- सुरज घिमिरे
- चैत्र १८, २०८२

केपी ओली र रमेश लेखक पक्राउ परेपछि गगन थापा हाँसेको भनिएको भिडियो भ्रामक
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि हिरासतमा लिइएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा हाँसेको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा भने यो भिडियोसँग ओली–लेखकको पक्राउको कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ।
के हो दाबी ?
४० हजार फलोअर्स भएको प्रदीप काफ्ले नामक फेसबुक एकाउन्टबाट २८ मार्च २०२६ मा एउटा भिडियो पोस्ट गरियो। ‘ओली लेखक पक्राउ पछि हाँसे गगन थापा’ शीर्षकसहित अपलोड गरिएको ११ सेकेन्डको उक्त भिडियोमा सभापति गगन थापा कुनै बैठकमा हाँसिरहेको देखिन्छ।
यो तथ्यजाँच गर्ने समयसम्म उक्त भिडियो १५ लाखभन्दा बढी पटक हेरिएको छ भने ३४ हजार ३ सयभन्दा बढी रियाक्सन र ४०० पटक सेयर भइसकेको छ।
हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :
सो भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
के हो तथ्य ?
तथ्यजाँचका लागि हामीले निम्न दुई पक्षको विश्लेषण गर्यौँ:
पहिलो- ओली र लेखक पक्राउको समय
तथ्य जाँच गर्ने क्रममा हामीले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउसम्बन्धी समाचारहरू हेर्यौ ।
ईकान्तिपुर, अनलाइनखबर, गोरखापत्र अनलाइन लगायतमा प्रकाशित समाचार अनुसार ओली र लेखकलाई चैत १४ गते अर्थात् मार्च २८ मा बिहान पक्राउ गरिएको हो।
दोस्रो – गगन थापा हाँसेको भिडियोको स्रोत
हामीले भाइरल भिडियोको फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा उक्त भिडियो मार्च २८ भन्दा अगावै सार्वजनिक भएको भेट्यौँ। अनलाइन टिभी नेपालको फेसबुक पेजमा मार्च २४ (चैत १०) मै सोही दृश्य अपलोड भएको पाइएको छ।
‘सभापतिकै कुर्सीमा फर्किएपछि गगन थापा र विश्वप्रकाश शर्माको ऐतिहासिक हाँसो’ शीर्षकमा अपलोड गरिएको भिडियोमा गगन थापा हाँसेको देखिन्छ । भिडियोको एंगल फरक भए पनि सो भिडियो अहिले भाइरल बनेको भिडियोसँग ठ्याक्कै मिल्छ ।
हेर्नुहोस्, उक्त पेजमा अपलोड गरिएको भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
यस्तै, बाह्रखरी डटकमको फेसबुक पेजमा मार्च २४ मा पोस्ट गरिएका फोटोहरूमा पनि सभापति गगन थापाले सोही पोसाक लगाएर सानेपास्थित पार्टी कार्यालयमा बैठकलाई सम्बोधन गरिरहेको देखिन्छ। भिडियोमा देखिएको पृष्ठभूमि, दायाँबायाँ रहेका नेताहरू र स्थान सबै विवरण चैत १० गतेको बैठकसँग मेल खान्छ।
हेर्नुहोस्, स्क्रिन सटहरू :


बाह्रखरी डटकमको पेजमा अपलोड गरिएको ती फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
यसबाट के स्पष्ट हुन्छ भने सभापति थापा हाँसेको भिडियो ओली र लेखक पक्राउ पर्नुभन्दा चार दिनअघिको हो।
तथ्य जाँच
दावी: केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि कांग्रेस सभापति गगन थापा हाँसेको भिडियो।
दावीकर्ता: प्रदीप काफ्ले नामक फेसबुक प्रयोगकर्ता।
तथ्य/निष्कर्ष: भ्रामक (Misleading)। गगन थापा हाँसेको भिडियो मार्च २४ को हो भने ओली र लेखक मार्च २८ मा पक्राउ परेका थिए। पहिले नै खिचिएको भिडियोलाई पछि भएको घटनासँग जोडेर भ्रम फैलाइएको पुष्टि हुन्छ।