तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

के भारतीय मिडियाले दावी गरेजस्तो प्रधानमन्त्री बालेन बिना अंगरक्षक सडकमा देखिएका हुन्?


के भारतीय मिडियाले दावी गरेजस्तो प्रधानमन्त्री बालेन बिना अंगरक्षक सडकमा देखिएका हुन्?

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह अंगरक्षक बिना सडकमा देखिन थालेको र सर्वसाधारणसँग घुलमिल भइरहेको दावीसहित भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरिरहेका छन्। तर, नेपाल फ्याक्ट चेकको अनुसन्धानमा यी दावीहरूमा प्रयोग गरिएका तस्बिर र भिडियोहरू प्रधानमन्त्री बन्नुअघिका र फरक प्रसङ्गका रहेको पुष्टि भएको छ। 

के हो दावी ?

सन् २०२६ को अप्रिल १५ को दिन भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह अंगरक्षक बिना सडकमा देखिन थालेको दावी गरेको छ।

समाचारमा जेनजी आन्दोलनको मर्म अनुसार प्रधानमन्त्री बालेनले काम गर्न सुरु गरेको भन्दै विभिन्न फोटो तथा भिडिओ राखेको छ।

हेर्नुहोस् आजतकको स्क्रिनसट

आजतकको समाचार लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

आजतकले लेखेको यहि समाचारलाई विश्वास गरेर अरु थुप्रै अनलाईन मिडियाले पनि समाचार प्रकाशित गरेका छन् । गुगलमा रिभर्स ईमेज सर्च गरेर हेर्दा प्राप्त नतिजा यस्तो भेटियो ।

के हो तथ्य ?

हामीले आजतकले आफ्नो समाचारमा ‘इम्बेड’ गरेका र प्रमाणका रूपमा प्रस्तुत गरेका चारवटा मुख्य दृश्य (फ्रेम) लाई रिभर्स इमेज सर्च र स्रोत पहिचान गरी जाँच गरेका छौँ:

पहिलो दृश्य (सडकमा हिँडिरहेको तस्बिर)

यो तस्बिर प्रतिनिधिसभा निर्वाचन (फागुन २१) हुनुभन्दा दुई हप्ताअघि अर्थात् फागुन ४ गते नै ‘अर्थ सरोकार’ लगायतका सञ्चारमाध्यममा चुनावी प्रचारको क्रममा प्रकाशित भइसकेको थियो। अर्थ सरोकारमा प्रकाशित समाचार लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

दोस्रो दृश्य (क्यारमबोर्ड खेलिरहेको)

यो भिडियो सन् २०२६ फेब्रुअरी १६ मा नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको थियो। यो बालेन शाह प्रधानमन्त्री निर्वाचित हुनुभन्दा अघिको दृश्य हो। सुनौलो नेपाल फेसबुक पेज, सीधा कुराको फेसबुक पेज मा यो दृश्य भेटिन्छ।

तेस्रो दृश्य (रेड कार्पेट छलेको)

अप्रिल १० मा राष्ट्रपति रामचन्द्र पौडेलले संसदलाई सम्बोधन गर्दाको यो भिडियोमा बालेनले रेड कार्पेट प्रयोग नगरेको देखिन्छ। तर, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उक्त कार्पेट राष्ट्रपतिका लागि ओछ्याइएको थियो, प्रधानमन्त्रीका लागि होइन।

चौथो दृश्य (सडकमा सवाल-जवाफ)

यो भिडियो ३ वर्ष पुरानो (सन् २०२२ अगस्ट २५) हो, जब बालेन काठमाडौँको मेयर थिए र डोजर लिएर अनधिकृत संरचना भत्काउन गएका थिए।  यही फ्रेमको २७ मिनेट ५५ सेकेन्डको भिडिओ Onlinetv Nepal नामक युटुब च्यानलबाट सार्वजनिक भएको भेटियो ।

हामीले प्रधानमन्त्री वालेन्द्र शाह बिना अंगरक्षक सडकमा निस्किएकोबारे नेपालका सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् कि छैनन् भनेर खोजी गर्‍यौँ । तर कुनै पनि समाचार भेटेनौँ। प्रधानमन्त्री कार्यालयको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरुमा पनि यो दावीलाई पुष्टि गर्ने कुनै भिडिओ, फोटो एवम् जानकारीहरु भेटिएन ।

तथ्यजाँच

दावी : प्रधानमन्त्री वालेन्द्र शाह बिना अंगरक्षक सडकमा देखिन थालेको

दावीकर्ता : Aajtak (भारतीय मिडिया)

तथ्यजाँच / निश्कर्ष : भ्रामक (Misleading) । प्रधानमन्त्री बालेन्द्र शाह बिना सुरक्षाकर्मी सडकमा निस्किएको भन्दै भारतीय मिडियाले फैलाएको समाचार भ्रामक छ। समाचारमा प्रयोग गरिएका सामग्रीहरू उनी प्रधानमन्त्री हुनुभन्दा अगाडिका र फरक सन्दर्भका हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add