- सुरज घिमिरे
- फाल्गुन १८, २०८२

नझुक्किनुस्, इरानका सर्वोच्च नेताको शव भग्नावशेष मुनि पुरिएको भाइरल फोटो सही होइन
अमेरिकी–इजरायली सैन्य कारबाहीमा मृत्यु भएका भनिएका इरानका सर्वोच्च नेता अलि खामेनेइको शव भग्नावशेषमुनि पुरिएको देखाउने एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा उद्धारकर्मीहरूले टर्च लाइट बालेर शव निकाल्ने प्रयास गरिरहेको दृश्य देखिन्छ।
तर, नेपालफ्याक्टचेकको विश्लेषणले यो फोटो एआईबाट बनाइएको देखाएको छ।
के हो दाबी ?
पूर्व सचिव भीम उपाध्याय ले आइतबार दिउँसो फेसबुकमा ‘इरानी मिडियाले जारी गरेको खामेनाईको फोटो’ दावी गर्दै पोस्ट गरेको फोटोमा इजरायली-अमेरिकी आक्रमणमा मृत्यु भएका इरानी सर्वोच्च नेता अली खामेनीको शव भग्नावशेषमुनि रहेको देखाइएको छ भने उद्धारकर्मीहरूले उद्धार गरिरहेको देखिन्छ ।
तीन लाख ८५ हजार फलोअर्स भएको उपाध्यायको फेसबुकमा हामीले आइतबार राति तथ्य जाँच गर्दै गर्दा ४ हजार ९ सय लाइक, दुई सय ९२ कमेन्ट र एक सय २४ पटक शेयर गरिएको छ।
हेर्नुहोस्, स्क्रिनसट :

(उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क)
उक्त फोटोलाई अरु थुप्रैले सामाजिक सञ्जालका प्लेटफर्महरूमा पोस्ट गरेका छन् ।
हेर्नुहोस्, स्क्रिन भिडियो :
के हो तथ्य ?
इरानका सर्वोच्च नेता अली खामेनेइको मृत्युसम्बन्धी समाचार एपी, न्युयोर्क टाइम्स, अलजजिरा, एनबीसी न्युज लगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि प्रकाशित गरेका छन्।
तर कुनै पनि आधिकारिक सञ्चारमाध्यमले यो फोटो प्रयोग गरेका छैनन्।
यो फोटो इरानी एक्स प्रयोगकर्ता @irantimes9 ले सुरुमा राखेको थियो र त्यसलाई ४० लाख पटक हेरिएको थियो। हाल यो अकाउन्टले त्यो फोटो हटाइसकेको छ। हेर्नुस् अर्काइभ लिङ्क।
हामीले फोटोलाई गुगल एआईबाट बनाइएको हो कि हैन जाँच्न SynthID जाँच गर्यौँ। गुगलले आफ्नो एआई टुलबाट बनेका फोटो र भिडियोमा आँखाले देख्न नसकिने गरी SynthID वाटरमार्क राख्ने गर्छ। यो फोटोमा वाटरमार्क भेटियो। परीक्षणको विवरण
फोटोलाई ध्यान दिएर हेर्दा खामेनेइको भनिएको शवमाथि भग्नावशेषमा एक उद्धारकर्मी सिधै उभिएको देख्न सकिन्छ। वास्तवमा यस्तो अवस्थामा घाइते र मृतकहरूलाई सावधानीपूर्वक बाहिर निकाल्ने प्रयास गरिन्छ।
अरु एआई-डिटेक्सन उपकरणहरू मार्फत् यस फोटोको फरेन्सिक विश्लेषण गर्दा Undetectable.ai, AI or Not, Sightengine, Hive Moderation, र Truth Scan ले यसलाई एआई-निर्मित (AI-generated) हुनसक्ने संकेत गरे।
यो फोटोबारे पाकिस्तानको आइभेरिफाइ र कंगोको कंगोचेकले पनि तथ्य जाँच गरी एआईबाट बनाइएको फोटो भएको पुष्टि गरिसकेका छन्।
तथ्य जाँच
दावी : इरानका सर्वोच्च नेता अली खामेनीको शव भग्नावशेष मुनि पुरिएको र उद्धारकर्मीहरूले उद्धार गर्दै गरेको भाइरल फोटो ।
दावीकर्ता : भीम उपाध्याय सहित थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य : भ्रामक । इरानका सर्वोच्च नेता अली खामेनेइको इजरायली–अमेरिकी आक्रमणमा मृत्यु भएको खबर इरानी सरकारी मिडियासहित अन्तर्राष्ट्रिय मिडियाहरुले पनि दिएका छन्। तर, उनको शवको फोटो सार्वजनिक भएको छैन। भाइरल फोटो भने एआई निर्मित भएको गुगलको SynthID र अरु टुलहरुको विश्लेषणबाट प्रष्ट हुन्छ।

