कोशी तथ्यजाँच मिथ्या सूचना सम्बन्धित प्रदेश

निर्वाचन हारेपछि सुनील शर्माले आफ्नो अस्पतालमा निःशुल्क उपचार सेवा बन्द गरे भन्ने दावी गलत


निर्वाचन हारेपछि सुनील शर्माले आफ्नो अस्पतालमा निःशुल्क उपचार सेवा बन्द गरे भन्ने दावी गलत

कांग्रेस नेता तथा चिकित्सक डा. सुनिल शर्माले निर्वाचनमा पराजित भएपछि आफ्नो अस्पतालमा दिँदै आएको निःशुल्क उपचार सेवा बन्द गरेको दावी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी सही नभएको पुष्टि भएको छ। डा. शर्माले आफ्नो अस्पतालमा दिइरहेको निःशुल्क सेवा बन्द गर्ने घोषणा गरेका छैनन्।

दावी के हो ?

फेसबुकमा ८ लाख ७७ हजार फलोअर्स रहेको ‘नयाँ पुस्ता डटकम’ नामक फेसबुक पेजले मार्च ९ मा ‘निर्वाचनमा पराजित भएपछि कांग्रेसका नेता सुनिल शर्माले अस्पतालमा दिँदै आएको निःशुल्क उपचार सेवा बन्द गरेका छन्’ भन्ने क्याप्सनसहित डा. शर्माको फोटो पोस्ट गरेको छ।

पोस्टमा राखिएको फोटोमा पनि ‘कांग्रेस नेता सुनिल शर्माले आफ्नो प्राइभेट अस्पतालमा दिँदै आएको निःशुल्क सेवा बन्द गरेका छन्’ भन्ने दावी गरिएको छ।

यो तथ्यजाँच गर्ने समयसम्म उक्त पोस्टमा १५ हजारभन्दा बढी प्रतिक्रिया, ४ हजार ४ सयभन्दा बढी कमेन्ट र २५० भन्दा बढी शेयर भइसकेका छन्।

हेर्नुस्, स्क्रिनसट। अर्काइभ लिंक

तथ्य के हो ?

यस विषयमा तथ्यजाँच गर्न हामीले सर्वप्रथम नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ हेऱ्यौँ।

उक्त मापदण्डअनुसार निजी तथा सरकारी स्वास्थ्य संस्थाले निश्चित सामाजिक दायित्व पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। मापदण्डको सामाजिक सेवा इकाइसम्बन्धी प्रावधानअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याएर निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने अनिवार्य व्यवस्था छ।

उक्त मापदण्डको (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश (१० ) प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ ।

हेर्नुस्, स्क्रिनसट । पिडिएफ लिंक

यसैले यो मापदण्ड पालना नगरी अस्पताल सञ्चालन गर्न मिल्दैन।

याे विषयमा थप बुझ्नका लागि हामीले अस्पतालका सञ्चालक डा. सुनिल शर्मासँग टेलिफाेन सम्पर्क गर्‍यौँ। विपन्न नागरिकलाई अस्पतालले दिइरहेकाे छुट तथा निःशुल्क उपचार यथावत रहेकाे बताए। उनले भने, “मलाई बदनाम गर्न अफवाह फैलाइएकाे हाे, एउटा चुनाव हार्दैमा मेेराे समाज सेवा राेकिन्न, विपन्न नागरिकलाई राज्यले छुट्याएकाे निःशुल्क उपचार देखि हामी आफैले दिइरहेका छुट लगायतका अन्य सुविधा यथावत छ,” डा. शर्माले ले नेपालफ्याक्टचेकसँग भने।

यस विषयमा डा. शर्माले सामाजिक सञ्जालमा पनि लेखेका छन। उनको स्टाटस हेर्न यहाँयहाँ क्लिक गर्नुस् ।

त्यसैले सामाजिक सञ्जालमा फैलाइएको ‘निर्वाचनमा पराजित भएपछि निःशुल्क सेवा बन्द गरिएको’ भन्ने दावी तथ्यसँग मेल नखाने देखिन्छ।

तथ्यजाँच

दावी : कांग्रेस नेता डा. सुनिल शर्माले निर्वाचनमा पराजित भएपछि आफ्नो अस्पतालमा दिँदै आएको निःशुल्क उपचार सेवा बन्द गरे।

दावीकर्ता : नयाँ पुस्ता डटकम लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यजाँच : मिथ्या सूचना। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार अस्पतालले विपन्न तथा असहाय बिरामीका लागि कम्तीमा १० प्रतिशत शैया निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने अनिवार्य व्यवस्था छ। साथै डा. सुनिल शर्माले पनि आफ्नो अस्पतालमा दिइँदै आएको निःशुल्क सेवा बन्द नगरेको स्पष्ट गरेका छन्। त्यसैले उक्त दावी सही होइन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add