तथ्यजाँच भ्रामक सूचना वागमती

पूर्वराष्ट्रपति भण्डारीलाई बालेनले ‘कडा जवाफ’ फर्काएको दाबी भ्रामक


पूर्वराष्ट्रपति भण्डारीलाई बालेनले ‘कडा जवाफ’ फर्काएको दाबी भ्रामक

सामाजिक सञ्जालमा पछिल्लो केही दिनयता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको टिप्पणीको कडा प्रतिवाद गरेको दाबी गरिएका पोस्टहरू भाइरल बनेका छन् । प्रधानमन्त्री बालेनले भण्डारीलाई ‘अनुभवहीन’ भन्दै लामो समय राष्ट्रपति हुँदा पनि आफ्नै श्रीमान् (मदन भण्डारी) लाई न्याय दिन नसकेको भनी जवाफ फर्काएको दाबी गरिएको छ।

तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा प्रधानमन्त्री बालेनले पूर्व राष्ट्रपति भण्डारीलाई लक्षित गरी त्यस्तो कुनै पनि आधिकारिक जवाफ फर्काएको पुष्टि हुन सकेन।

के हो दाबी ?

३३ हजार फलोअर्स भएको सञ्जीव ढकाल नामक फेसबुक पेजमा अप्रिल १८ (वैशाख ६) राति प्रधानमन्त्री बालेन्द्र शाह र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो राखेर लेखिएको छ: “पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री बालेनको कडा जवाफ – हामी भन्दा तपाईं अनुभवहीन हो। यत्रो वर्ष राष्ट्रपति हुनुभयो, आफ्नै श्रीमानलाई त न्याय दिन सक्नुभएन….. के अनुभवको कुरा गर्नुहुन्छ? तपाईं भन्दा धेरै पढेर आएका छन् ।”

समाचार शैलीमा लेखिएको उक्त पोस्टमा बालेनले पुराना नेताहरूले अनुभवको नाममा नयाँ पुस्तालाई अवरोध गर्न नहुने तर्क गरेको समेत दाबी गरिएको छ ।

हामीले तथ्य जाँच गर्दै गर्दा उक्त पोस्टमा ११ हजार दुई सय लाइक, एक हजार ५ सय कमेन्ट र ५ सय २० पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिनसट

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री बालेनबीच भएको भनिएको ‘वाक युद्ध’ बारे आधिकारिक स्रोतहरूमा खोजी गर्‍यौं ।

सबैभन्दा पहिला हामीले गुगलमा अनुभवहीन, नयाँ पात्र, उदय, स्वाभिमान जस्ता की-वर्डहरू राखेर खोज्यौँ। यस क्रममा हामीले ३ वैशाख २०८३ मा ‘नागरिक दैनिक’मा प्रकाशित एउटा समाचार भेट्यौं। त्यसमा पूर्व राष्ट्रपति भण्डारीले “अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो” भनी टिप्पणी गरेको उल्लेख छ।

हेर्नुहोस्, नागरिक न्युजमा प्रकाशित समाचारको स्क्रिन सट

उक्त समाचारको लिङ्कअर्काइभ लिङ्क

यो टिप्पणीले नयाँ राजनीतिक शक्तिहरूतर्फ संकेत गरे पनि बालेनले त्यसको प्रतिवाद गरेको समाचार कतै भेटिएन ।

आधिकारिक च्यानलहरूको परीक्षण

हामीले प्रधानमन्त्री शाहको आधिकारिक फेसबुक, एक्स (ट्विटर) र प्रधानमन्त्री कार्यालयका प्लेटफर्महरू जाँच गर्‍यौं । कतै पनि श्रीमानलाई न्याय दिन नसकेको वा अनुभवहीन भनेर जवाफ दिएको कुनै रेकर्ड फेला परेन ।

सम्बन्धित अधिकारीको भनाइ

थप पुष्टिका लागि हामीले प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाललाई सम्पर्क गर्‍यौं ।

नेपालफ्याक्टचेकसँगको कुराकानीमा उनले पूर्व राष्ट्रपति भण्डारीको टिप्पणीप्रति प्रधानमन्त्री शाहले जवाफ फर्काएको दाबीलाई पूरै अस्वीकार गरिन् । उनले सो भाइरल दाबी गलत भएको स्पष्ट पारिन् ।

तथ्य जाँच

दावी : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको टिप्पणीप्रति प्रधानमन्त्री बालेन शाहले जवाफ फर्काएको भन्दै भाइरल प्रसङ्ग

दावीकर्ता : सञ्जीव ढकाल नामक फेसबुक पेज ।

तथ्य : भ्रामक (Misleading) । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतलाई लक्षित गर्दै अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको बताएकी थिइन् । तर, त्यसको जवाफ स्वरूप प्रधानमन्त्री शाहले भण्डारीलाई लामो समयसम्म राष्ट्रपति हुँदा पनि आफ्नै श्रीमानलाई न्याय दिन नसकेको भन्दै जवाफ फर्काएको दाबी पुष्टि हुने आधार भने कहीँ कतै भेटिएन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add