हुने रहेछ भनेर प्रश्न गर्दै नेपालमा फागुन २१ को चुनावका लागि ७ दिन विदा दिइएको सन्दर्भमा टिप्पणी गर्दै छिमेकी देश भारतमा शनिवार वा आइतबार विदाको दिन पारेर मात्रै चुनाव हुने गरेको समेत दावी गरेकी छिन्।

यो तथ्य जाँच गर्ने समयसम्ममा समा थापाको फेसबुक पोष्टमा ६ हजार ४ सय पटक रियाक्ट भएको छ भने १ हजार ७ सय वटा कमेन्ट आएको छ। यस्तै ६१ पटक सेयर भएको छ ।

हेर्नुहोस् समा थापाको फेसबुक पोष्टको स्क्रिनसट

समा थापाको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

समा थापाले दावी गरेअनुसार चुनावमा सात दिन विदा हो कि होइन भनेर हामीले गृह मन्त्रालयको आधिकारिक वेबसाइट हेर्‍यौँ। गृह मन्त्रालयको विज्ञप्तिमा सात दिन विदा उल्लेख छैन।

चुनावको अघिल्लो दिन फागुन २० गते, चुनावको दिन २१ गते र चुनावको भोलिपल्ट २२ गते मात्रै सार्वजनिक विदा दिइएको गृह मन्त्रालयको सार्वजनिक विदासम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोसु गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक विदासम्बन्धी सूचनाको स्क्रिनसट

गृह मन्त्रालयको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

त्यसपछि हामीले नेपालीपात्रोमा गएर हेर्‍यौँ। नेपालीपात्रोमा देखिए अनुसार फागुन १८ गतेदेखि २४ गतेसम्म ७ दिन सार्वजनिक विदा भएको भेटियो। तर थापाले दावी गरेअनुसार ७ दिन नै चुनावी प्रयोजनका लागि भने होइन।

डिजिटल पात्रो नेपाली पात्रोका अनुसार फागुन १८ गते पहाडी जिल्लामा मात्रै होलीको विदा हो भने १९ गते मधेसका जिल्लामा मात्रै। २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको विदा परेको छ। निर्वाचन विदा २०, २१ र २२ गते मात्रै भएको नेपालीपात्रोमा देख्न सकिन्छ ।

हेर्नुहोस् हाम्रो पात्रोको स्क्रिनसट

भारतमा के छ ?

पत्रकार थापाले भारतमा शनिबार र आइतबार पारेर मात्रै चुनाव हुने दावी गरेको कारण हामीले भारतमा भएको चुनावको मितिबारे पनि खोजी गर्‍यौँ।

भारतको आधिकारिक निर्वाचन तालिका जाँच गर्दा सन् २०२४ को अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा लोकसभा चुनाव भएको भेटियो।

यसअनुसार

सन् २०२४ को अप्रिल १९ को दिन शुक्रवार,

अप्रिल २६ को दिन शुक्रवार,

मे ९ को दिन मंगलवार,

मे १३ को दिन सोमवार,

मे २० को दिन सोमवार,

मे २५ को दिन शनिवार र

जुन १ को दिन शनिवार परेको भेटियो।

७ चरणमा भएको चुनावमा शनिवार मे २५ र जुन १ को दिन मात्रै परेको देखिन्छ भने आइतबार चुनाव भएको छैन ।  भारतको आधिकारिक क्यालेन्डर हेर्न लिंक यहाँ छलोकसभा निर्वाचन २०२४ को लिंक यहाँ छ

हामीले भारतको लोकसभा चुनाव २०१९ को तालिका पनि खोजी गरेका छौँ । भारतको मुख्य निर्वाचन अधिकारी दिल्लीको वेबसाइट अनुसार सन् २०१९ मा अप्रिल ११ देखि मे १९ सम्म ७ चरणमा चुनाव भएको थियो ।

तालिका अनुसार २०१९ को अप्रिल ११ तारिख र अप्रिल १८ तारिखको दिन बिहीवार परेको थियो। त्यस्तै अप्रिल २३ को दिन मंगलवार, अप्रिल २९ को दिन सोमवार मे ६ को दिन मंगलवार, मे १२ को दिन आइतबार र मे १९ को दिन आइतबार परेको थियो।

७ चरणमा भएको चुनावमा शनिवार चुनाव भएको देखिएन भने आइतबार मे १२ र मे १९ को दिन मात्रै भएको भेटियो ।

हेर्नुहोस् मुख्य निर्वाचन अधिकारी दिल्लीको वेबसाईटमा उल्लेख भएको निर्वाचन तालिकाको स्क्रिनसट

सरकारी वेबसाइटको ओरिजिनल लिंक यहाँ छ  ।

त्यसपछि हामीले भारतमा भएको सन् २०१४ को चुनाव तालिका पनि खोजेका छौँ। भारत सरकारको परराष्ट्र मन्त्रालयमा भेटिएको निर्वाचन तालिका अनुसार

अप्रिल ७ को दिन सोमवार,

९ को दिन बुधवार,

१० को दिन बिहीवार,

१२ को दिन शनिवार,

अप्रिल १७ को दिन बिहीवार,

अप्रिल २४ को दिन बिहीवार,

अप्रिल ३० को दिन मंगलवार,

मे ७ को दिन मंगलवार र

मे १२ को दिन सोमवार परेको छ ।

९ चरणमा भएको सन् २०१४ को चुनावमा शनिवार अप्रिल १२ को दिन एक चरणको मात्रै परेको छ ।

हेर्नुहोस् सन् २०१४ मा भएको निर्वाचन तालिकाको स्क्रिनसट

सन् २०१४ को निर्वाचन तालिकाको ओरिजिनल लिंक यहाँ छ  ।

अर्थात् भारतमा शनिबार वा आइतबार मात्रै चुनाव हुन्छ भन्ने दाबी तथ्यगत रूपमा गलत छ।

तथ्य जाँच

दावी : चुनावका लागि ७ दिन विदा, भारतमा शनिबार वा आइतबार मात्रै चुनाव हुने गरेको।

दावीकर्ता : पत्रकार समा थापा।

तथ्य/निश्कर्ष : भ्रामक (Misleading) । गृह मन्त्रालयको आधिकारिक सूचना अनुसार चुनाव प्रयोजनका लागि ७ दिन होइन ३ दिन मात्र सार्वजनिक बिदा दिइएको हो।
भारतमा पनि विभिन्न बारमा निर्वाचन हुने गरेको तथ्य आधिकारिक निर्वाचन तालिकाले देखाउँछ। यस आधारमा समा थापाको दाबी भ्रामक रहेको पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add