तथ्यजाँच भ्रामक सूचना वागमती

धादिङमा गोली चलेको दावी गलत, भाइरल भिडिओ भ्रामक


धादिङमा गोली चलेको दावी गलत, भाइरल भिडिओ भ्रामक

देशभर मतदान चल्दै गर्दा धादिङमा पनि गोली चलेको र चुनाव रद्द भइसकेको दावीसहितको १ मिनेट १७ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा गोली चलेको र चुनाव रद्द भएको दावी तथा भिडिओ भ्रामक भएको पुष्टि भएको छ।

के हो दावी ?

निरन्तर नेपाली कम्युनिष्ट पार्टीको पक्षमा सामग्री पोस्ट गर्दै आएका ५६ हजार फलोअर्स भएका प्रकाश चौलागाईं नामक फेसबुक प्रयोगकर्ताले फाल्गुन २१ गते दिउँसो १२ बजेर १३ मिनेटमा १ मिनेट १७ सेकेन्डको एउटा भिडिओ पोस्ट गरेका छन्।

पोस्टमा धादिङमा गोली चलेको र निर्वाचन रद्द भएको दावी गरिएको छ। यो तथ्यजाँच गर्ने समयसम्म उक्त भिडिओमा २ हजार २ सय प्रतिक्रिया, ४ सय ५५ कमेन्ट र १ सय ८८ शेयर भएको छ। भिडिओलाई १ लाख ८ हजारभन्दा बढी पटक हेरिएको छ।

हेर्नुहोस् प्रकाश चौलागाईंले गरेको पोष्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ  छ भने अर्काइभ लिंक यहाँ छ

यही भिडिओलाई अन्य थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि शेयर गरिरहेका छन्। भिडिओ पोस्ट गर्नेहरूले धादिङमा गोली चलेको र मतदान रद्द भएको दावी गरिरहेका छन्।

हेर्नुहोस् सामाजिक संजाल प्रयोगकर्ताका भिडिओ रेकर्ड

के हो तथ्य ?

यस विषयमा तथ्यजाँच गर्न नेपालफ्याक्टचेकले भाइरल भिडिओलाई ध्यानपूर्वक विश्लेषण गर्‍यो। भिडिओमा देखिएको एम्बुलेन्समा ‘ओखलढुंगा’ लेखिएको देखिन्छ। साथै, नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाको बोर्ड राखिएको स्थानको प्राङ्गण पनि स्पष्ट देखिन्छ।

यस आधारमा भिडिओ धादिङको नभई ओखलढुंगाको भएको संकेत देखिन्छ।

त्यसपछि हामीले नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाको परिसरमा गरिएको गतिविधिबारे खोजी गर्‍यौँ। खोजीका क्रममा फेब्रुअरी २१ गते बिहान ९ बजेर ३ मिनेटमा Okhaldhunga Khabar Live  नामक फेसबुक पेजमा १ मिनेट ४४ सेकेन्डको भिडिओ पोस्ट भएको भेटियो। उक्त भिडिओमा देखिएको दृश्य र भाइरल भिडिओको दृश्य मिलेको देखिन्छ।

उक्त भिडियो ओखलढुंगामा मतदानस्थलमा गरिएको सुरक्षा अभ्यासको भएको देखिन्छ।

हेर्नुहोस् ओखलढुंगा खबर लाइभ नामक फेसबुक पेजमा पोष्ट भएको भिडिओको स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

त्यसपछि हामीले धादिङमा गोली चलेको र मतदान रद्द भएको सम्बन्धी कुनै घटना भएको छ कि छैन भनेर जिल्ला प्रहरी कार्यालय धादिङसँग सम्पर्क गर्‍यौँ। जिल्ला प्रहरी कार्यालय धादिङले नेपालफ्याक्टचेकलाई दिएको जानकारीअनुसार त्यस्तो कुनै अप्रिय घटना भएको छैन। धादिङमा गोली चलेको वा मतदान रद्द भएको सम्बन्धमा कुनै आधिकारिक सूचना वा विश्वसनीय समाचार पनि फेला परेन।

तथ्यजाँच

दावी : धादिङमा पनि गोली चलेको र चुनाव रद्द भइसकेको दावीसहितको १ मिनेट १७ सेकेन्डको भिडिओ।

दावीकर्ता : प्रकाश चौलागाईंसहित सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यजाँच : भ्रामक सूचना। सामाजिक सञ्जालमा फैलाइएको भिडिओ धादिङको घटना होइन। उक्त भिडिओ ओखलढुंगामा गरिएको निर्वाचन सुरक्षा अभ्यासको पुरानो भिडिओ हो। धादिङमा गोली चलेको वा मतदान रद्द भएको कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। त्यसैले पुरानो भिडिओ प्रयोग गरेर धादिङको घटना भन्दै भ्रम फैलाइएको पुष्टि हुन्छ।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add