- सुरज घिमिरे
- चैत्र २, २०८२

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी
वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै भोट मागेर जितेपछि गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री बनेको दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दाबी भ्रामक रहेको पुष्टि भएको छ। २०५६ सालको निर्वाचनपछि घोषणा अनुसार कृष्णप्रसाद भट्टराई नै प्रधानमन्त्री बनेका थिए। यद्यपि, केही समयपछि उनलाई हटाएर कोइराला प्रधानमन्त्री भने बनेका हुन्।
के हो दाबी ?
४ लाख ६३ हजार फलोअर्स भएका युट्युबर तथा इन्फ्लुएन्सर टङ्क दाहाल ले मार्च ८, २०२६ मा एउटा पोस्ट सार्वजनिक गरेका छन्। पोस्टमा नेपाली कांग्रेसका स्वर्गीय नेताहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको फोटो राखेर यस्तो दाबी गरिएको छ:
“त्यो बेला कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै भोट मागेर जितेपछि गिरिजा प्रसाद कोइराला आफै प्रधानमन्त्री भए।”
यो पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। सोमबार बिहान तथ्यजाँच गर्ने समयसम्म पोस्टमा हजारौँ लाइक, कमेन्ट र शेयर आएका छन्।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको लिंक र अर्काइभ लिंक
उक्त पोस्टलाई अन्य फेसबुक प्रयोगकर्ताले पनि साभार गर्दै पोस्ट गरेका छन्। धेरै भाइरल भएको यो विषयबारे सही गलत पत्ता लगाउन हामीलाई फेसबुक मेसेजमार्फत् अनुरोध आएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले २०५६ सालको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐतिहासिक विवरणहरू खोज्यौँ। खोजीका क्रममा विभिन्न समाचार स्रोत, पुस्तक तथा सरकारी अभिलेखहरूमा उक्त घटनाबारे विवरण भेटियो।
सबैभन्दा पहिले ‘कृष्णप्रसाद भट्टराई’, ‘२०५६ निर्वाचन’, ‘प्रधानमन्त्री उम्मेदवार कांग्रेस’ लगायतका की–वर्ड प्रयोग गरेर गुगल सर्च गर्यौँ। सो क्रममा अनलाइनखबरमा २०८२ माघ ९ गते प्रकाशित ‘कांग्रेसमा दोस्रो प्रयोग : किशुनजीपछि गगन थापा प्रधानमन्त्रीका उम्मेदवार’ शीर्षकको समाचार फेला पर्यो।
समाचारमा पत्रकार तथा लेखक रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्ष’ उद्धृत गर्दै वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव लडेको उल्लेख गरिएको छ।
हेर्नुहोस्, स्क्रिनसट :

अनलाइन खबरमा प्रकाशित उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
त्यसपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट जाँच गर्यौँ। वेबसाइटमा उपलब्ध विवरण अनुसार कृष्णप्रसाद भट्टराईले दोस्रो पटक वि.सं. २०५६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख छ।
हेर्नुहोस्, स्क्रिनसट :

त्यस्तै, भट्टराईका तत्कालीन प्रेस सल्लाहकार किशोर नेपालद्वारा लिखित ‘मेरो समय’ (आत्मकथा) पुस्तकमा पनि भट्टराईले २०५६ चैत ३ गते संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ।
हेर्नुहोस्, पुस्तकमा उल्लेखित केही अंशको स्क्रिन सट :

यसपछि मात्रै वि.सं. २०५६ चैत ९ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखमा कोइरालाको दोस्रो कार्यकाल यही मितिबाट सुरु भएको उल्लेख गरिएको छ।
हेर्नुहोस्, स्क्रिन सट :

यसले के देखाउँछ भने निर्वाचनपछि घोषणा अनुसार पहिला भट्टराई नै प्रधानमन्त्री बनेका थिए। पछि उनले राजीनामा दिएपछि मात्रै कोइराला प्रधानमन्त्री बनेका हुन्।
तथ्य जाँच
दावी : कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै भोट मागेर जितेपछि गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री बने।
दावीकर्ता : टङ्क दाहाल लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य/निष्कर्ष : भ्रामक सूचना। वि.सं. २०५६ सालको निर्वाचनपछि घोषणा अनुसार कृष्णप्रसाद भट्टराई नै संसदीय दलका नेता हुँदै प्रधानमन्त्री बनेका थिए। उनले २०५६ चैत ३ मा राजीनामा दिएपछि मात्रै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका हुन्। त्यसैले भट्टराईलाई प्रधानमन्त्री भन्दै भोट मागेर जितेपछि कोइराला आफै प्रधानमन्त्री बनेको भन्ने दाबी गलत सन्दर्भमा प्रस्तुत गरिएको हो।