- टेकमान शाक्य
- चैत्र १८, २०८२

सांसद ज्ञानेन्द्र शाहीले टेलिभिजन शो ‘कठघरा’ मा गरेको दावी यसकारण भ्रामक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूले इन्डियन एरोनटिक्समा काम गर्ने अवसर पाएको कुरा ‘कमेडी प्रयोजन’ का लागि बोलेको दावी गरेका छन्।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी भ्रामक रहेको देखिन्छ।
के हो दावी ?
हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘कठघरा’ (OSR Reality युट्युब च्यानल) को २०२६ को मार्च १८ मा अपलोड भएको एक एपिसोडमा सांसद ज्ञानेन्द्र शाहीलाई अतिथि बनाइएको छ।
कार्यक्रमको ३४ मिनेट १० सेकेन्डमा सञ्चालक टीकाराम यात्रीले शाहीको पुरानो भिडियो क्लिप देखाउँछन्, जहाँ शाहीले आफू इन्डियाको ‘अग्नि–५’ परियोजनामा छनोट भएको तर काम नगरेको बताएका छन्।
भिडिओ क्लिप हेरेपछि शाहीले त्यो भिडिओ विनयजङ्ग बस्नेतसँग कमेडी गरेको भिडिओ भनेर दावी गरेका छन् । उनी भन्छन्, ‘यो चाहिँ विनयजङ्ग बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडिओ बाहिर ल्याइदिएको हो । है ! तपाईँले विनयजङ्ग बस्नेतलाई ल्याएर यहाँ उभ्याउन सक्नुहुन्छ …।’
यो तथ्यजाँच गर्ने समयसम्ममा युटुब च्यानलमा ६ लाख ५० हजारभन्दा बढि पटक हेरिएको छ भने १७ हजारले रियाक्ट गरेका छन् ।
कठघराको ओरिजिनल लिंक यहाँ छ ।
के हो तथ्य ?
यसबारे तथ्यजाँचका लागि हामीले रियालिटी शो ‘कठघरा’ कार्यक्रममा देखाईएको ज्ञानेन्द्र शाहीको पुरानो भिडिओ क्लिपको फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्यौँ ।
यसको नतिजामा ६ वर्षअगाडि PNP MEDIA PVT LTD नामक युटुब च्यानलमा १४ मिनेट १७ सेकेन्डको भिडिओ अपलोड भएको भेटियो । सन् २०१९ को जुन १० मा अपलोड भएको भिडिओसँग ‘कठघरा’ कार्यक्रममा देखाईएको भिडिओ क्लिपको फ्रेम मिलेको भेटियो ।
भिडिओको सुरुमा न्यारेटरले ज्ञानेन्द्र शाहीलाई भ्रष्टाचार विरोधी अभियानको अभियन्ता भनेर चिनाएका छन् भने शाही भर्खरै रिहाई भएर आएको भनेर पृष्ठभूमिमा बताएका छन् ।
भिडिओको ८ मिनेट ४२ सेकेन्डपछिको क्लिप र रियालिटी शो ‘कठघरा’ कार्यक्रममा देखाइएको भिडिओ क्लिप मिलेको भेटियो । पीएनपी मिडियाको लिंक यहाँ छ ।
भिडियोमा न हास्यात्मक प्रस्तुति, न कमेडी शैली, न सोही सन्दर्भको कुनै संकेत छ। ‘कमेडी प्रयोजन’ भन्ने दावीलाई समर्थन गर्ने कुनै प्रमाण फेला परेन
यही विषयमा विनयजंग बस्नेतलेसमेत रिपोर्टसक्लव नेपालमा पत्रकार सम्मेलन गरेर खण्डन गरेको भेटियो । पत्रकार सम्मेलनमा बस्नेतले शाहीले झूटो बोलेको दावी गरेका छन् । रिपोर्टस क्लव नेपालको ओरिजिनल लिंक यहाँ छ ।
तथ्यजाँच
दावी : ज्ञानेन्द्र शाहीले इन्डियन एरोनटिक्समा काम गर्ने अवसरबारे बोलेको कुरा ‘कमेडी’ का लागि थियो।
दावीकर्ता : ज्ञानेन्द्र शाही (कठघरा कार्यक्रममार्फत)।
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। २०१९ मा सार्वजनिक गरिएको भिडियो गम्भीर सन्दर्भमा बनाइएको हो। त्यसमा ‘कमेडी’ को कुनै संकेत छैन। पछि टेलिभिजन कार्यक्रममा उक्त सामग्रीलाई ‘कमेडी’ भनेर व्याख्या गर्दा वास्तविक सन्दर्भ परिवर्तन गरिएको देखिन्छ।