तथ्यजाँच मिथ्या सूचना वागमती

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बालेनको नाममा ‘नक्कली स्टाटस’ को स्क्रिनसट भाइरल


पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बालेनको नाममा ‘नक्कली स्टाटस’ को स्क्रिनसट भाइरल

सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दुई वर्षअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकारको आलोचना गरेको भन्दै एउटा फेसबुक स्टाटसको स्क्रिनसट भाइरल भइरहेको छ। उक्त स्क्रिनसटलाई आधार बनाएर केही अनलाइन मिडियाले समाचारसमेत प्रकाशित गरेका छन्।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त स्क्रिनसट सम्पादन गरिएको मिथ्या रहेको पुष्टि भएको छ।

के हो दावी ?

अनलाइन न्युजपोर्टल उकेराले अप्रिल ३, २०२६ मा ‘बालेनलाई आफ्नै स्टाटस भारी’ शीर्षकमा समाचार प्रकाशित गर्दै बालेनले अघिल्लो समयमा पेट्रोलियम मूल्य वृद्धिबारे सरकारको आलोचना गरेको र अहिले आफैँ प्रधानमन्त्री बनेपछि त्यसैमा घेरिएको दावी गरेको छ।

(उकेराले अहिले यो समाचार हटाएर माफी मागिसकेको छ। उकेराले समाचारमा समावेश गरेको बालेनको स्टाटसको स्क्रिनसटमा १ लाख ४२ हजार पटक रियाक्ट भएको छ भने १२ हजारभन्दा धेरै पटक कमेन्ट र २ हजार ७ सय पटक सेयर भएको देखिन्छ।)

हेर्नुहोस् उकेराको स्क्रिनसट

उकेराको ओरिजिनल लिंक यहाँ छ

अनलाइन न्युजपोर्टल हाम्राकुराले पनि यही दावीसहितको समाचार प्रकाशित गरेको छ। उकेराले प्रकाशित गरेकै फेसबुक स्टाटसको स्क्रिनसटलाई हाम्राकुराले पनि आधार बनाएको छ।

हेर्नुहोस् हाम्राकुराको स्क्रिनसट

हाम्राकुराको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यो स्टाटसको स्क्रिनसट फेसबुकमा अरु प्रयोगकर्ताहरुले पनि व्यापक सेयर गरेका छन्। सबै प्रयोगकर्ताले कालो ब्याकग्राउन्डको उही स्क्रिनसट सेयर गरेको देखिन्छ। हेर्नुस् स्क्रिनरेकर्ड-

के हो तथ्य ?

यसको तथ्यजाँचका लागि हामीले सुरुमा बालेनको भेरिफाइड अकाउन्टको फिड जाँच गर्‍यौँ। उनले सन् २०२४ नोभेम्बर १५ मा उनले स्टाटस पोस्ट गरेको भेटियो। तर त्यो स्टाटस पेट्रोलियम मूल्यबारे नभई फोहोर व्यवस्थापनबारे छ।  सोही दिन पेट्रोलियमबारे कुनै स्टाटस पोस्ट भएको भेटिएन।

सन् २०२४ को नोभेम्बर १५ मा बालेनको स्टाटसको स्क्रिनसट

बालेनको स्टाटसको ओरिजिनल लिंक यहाँ छ

भाइरल स्क्रिनसट र वास्तविक पोस्ट तुलना गर्दा रियाक्सन संख्या उस्तै, कमेन्ट संख्या उस्तै र शेयर संख्या पनि उस्तै देखिन्छ।

यसले वास्तविक स्टाटसलाई नै डिजिटल रूपमा एडिट गरेर नयाँ सामग्री राखिएको प्रष्ट आधार दिन्छ।

हामीले भाइरल स्क्रिनसटलाई फोटो फरेन्सिकमा गएर विश्लेषण गर्‍यौँ। नाम र इन्गेजमेन्ट (सेयर/कमेन्ट) वास्तविक जस्तो देखिए पनि, टेक्स्ट भागमा मात्रै असामान्य digital artefacts देखिन्छन्।

  • टेक्स्ट वरिपरि रङ्गीन noise र pixel distortion देखिन्छ, जुन सामान्य स्क्रिनसटमा हुँदैन र प्रायः एडिट गर्दा देखिन्छ
  • अक्षरहरू कतै sharp, कतै blur र double-layer (ghosting) जस्तो देखिन्छ, जसले टेक्स्ट replace वा overlay गरिएको संकेत गर्छ
  • ब्याकग्राउन्ड र टेक्स्टको क्वालिटी मिल्दैन — एउटै पोस्टमा पनि clarity र contrast फरक–फरक देखिन्छ

यी सबै mismatch हरूले पोस्टको मुख्य टेक्स्ट पछि एडिट गरिएको स्पष्ट संकेत दिन्छ।

अशुद्ध भाषा

भाइरल स्टाटसमा भाषासमेत अशुद्ध प्रयोग भएको देखिन्छ। भाइरल स्टाटसमा महङ्गीलाई ‘महङगी’ र भैरहनेलाई ‘भैरहरने’ लेखिएको छ।

बालेनका स्टाटसबारे प्रायः मिडियाले समाचार बनाइरहने भए पनि यो भाइरल भएको स्टाटसबारे त्यतिबेला कसैले समाचार बनाएको हामीले खोज्दा भेट्टाएनौँ। त्यसकारण पनि यो स्टाटस हालै डिजिटल सम्पादन गरी बनाइएको देखिन्छ।

उक्त फेक स्क्रिनसटलाई आधार बनाएर प्रकाशित समाचारहरू पछि हटाइएको र माफीसमेत मागिएको देखिन्छ। यसले स्क्रिनसटको विश्वसनीयता झन् कमजोर बनाउँछ।

तथ्यजाँच

दावी : वर्तमान प्रम वालेन्द्र शाह (बालेन)ले  दुई वर्षअघि पेट्रोलियम मूल्य वृद्धिबारे सरकारको आलोचना गर्दै फेसबुक स्टाटस लेखेका थिए।

दावीकर्ता : उकेरा, हाम्राकुरा तथा सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य/निष्कर्ष : मिथ्या (False)। बालेन्द्र शाहले उक्त मितिमा पेट्रोलियम मूल्यबारे कुनै स्टाटस लेखेको प्रमाण भेटिएन।  वास्तविक स्टाटस (फोहोर व्यवस्थापनसम्बन्धी) लाई डिजिटल रूपमा तोडमोड गरेर नयाँ दावी जोडिएको स्क्रिनसट बनाइएको प्रमाण हामीले भेट्यौँ। त्यसैले भाइरल सामग्री प्रमाणविहीन र भ्रामक हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add