तथ्यजाँच मिथ्या सूचना वागमती

सुधन गुरुङबारे आईजीपी दानबहादुर कार्कीको भाइरल भिडियो ‘एआई’बाट बनेको


सुधन गुरुङबारे आईजीपी दानबहादुर कार्कीको भाइरल भिडियो ‘एआई’बाट बनेको

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उच्चस्तरीय छानबिनबाट निर्दोष साबित भएकाले सुधन गुरुङ गृहमन्त्री पदमा पुनर्बहाली भएको बताउँदै गरेको दावीसहितको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। तर नेपाल फ्याक्ट चेकको तथ्य जाँचमा उक्त भिडियो ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी बनाइएको र दावी गलत रहेको पुष्टि भएको छ।

के हो दावी ?

‘Gen Z आवाज’ नामको फेसबुक पेजले सन् २०२६ अप्रिल २४ मा १६ सेकेन्डको एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले बोल्दै गरेको देखिन्छ।

भिडिओमा उनी भन्छन्, “उच्चस्तरीय छानबिनका क्रममा सुधन गुरुङ निर्दोष साबित भएकाले उनी पुनः गृहमन्त्री पदमा पुनर्बहाली भएका छन् र अबको ५ वर्ष उनैले मन्त्रालय सम्हाल्नेछन्।”

यो तथ्यजाँच गर्ने समयसम्ममा भिडिओमा ९९ हजार पटक रियाक्ट भएको छ भने ६ हजार ४ सय पटक कमेन्ट र १० हजार पटक सेयर गरिएको छ । भिडिओलाई १२ लाख पटक हेरिएको छ ।

हेर्नुहोस् Gen Z आवाज को स्क्रिन रेकर्ड

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यही भिडियोलाई आधार मानेर ‘पुन भाइ भिम’ लगायतका अन्य प्रयोगकर्ताहरूले पनि ‘रियाक्सन भिडियो’ बनाई फैलाइरहेका छन्, जसलाई १४ लाख भन्दा बढी पटक हेरिएको छ।हेर्नुहोस् पुन भाइ भिम को स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

सामाजिक सञ्जालमा व्यापक सेयर भएको यो भिडिओको तथ्यजाँच गरिदिन सामाजिक सञ्जाल प्रयोगकर्ताबाटै प्राप्त आग्रह बमोजिम यो भिडिओको फ्याक्टचेक गरेका छौँ ।

भिडियोको आधिकारिकता पुष्टि गर्न हामीले विभिन्न प्राविधिक विधि र स्रोतहरूको प्रयोग गर्‍यौं:

भिडियोको मसिनो गरी अध्ययन गर्दा १६ सेकेन्डको भिडियोभित्रै दुईवटा फरक फ्रेमहरू प्रयोग भएको देखिन्छ। कार्कीको सर्टको बाहुला, पृष्ठभूमिमा रहेको झण्डा र माइकको स्थिति अस्वाभाविक रूपमा परिवर्तन भएको देखिन्छ, जुन वास्तविक भिडियोमा सम्भव हुँदैन।

प्राविधिक परीक्षण

हामीले यस भिडियोलाई तीनवटा फरक एआई डिटेक्सन टुलमार्फत परीक्षण गर्‍यौं:

गुगल सिन्थ आइडी : यो भिडिओको प्राविधिक परीक्षणका लागि हामीले गुगल एआईको प्रयोग भएको छ कि छैन भनेर Synthid जाँच गरेर हेर्‍यौँ। नतिजामा भिडिओको अडिओ र भिजुअल दुवैमा गुगलको एआई प्रविधि प्रयोग भएको डिजिटल वाटरमार्क भेटियो।

हेर्नुहोस् गुगलको synthid ले दिएको नतिजा

त्यसपछि हामीले भिडियोको स्क्रिनसट निकालेर wasitai मार्फत् पनि प्राविधिक जाँच गरेर हेर्‍यौँ। नतिजामा यसले पनि भिडिओ एआई निर्मित भएको संकेत देखायो ।

सार्वजनिक रेकर्ड र समाचार

हामीले नेपाल प्रहरीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमहरूमा सुधन गुरुङको पुनर्बहालीबारे प्रहरी महानिरीक्षकले कुनै वक्तव्य दिएको वा गृह मन्त्रालयबाट त्यस्तो कुनै निर्णय भएको खोजी गर्‍यौं। तर, कतै पनि यससँग सम्बन्धित समाचार वा आधिकारिक पुष्ट्याइँ भेटिएन।

तथ्यजाँच

तथ्य जाँच

दावी: सुधन गुरुङ निर्दोष साबित भएर गृहमन्त्रीमा पुनर्बहाली भएको भनेर प्रहरी महानिरीक्षकले बोलेको।

दावीकर्ता: ‘Gen Z आवाज’ फेसबुक पेज र अन्य प्रयोगकर्ता।

तथ्य/निष्कर्ष: मिथ्या (False)। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको भिडियो र आवाजलाई एआई प्रविधि प्रयोग गरी तोडमोड गरिएको छ। निवर्तमान गृहमन्त्रीको पुनर्बहालीबारे प्रहरी महानिरीक्षकले बोल्ने कुनै कानुनी आधार पनि रहँदैन र उनले त्यस्तो बोलेको कुनै आधिकारिक रेकर्ड छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add