- सुरज घिमिरे
- बैशाख १७, २०८३

रेडियो सर्लाहीको टावरमा चट्याङ परेको भन्दै भाइरल फोटो ‘फेक’
सर्लाहीको हरिवनमा रहेको रेडियो सर्लाहीको टावरमा चट्याङ परेको दृश्य भन्दै सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनेको छ। तर, नेपाल फ्याक्ट चेकको तथ्य जाँचले उक्त फोटो वास्तविक नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बनाइएको पुष्टि गरेको छ।
के हो दाबी ?
११ लाखभन्दा बढी फलोअर्स भएको नाज इन्टरटेन्मेन्ट नामक फेसबुक पेजले अप्रिल २९, २०२६ (बुधबार) साँझ ६:३५ बजे एउटा फोटो पोस्ट गर्यो। फोटोको क्याप्सनमा लेखिएको छ, ‘सर्लाहीको हरिवनमा रहेको रेडियो सर्लाहीको टावरमा चट्याङ परेको दृश्य’। उक्त फोटोमा एउटा रेडियो टावरमा चट्याङ परिरहेको देखिन्छ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
दाबीको प्रभाव
हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा २ हजार ८ सयभन्दा बढी रियाक्सन, २९ कमेन्ट र ११ पटक शेयर भइसकेको छ।
सोही फोटोलाई सुन्दरहरैंचा अपडेट (लिंक/अर्काइभ), Palikapage पालिकापेज (लिंक/अर्काइभ), रेडियो मलङ्गवा ९५.६ मेगाहर्ज (लिंक/अर्काइभ), जोक्स नेपाल (लिंक/अर्काइभ) लगायतका पेज तथा एकाउन्टहरूमा पनि अपलोड गरिएको छ ।
के हो तथ्य ?
हामीले उक्त भाइरल फोटोको सत्यता जाँच्न निम्न प्रक्रिया अपनायौं:
दृश्य विश्लेषण : हामीले भाइरल फोटोलाई नजिकबाट नियालेर हेर्दा भवनमा रहेका व्यावसायिक बोर्डहरू (होर्डिङ बोर्ड) मा लेखिएका शब्दहरू अस्पष्ट र धमिलो देख्यौं। सामान्यतया एआईबाट निर्मित फोटोहरूमा अक्षरहरू स्पष्ट हुँदैनन्।
हेर्नुहोस्, फोटो :

गुगल स्ट्रिट भ्यू विश्लेषण : हामीले गुगल स्ट्रिट भ्यूको सहायताले हरिवनस्थित रेडियो सर्लाहीको भवन खोज्यौं। त्यहाँ रहेका ‘चौधरी वस्त्रालय’, ‘कुमारी बैंक’, र ‘एसियन पेन्ट्स’का बोर्डहरू भाइरल फोटोसँग मेल खान्छ। तर भाइरल फोटोमा अक्षरहरु स्पष्ट छैनन्। त्यसैगरी वास्तविक स्थानमा भवनको अगाडि एउटा ठूलो रुख रहेको देखिन्छ, जुन भाइरल फोटोमा देखिँदैन।
हेर्नुहोस्, गुगल स्ट्रिट भ्यूबाट लिइएको स्क्रिनसट :

टुल विश्लेषण
हामीले फोटोलाई इमेजह्विस्पररमा राखेर विभिन्न एआई डिटेक्सन टुलको विश्लेषण हेर्दा मिश्रित नतिजा देखियो।
- B-Free/DINOv2 ले तस्बिरलाई ८९% सम्भावनासहित एआई-जनरेटेड भनेर संकेत गरेको छ।
- GPT Image-आधारित परीक्षणले पनि ८९% सम्भावना देखाएको छ भने,
- अर्को AI-specific probe ले ७१% सम्भावना देखाएको छ।
हामीले फोटोको इएलए (एरर लेभल एनालिसिस) पनि गर्यौँ। यस क्रममा केही असामान्य संकेतहरू देखिन्छन्:
- बादलको गाढा भाग र भवनको छायाँ क्षेत्रमा डिजिटल कम्प्रेसन आर्टिफ्याक्ट (noise/धब्बा) देखिन्छ।
- बिजुली (lightning) निकै चम्किलो र सार्प देखिन्छ, जुन पछाडिको भवनको तुलनामा अस्वाभाविक रूपमा फरक छ।
- बिजुली परेको भए त्यसको प्रकाश भवनमा परावर्तित हुनुपर्ने हो, तर त्यस्तो प्रकाश प्रभाव देखिँदैन।
यी कारणहरूले बिजुलीको भाग पछि थपिएको (edited) वा कृत्रिम रूपमा सुधारिएको हुनसक्ने संकेत दिन्छन्।
आधिकारिक स्रोतसँगको कुराकानी
हामीले थप पुष्टिका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्ष अर्जुन गिरीलाई सम्पर्क गर्यौँ। उनले रेडियो सर्लाहीमा चट्याङ परेको खबर गलत भएको नेपालफ्याक्टचेकसँगको कुराकानीमा बताए ।
हामीले थप बुझ्न रेडियो सर्लाहीमै कार्यरत रीना आलेलाई सम्पर्क गर्यौँ। उनले रेडियोमा चट्याङ लागेको खबर गलत भएको पुष्टि गरिन्।
आलेले नेपाल फ्याक्ट चेकसँग कुरा गर्दै भनिन्, “रेडियोमा चट्याङ लागेको खबर गलत हो। फोटो बनाउने व्यक्तिले नै हामीलाई यो एआई प्रयोग गरेर बनाइएको जानकारी दिएका छन्।” उनले रेडियो भवनको ताजा फोटोसमेत उपलब्ध गराइन्, जसमा चट्याङले कुनै क्षति गरेको देखिँदैन।
हेर्नुहोस्, ताजा फोटो

तथ्य जाँच
दाबी : सर्लाहीको हरिवनमा रहेको रेडियो सर्लाहीको टावरमा चट्याङ परेको दृश्य भन्दै सामाजिक सञ्जालमा भाइरल फोटो ।
दाबीकर्ता : नाज इन्टरटेन्मेन्ट, सुन्दरहरैंचा अपडेट, पालिका पेज, रेडियो मलङ्गवा ९५.६ मेगाहर्ज र जोक्स नेपाल लगायतका फेसबुक पेजहरु
तथ्य : मिथ्या (False) । हाम्रो अनुसन्धान र सम्बन्धित रेडियो स्टेशनका कर्मचारीको पुष्टि अनुसार उक्त फोटो एआईबाट बनाइएको हो र त्यहाँ चट्याङ परेको छैन।