- टेकमान शाक्य
- फाल्गुन २८, २०८२

बीबीसीले चितवनको भनेको भीरको बाटोबाट निर्वाचन सामग्री बोकेको भिडिओ वास्तवमा रुकुम पूर्वको
चितवनको इच्छाकामना गाउँपालिकामा रहेको भीरको बाटोबाट निर्वाचन सामग्री ओसार्दाको डरलाग्दो क्षण भन्दै एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडिओ बीबीसी नेपाली सेवाको सामाजिक सञ्जाल र नेपाल प्रहरीका आधिकारिक फेसबुक पेजमार्फत पनि पोस्ट गरिएको छ।
तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा भिडिओ चितवनको इच्छाकामना गाउँपालिकाको नभई रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा खिचिएको पुष्टि भएको छ।
के हो दावी ?
४४ लाख फलोअर्स रहेको बीबीसी नेपाली सेवाको भेरिफाइड फेसबुक पेजबाट फागुन २५ (मार्च ९, २०२६) मा बेलुकी ६ बजेर १४ मिनेटमा ५४ सेकेन्डको एउटा भिडिओ क्लिप पोस्ट गरिएको छ। भिडिओमा केही व्यक्ति र नेपाल प्रहरीले मिलेर भीरालो र अप्ठ्यारो बाटोबाट निर्वाचन सामग्री ओसारिरहेको देखिन्छ।
बीबीसीले उक्त दृश्य चितवनको इच्छाकामना गाउँपालिकाको भूगोल भएको दावी गरेको छ। यसबारे बिहीबार बिहान तथ्यजाँच गर्ने समयसम्ममा भिडिओ पोष्टमा १५ हजार पटक रियाक्ट भएको छ भने ३ सय ९१ पटक कमेन्ट भएको छ । ७ सय पटक सेयर भएको छ भने ५ लाख ६९ पटक हेरिएको छ ।
हेर्नुहोस् बिबीसीले गरेको पोष्टको स्किन रेकर्ड
बीबीसीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
उही भिडिओ नेपाल प्रहरीको भेरिफाइड फेसबुक पेजबाट पनि पोस्ट गरिएको छ। नेपाल प्रहरीले भने भिडिओ कहाँ खिचिएको हो भन्ने स्पष्ट उल्लेख गरेको छैन। ‘शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले अथक प्रयास गरेको’ भन्ने क्याप्सनसहित भिडिओ फागुन २३ (मार्च ७) मा दिउँसो १ बजेर १९ मिनेटमा पोस्ट गरिएको छ।
नेपाल प्रहरीको पोस्टमा ३० हजारभन्दा बढी प्रतिक्रिया, ७१४ कमेन्ट र ८०० भन्दा बढी शेयर भइसकेका छन्। भिडिओ ५ लाख ९८ हजारभन्दा बढी पटक हेरिएको छ।
हेर्नुहोस् नेपाल प्रहरीले गरेको पोष्टको स्किनसट
नेपाल प्रहरीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
यो भिडिओ नेपाल प्रहरीको आधिकारिक पेजबाट सार्वजनिक भएको देखिएपछि हामीले सबैभन्दा पहिले नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेसँग सम्पर्क गर्यौँ। उनले भिडियो चितवनको इच्छाकामना गाउँपालिकाको भएको दावी गरे।
उनका अनुसार भिडिओ सर्वसाधारणले खिचेर उपलब्ध गराएको थियो र उक्त व्यक्तिले नै स्थान इच्छाकामना गाउँपालिका भएको बताएपछि प्रहरीले पनि त्यही आधारमा प्रयोग गरेको हो। बीबीसीलाई पनि भिडिओ प्रहरीले नै उपलब्ध गराएको उनले बताए।
यसपछि हामीले चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङसँग सम्पर्क गर्यौँ। उनले आफ्नो गाउँपालिकामा भिडिओमा देखिएको जस्तो भीरालो र जोखिमपूर्ण बाटो कतै पनि नभएको बताए।
उनका अनुसार इच्छाकामना गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् र सबै स्थानमा गाडी पुग्ने सडक रहेको छ। भिडिओ आफूले पनि हेरेको तर त्यस्तो भूगोल गाउँपालिकाभित्र कतै नभएको उनले बताए।
त्यसैगरी हामीले अनलाइन न्युजपोर्टल इच्छाकामनान्युजका कार्यकारी सम्पादक चित्रबहादुर गुरुङसित पनि सम्पर्क गर्यौँ। उनले पनि आफू इच्छाकामनाको भूगोलसँग राम्रोसँग परिचित रहेको र भिडिओमा देखिएको ठाउँ इच्छाकामनाको हुनै नसक्ने दावी गरे।
त्यसपछि हामीले भिडियोको एउटा फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। खोजी गर्दा पूर्णबहादुर ओली नामक फेसबुक प्रयोगकर्ताले सोही स्थानबाट खिचिएको अर्को भिडियो पोस्ट गरेको भेटियो।
उनको फेसबुक प्रोफाइलमा उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुकुम पूर्वमा कार्यरत रहेको उल्लेख गरिएको छ। भिडियोमा अन्तिमतिर उनी स्वयं पनि देखिन्छन्।
हामीले उनलाई टेलिफोनबाट सम्पर्क गर्दा उनले उक्त भिडियो रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा खिचिएको बताए। भिडियो आफ्नै मोबाइलबाट खिचिएको उनले बताए।
हेर्नुहोस् पूर्णबहादुर ओलीको फेसबुकको स्क्रिनसट

पूर्ण बहादुर ओलीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
हामीले भिडियोको मेटाडाटा जाँच गर्न सम्पादन नगरिएको मूल भिडियो उपलब्ध गराउन आग्रह गर्यौँ। उनले उपलब्ध गराएको भिडियोको मेटाडाटा अनुसार भिडियो iPhone 13 को ब्याक क्यामेराबाट खिचिएको देखिन्छ।
हेर्नुहोस् भिडिओमा उपलब्ध मेटाडाटा

मेटाडाटामा उपलब्ध GPS लोकेसन अनुसार भिडियो रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा पर्ने भीरालो स्थानमा खिचिएको पुष्टि हुन्छ।
हेर्नुहोस् मेटाडाटामा उपलब्ध GPS लोकेसनको स्क्रिनसट

GPS लोकेशन हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नेपाल प्रहरी र बीबीसीले आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भिडिओ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहायक मतदान अधिकृतको रुपमा खटिएका जनक ओलीले खिचेको उनले हामीलाई बताए।
त्यसपछि हामीले सहायक मतदान अधिकृतको रुपमा खटिएका जनक वलीलाई पनि टेलिफोनमा सम्पर्क गर्यौँ । उनले पनि त्यो भिडिओ आफैंले खिचेको बताए ।
उनका अनुसार भिडिओ आफूले सामाजिक सञ्जालमा पोस्ट गरेको भए पनि बीबीसी वा नेपाल प्रहरीलाई भने उपलब्ध गराएको थिएन। उनले मार्च ६ मा बेलुकी ५ बजेर ३३ मिनेटमा १ मिनेट ४३ सेकेन्डको भिडियो फेसबुकमा पोस्ट गरेको देखिन्छ।
हेर्नुहोस् जनक वलिले गरेको पोष्टको स्क्रिनसट
जनक वलिको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
उनले नेपाल फ्याक्टचेकलाई ६ मिनेट २१ सेकेन्डको सम्पादन नगरिएको मूल भिडियो पनि उपलब्ध गराए। मेटाडाटा अनुसार उक्त भिडियो फागुन १८ गते (मार्च २) दिउँसो २ बजेर ४१ मिनेटमा खिचिएको देखिन्छ। भिडियो iPhone 13 Pro को ब्याक क्यामेराबाट खिचिएको हो। यद्यपि त्यसमा जिपिएस लोकेसन भने देखिएन।
हेर्नुहोस् सम्पादन नगरिएको भिडिओमा देखिएको मेटाडाटा विवरण

थप पुष्टि गर्न हामीले रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीलाई पनि सम्पर्क गर्यौँ। उनले भिडियो आफ्नो गाउँपालिकाको भूगोलसँग मिल्ने बताए।
उनका अनुसार भिडियोमा देखिएको बाटो सिस्ने गाउँपालिका–२ मा पर्ने र वडा नम्बर १ जाने बाटोको क्षेत्र हो।
तथ्य जाँच
दावी : चितवनको इच्छाकामना गाउँपालिकामा रहेको भीरको बाटोबाट निर्वाचन सामग्री ओसार्दाको भिडिओ।
दावीकर्ता : बीबीसी नेपाली सेवा र नेपाल प्रहरी।
तथ्य : भ्रामक सूचना। गलत सन्दर्भमा प्रस्तुत गरिएको भिडियो (Miscontextualized video)। नेपाल फ्याक्टचेकले गरेको विश्लेषण, प्रत्यक्ष स्रोतसँगको पुष्टि तथा भिडियोको मेटाडाटा जाँचका आधारमा उक्त भिडियो चितवनको इच्छाकामना गाउँपालिकाको नभई रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा फागुन १८ गते खिचिएको पुष्टि भएको छ। भिडियो खिच्ने व्यक्तिले पनि स्थान र मिति पुष्टि गरेका छन् र भिडियोको GPS मेटाडाटाले समेत सोही स्थान देखाउँछ। त्यसैले चितवनको इच्छाकामना गाउँपालिकाको भन्दै सार्वजनिक गरिएको दावी तथ्यसँग मेल खाँदैन।