तथ्यजाँच भ्रामक सूचना सम्बन्धित प्रदेश सुदूरपश्चिम

धनगढीमा कृष्ण दमाईको नियुक्तिसँग जोडेर फैलाइएको ‘मन्दिर निषेध’ को हल्ला असत्य


धनगढीमा कृष्ण दमाईको नियुक्तिसँग जोडेर फैलाइएको ‘मन्दिर निषेध’ को हल्ला असत्य

धनगढी उपमहानगरपालिकाले दलित समुदायका कृष्णबहादुर दमाईलाई विशेष जिम्मेवारी दिएपछि सामाजिक सञ्जालमा एउटा सूचना भाइरल भएको छ जसमा अब धनगढीमा रक्सी खाने बाहुनलाई पूजापाठ र मन्दिर प्रवेशमा निषेध गरिएको दाबी गरिएको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा यो दाबी भ्रामक रहेको पुष्टि भएको छ। उपमहानगरपालिकाले दमाईलाई छुवाछुत अन्त्य अभियानको संयोजक नियुक्त गरेको सत्य भए पनि मन्दिर प्रवेश वा बाहुन लक्षित कुनै पनि निषेधको निर्णय गरेको छैन।

के हो दावी ?

९२ हजार फलोअर्स रहेका गणेश रेग्मी (Ganesh Regmi) नामका फेसबुक प्रयोगकर्ताले मंगलबार (सन् २०२६ अप्रिल १४ मा) एउटा ग्राफिक्स फोटोसहितको पोस्ट सार्वजनिक गरे। उक्त पोस्टमा दलित समुदायबाट संस्कृतमा आचार्य गरेका कृष्ण दमाईलाई धनगढी उपमहानगरपालिकाले विशेष जिम्मेवारी दिएको र अबदेखि “रक्सी खाने बाहुनलाई पूजापाठ र मन्दिरमा प्रवेश निषेध गरिएको” दाबी गरिएको छ।

यो तथ्य जाँच तयार पार्दासम्म उक्त पोस्टमा १ हजार ३ सय रियाक्सन, १३९ कमेन्ट र १२३ पटक सेयर भइसकेको छ। अन्य धेरै प्रयोगकर्ताले पनि यही फोटो सेयर गरिरहेका छन्। हाम्रो मिसइन्फरमेसन मनिटर डेस्कमा यो पोस्टको बारेमा तथ्य जाँच गर्न अनुरोध आएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ।

हेर्नुहोस् Ganesh Regmi को स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ  ।

के हो तथ्य ?

हामीले यस दाबीको तथ्य जाँच गर्न ग्राफिक्सको प्राविधिक विश्लेषण, रिभर्स इमेज सर्च र विश्वसनीय मिडियामा समाचारको खोजी, आधिकारिक समाचारको पुष्टि र धनगढी उपमहानरपालिकाको आधिकारिक प्रतिक्रिया लिएका छौँ।

सबैभन्दा पहिले हामीले भाइरल ग्राफिक्सलाई नियालेर हेर्‍यौँ। यसमा प्रयोग भएका फन्टहरू फरक-फरक देखिएका छन्। “दलित समुदायबाट संस्कृत आचार्य बनेका दमाईलाई…” लेखिएको भाग र “अब रक्सी खाने बाहुनलाई…” लेखिएको भागको फन्ट नमिल्नुले यो फोटो सम्पादन गरिएको संकेत गर्छ।

त्यसपछि हामीले यो ग्राफिक्सलाई गुगल रिभर्स इमेज सर्च गर्दा सन् २०२६ अप्रिल १३ मा ‘जनता न्यूज’ले पोस्ट गरेको वास्तविक ग्राफिक्स फेला पर्‍यो। उक्त वास्तविक फोटोमा कृष्ण दमाईलाई जिम्मेवारी दिइएको कुरा छ, तर रक्सी खाने बाहुनलाई निषेध गरिएको भन्ने वाक्य कतै छैन।

त्यसपछि हामीले दलित समुदायबाट संस्कृत आचार्य बनेका कृष्ण दमाईलाई धनगढी उपमहानगरपालिकाले विशेष जिम्मेवारी दिएको विषयबारे आधिकारिक समाचार प्रकाशित भएको छ कि छैन भनेर गुगलमा एड्भान्स सर्च गरेर खोजी गर्‍यौँ ।

नतिजामा रातोपाटीले यसबारे चैत ३० गते सोमबार समाचार प्रकाशित गरेको भेटियो ।

समाचारमा नेपालमै पहिलो पटक दलित समुदायबाट संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले विशेष जिम्मेवारी सुम्पेको दावी गरिएको छ । उपमहानगरपालिकाले उनलाई शिक्षाको माध्यमबाट छुवाछुत अन्त्य गर्ने अभियानको संयोजक नियुक्त गरेको उल्लेख छ।

यही दावीलाई पुष्टि गर्नेगरी दिनेशखबरको आधिकारिक फेसबुक पेजमा ४९ सेकेन्डको भिडिओ पोस्ट भएको भेटियो । जहाँ धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र कृष्ण दमाई सँगै देखिएका छन् भने प्रमुख हमालले उनलाई शिक्षाको माध्यमबाट छुवाछुत अन्त्य गर्ने अभियानको संयोजक नियुक्त गरेको भनेर बोलेका छन् ।

(रातोपाटीको समाचार लिंक यहाँ छ, जनता न्यूजको ओरिजिनल लिंक यहाँ छ भने दिनेश खबरको भिडिओ लिंक यहाँ छ । )

यसबारे थप पुष्टिका लागि हामीले धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानालाई सम्पर्क गर्‍यौँ। नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले कृष्ण दमाईलाई विशेष जिम्मेवारी दिएको कुरा सत्य रहेको बताइन् ।

मन्दिर प्रवेश गर्दा के गर्ने भनेर व्यक्ति स्वयंले बुझ्नुपर्ने भन्दै उनले रक्सी खाने बाहुनलाई पूजापाठ र मन्दिर प्रवेश निषेध गर्नेबारे उपमहानगरपालिकाले त्यस्तो कुनै औपचारिक निर्णय नगरेको बताइन्।

तथ्यजाँच

दावी : धनगढीमा रक्सी खाने बाहुनलाई पूजापाठ र मन्दिर प्रवेशमा निषेध गरिएको।

दावीकर्ता : गणेश रेग्मी (फेसबुक प्रयोगकर्ता)।

तथ्य / निष्कर्ष : भ्रामक (Misleading)। दलित समुदायबाट संस्कृतमा आचार्य गरेका कृष्ण बहादुर दमाईलाई छुवाछुत अन्त्य अभियानको संयोजक नियुक्त गरिएको विषय सत्य हो। तर, ‘जनता न्यूज’को ग्राफिक्सलाई तोडमोड (Edit) गरेर “रक्सी खाने बाहुनलाई निषेध” भन्ने असत्य सन्देश थपिएको पाइयो। उपमहानगरपालिकाले यस्तो कुनै पनि निर्णय गरेको छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add