भ्रामक सूचना तथ्यजाँच

सांसद केपी खनाललाई काँधमा बोकेको भिडियो हालको होइन, निर्वाचनको बेलाको


सांसद केपी खनाललाई काँधमा बोकेको भिडियो हालको होइन, निर्वाचनको बेलाको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाललाई बाजागाजासहित समर्थकहरूले काँधमा बोकेर हिँडिरहेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। हालैका दिनमा सांसद खनाललाई काँधमा बोकिएको अर्थ लाग्ने गरी कयौँ फेसबुक पेज र प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन्

तर नेपाल फ्याक्ट चेकले गरेको तथ्य जाँचले यो भिडियो हालैको नभई एक महिनाभन्दा पुरानो अर्थात् निर्वाचनमा विजयी भएपश्चात् गरिएको स्वागतको भएको पुष्टि गरेको छ। 

के हो दाबी ?

मंगलबार (अप्रिल २८, २०२६) अपराह्न हिमालय टेलिभिजनको फेसबुक पेज बाट एउटा भिडियो पोस्ट गरियो। उक्त भिडियोमा रास्वपा सांसद केपी खनाललाई बाजागाजासहित समर्थकले काँधमा बोकेको देखिन्छ। भिडियोको शीर्षक ‘सांसद केपी खनाललाई स्वागतमा जुटेका स्थानीय’ राखिएको छ।

हेर्नुहोस्, हिमालय टेलिभिजनको फेसबुक पेजमा अपलोड गरिएको भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्कअर्काइभ भिडियो

त्यस्तै, फेसबुक प्रयोगकर्ता दिल निशानी मगरले पनि ‘माननीय केपी खनाल जनताको काँधमा चढेर हिँडेका छन्’ भन्दै सोही भिडियो अपलोड गरेका छन्। 

दावीको प्रभाव 

हामीले तथ्य जाँच गर्दासम्म

  • हिमालय टेलिभिजन: ५,४०० रियाक्सन, १,१०० कमेन्ट, २४५ सेयर र २ लाख ५० हजारभन्दा बढी भ्यूज।

  • दिल निशानी मगर: १३,६०० रियाक्सन, ३,३०० कमेन्ट, ८०८ सेयर र ३ लाख ९६ हजारभन्दा बढी भ्यूज। यो भिडियो अन्य थुप्रै फेसबुक पेज र टिकटकमा पनि भाइरल भइरहेको छ।

मगरले पोस्ट गरेको भिडियोको लिङ्क, अर्काइभ लिङ्कअर्काइभ भिडियो

के हो तथ्य ?

हामीले यो भिडियोको सत्यता पत्ता लगाउन निम्न प्रक्रिया अपनायौँ:

कीवर्ड सर्च : हामीले गुगलमा “केपी खनाल, कैलाली, स्वागत, विजयी र्‍याली” जस्ता शब्दहरू राखेर खोज्यौँ। खोज्ने क्रममा हामीले केपी खनालको आधिकारिक फेसबुक पेज तथा टिकटकहरूमा उनी निर्वाचनपश्चात् पुगेका ठाउँहरूको नामहरूबारे खोज्यौँ ।

भिडियो तुलना: खोज्ने क्रममा KP Khanal Secretariat/केपी खनाल सचिवालय  फेसबुक पेजमा १४ मार्च २०२६ अपलोड गरिएको एउटा भिडियो भेटियो। उक्त भिडियोमा खनाललाई कैलालीको मोहन्याल गाउँपालिका-२, कोल्तडीमा स्वागत गरिएको देखिन्छ। अहिले भाइरल भएको र सो पुरानो भिडियोको दृश्य, खनालले लगाएको लुगा र पृष्ठभूमि हुबहु मेल खान्छ।

खनाल हालैको प्रतिनिधिसभाको निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

हेर्नुहोस्, उक्त पेजमा अपलोड गरिएको भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपालफ्याक्टचेकले यस विषयमा बुझ्नको लागि सांसद खनाललाई सम्पर्क गरेको थियो। हामीसँगको कुराकानीमा उनले भाइरल भिडियो अहिलेको नभई चुनावको बेलाको भएको पुष्टि गरे।

तथ्य जाँच

दाबी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनाललाई समर्थकले काँधमा बोकेर हिँडेको भाइरल भिडियो ।

दाबीकर्ता : हिमालय टेलिभिजन, दिल निशानी मगर लगायतका फेसबुक पेज तथा एकाउन्टहरू

तथ्य/निश्कर्ष : भ्रामक (Misleading) यो भिडियो सही भए पनि अहिलेको नभई निर्वाचनको बेलाको हो। हालैको सन्दर्भ देखाएर पुरानो भिडियो फैलाइएकोले यसले सर्वसाधारणमा भ्रम सिर्जना गरेको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add