- सुरज घिमिरे
- चैत्र २७, २०८२

अमिशाले आफू विवाहित भएको बताएकी होइनन्, अर्कै सन्दर्भलाई तोडमोड गरिएको हो
नेकपा (एमाले)को प्रदर्शनबाट चर्चामा आएकी अमिशा पराजुलीले पत्रकार राजेन्द्र बानियाँसँगको कुराकानीमा आफू विवाहित भएको बताएको एउटा क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त भिडियो क्लिपलाई अर्कै सन्दर्भको कुराकानीबाट काँटछाँट गरी भ्रामक बनाइएको पुष्टि गरेको छ।
के हो दावी ?
राष्ट्रका लागि आवाज (Voice.for.nation4) नामक टिकटक एकाउन्टमा बिहीबार (अप्रिल ९, २०२६) एउटा भिडियो पोस्ट भयो। उक्त भिडियोमा पत्रकार राजेन्द्र बानियाँ र अमिशा पराजुलीबीचको अन्तर्वार्ताको एउटा अंश राखिएको छ, जहाँ उनी भन्छिन्:
“मेरो श्रीमान् हुनुहुन्छ, म विवाहित मान्छे हो। यो कुरा मैले चुप लागेको कारण के हो भन्दाखेरि मेरो घरको मान्छेले, सासू ससुराले के भन्नुहुन्छ…”
भिडियोमा प्रस्तोता बानियाँले थप्छन्— “मेरो घरबार बिग्रिन्छ।”
र, अमिषाले त्यसलाई स्वीकार गर्दै “हो, मेरो घरबार बिग्रिन्छ। सामाजिक रूपमा म विचलित हुन्छु कि भनेर…” भनेको सुनिन्छ।
दावीको प्रभाव
शुक्रबार दिउँसो यो तथ्य जाँच तयार पार्दासम्म १४ सेकेन्डको उक्त टिकटक क्लिपमा निम्न अनुसारको रियाक्सन देखिएको छ:
-
भ्युज: ६ लाख ९४ हजारभन्दा बढी
-
रियाक्सन: २० हजारभन्दा बढी
-
सेयर: ६ हजार ४ सय २६ पटक
-
कमेन्ट: ३ सय २० वटा
हेर्नुहोस्, उक्त भिडियो क्लिपको स्क्रिन रेकर्ड :
उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले पत्रकार राजेन्द्र बानियाँ र अमिशा पराजुलीबीचको अन्तर्वार्ता खोज्यौँ। हामीले ‘नेपाल लिड’ नामक युट्युब च्यानलमा अप्रिल ७, २०२६ मा प्रिमियर गरिएको १ घण्टा १४ मिनेट ४४ सेकेन्ड लामो अन्तर्वार्ता फेला पार्यौँ।
उक्त अन्तर्वार्ताको १ घण्टा ८ मिनेट ५५ सेकेन्डपछि राजेन्द्र बानियाँले अमिशालाई उनी ‘लुजर’ कि ‘विनर’ हुन् भनेर सोध्छन्। त्यसको जवाफ दिने क्रममा अमिशाले आफूलाई कस्ता मानिसहरूले म्यासेज गर्छन् भन्ने उदाहरण दिँदै अन्य व्यक्तिको समस्या सुनाएकी थिइन्।
अन्तर्वार्ताको वास्तविक अंश यस्तो छ:
म विनर कुन कुराले हो भन्दाखेरि मलाई म्यासेज गरेर “बहिनी तिमी मेरो लागि पनि आवाज उठाइदेऊ ।”
त्यसपछि प्रस्तोता भन्छन् – Those who are not speaking or they don’t have a strength to speak.
अमिशा फेरी बोल्छिन् – कोही मान्छे मेरो श्रीमान् हुनुहुन्छ । मलाई एकदम सामाजिक सञ्जालमा एकदम नराम्रो भएको छ अथवा मलाई कति मान्छेले चैँ म्यासेज पनि त्यस्तो तरिकाले गर्नुहुन्छ । मेरो श्रीमान् हुनुहुन्छ, म विवाहित मान्छे हो । यो कुरा मैले चुप लागेको कारण के हो भन्दाखेरि मेरो घरको मान्छेले सासू ससुराले के भन्नुहुन्छ
त्यसपछि प्रस्तोता भन्छन् – मेरो घर बिग्रिन्छ ।
फेरि अमिशाले भन्छिन् – हो, घरबार बिग्रिन्छ । सामाजिक रूपमा चैँ म विचलित हुन्छु कि, लान्छान लगाउँछन् कि भनेर आवाज उठाइदेऊ भन्नुभएको छ । ठिक छ हो, म के गरी बेसहाराको सहारा हुन सक्छु, बोल्न नसक्नेको जिब्रो हुन सक्छु भने त म त यो कुरामा त म प्रत्यक्ष रूपमा विनर हुँ ।
यसबाट प्रष्ट हुन्छ कि, अमिशाले ती वाक्यहरू आफ्नो बारेमा नभई आफूलाई म्यासेज गर्ने अन्य पीडित महिलाहरूको सन्दर्भमा बोलेकी थिइन्। भाइरल भिडियोमा अमिशाले अरुको कुरा उद्धृत गरेको खण्डलाई काटेर उनी आफैले बोलेको जस्तो बनाइएको छ।
हेर्नुहोस्, उक्त अन्तर्वार्ताको स्क्रिन रेकर्ड
पूरा अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोस्
हेर्नुहोस्, सम्पादन गरिएको भिडियो क्लिप र वास्तविक भिडियो क्लिप
तथ्य जाँच
दावी : अमिशा पराजुलीले आफू विवाहित भएको बताएको भाइरल क्लिप ।
दावीकर्ता : राष्ट्रका लागि आवाज (Voice.for.nation4) नामक टिकटक एकाउन्ट
तथ्य/निश्कर्ष : भ्रामक (Misleading)। अमिशाले आफू विवाहित भएको बताएकी होइनन्। उनले आफूलाई म्यासेज गर्ने अन्य महिलाको समस्या सुनाउने क्रममा ती महिलाले पठाएको म्यासेज उद्धृत गरेकी थिइन्। सोही सन्दर्भलाई तोडमोड गरी भ्रामक भिडियो फैलाइएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ।