- टेकमान शाक्य
- चैत्र १०, २०८२

हर्क साम्पाङको दार्चुला पुल अभियान टोलीबारे भाइरल फोटो एआईबाट बनेको
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको अग्रसरतामा दार्चुलामा पुल निर्माणमा लागिरहेको भनिएको सर्वेक्षण टोलीले मासु र बियर खाएको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा यो फोटो एआईले बनाएको पाइएको छ।
के हो दावी ?
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको अग्रसरतामा दार्चुलामा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरिएको छ। यसका लागि चन्दा संकलनसमेत भइरहेको छ।
यही सन्दर्भमा Suraj Leembu नामक फेसबुक प्रयोगकर्ताले २२ मार्च २०२६ मा एउटा तस्बिरसहित पोस्ट सार्वजनिक गर्दै दार्चुला पुल निर्माण सर्वेक्षण टोली होटलमा मासु र बियरमा मस्त भएको दावी गरेका छन्।
पोस्टमा जनताबाट संकलित चन्दाको रकम दुरुपयोग भएको आरोप समेत लगाइएको छ। पोस्टमा १ हजारभन्दा बढी प्रतिक्रिया, सयौँ कमेन्ट र दर्जनौँ शेयर भएका छन्।

पोस्टको ओरिजिनल लिंक र अर्काइभ लिंक
यस्तै दावी Kiran Magar नामक प्रयोगकर्ताले पनि शेयर गरेका छन्।

पोस्टको ओरिजिनल लिंक यहाँ छ।
के हो तथ्य ?
फोटोको तथ्य जाँच गर्न भाइरल भएको फोटो डाउनलोड गरी गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। यस क्रममा Mahendra Pun नामक फेसबुक प्रयोगकर्ताले सोही स्थानका वास्तविक फोटोहरू सार्वजनिक गरेको भेटियो।

उनको पोस्टको लिंक यहाँ हेर्न सकिन्छ।
उक्त स्थानमा भएको गतिविधि सम्बन्धी फेसबुक लाइभ भिडियो पनि उपलब्ध छ, जसमा भाइरल फोटोमा देखिएको जस्तो दृश्य देखिँदैन।
लाइभ भिडियोको लिंक यहाँ हेर्न सकिन्छ।
त्यसपछि हामीले भाइरल फोटोलाई अलि सूक्ष्म ढंगले हेर्यौँ। हामीले फोटोमा गुगलको एआई जेमिनाईको लोगो भेट्यौँ ।
भाइरल तस्बिरमा एआईको प्रयोग भएको छ कि छैन भनेर हामीले गुगल synthid जाँच गरेर हेर्यौँ । नतिजामा फोटोको सम्पूर्ण वा केही भाग गुगलको एआई प्रयोग गरेर सिर्जना वा सम्पादन गरिएको भेटियो ।
फोटो विश्लेषण गरेर हेर्दा पेय पदार्थका क्यान र पुरुषको सर्टमा रहेका लोगो र लेबलहरु ध्यानपूर्वक हेर्ने हो भने त्यहाँको चिन्ह र अक्षरहरु बिग्रिएको देखिन्छ । खाना तथा गिलासजस्ता वस्तुहरु प्रस्तुत गरिएको तरिका पनि असामान्य देखिन्छ । जुन एआईमार्फत बनाईएका सामग्रीका सामान्य संकेतहरु हुन् ।
गुगलको synthid ले दिएको नतिजा यस्तो छ ।

फोटोलाई अन्य एआई डिटेक्शन टुलमार्फत जाँच गर्दा:
- Hive Moderation ले ७३% भन्दा बढी एआई सम्भावना देखायो
- ImageWhisperer ले पनि एआई निर्मित भएको संकेत गर्यो
तथ्यजाँच
दावी : दार्चुला पुल निर्माण सर्वेक्षण टोलीको दावी गरिएको फोटो।
दावीकर्ता : Suraj Leembu र Kiran Magar नामक फेसबुक प्रयोगकर्ता।
तथ्य/निष्कर्ष : मिथ्या (False)। दार्चुला पुल निर्माण सर्वेक्षण टोलीले होटलमा मासु र बियर सेवन गरेको दावी पुष्टि गर्ने कुनै प्रमाण फेला परेको छैन। बरु भाइरल फोटो विभिन्न एआई डिटेक्शन उपकरणहरूले कृत्रिम रूपमा निर्माण गरिएको देखाएका छन्। वास्तविक तस्बिर र भिडियोमा यस्तो गतिविधि नदेखिएकाले एआई निर्मित फोटो प्रयोग गरेर गलत सन्दर्भमा मिथ्या सूचना फैलाइएको पुष्टि हुन्छ।