तथ्यजाँच एआई जेनेरेटेड भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

एमालेको प्रदर्शनमा प्रहरीको कुटाइबाट ढाडमा डाम बसेको दावी गर्दै भाइरल यो फोटो एआई निर्मित हो


एमालेको प्रदर्शनमा प्रहरीको कुटाइबाट ढाडमा डाम बसेको दावी गर्दै भाइरल यो फोटो एआई निर्मित हो

नेकपा (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा गरेको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई प्रहरीले कुटपिट गर्दा ढाडमा गहिरो चोट लागेको दाबीसहित एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा यो फोटो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर बनाइएको पुष्टि भएको छ।

के हो दावी ?

५ लाख २२ हजारभन्दा बढी सदस्य रहेको ‘रवि लामिछाने – आरएसपी (Rabi Lamichanne-RSP)’ नामक फेसबुक ग्रुपमा बुधबार जङ्गबहादुर राणा नामक एकाउन्टबाट एउटा फोटो पोस्ट गरिएको छ।

उक्त फोटोमा निधारमा पट्टी बाँधेका एक व्यक्तिको ढाडभरि कुटपिटका दागहरू देखिन्छ। फोटोमा “यसरी कुट्न पाइन्छ? यसको बदला सरकारसँग लिन्छौँ: एमाले युवा नेता”  पनि लेखिएको  छ। यो सामग्रीलाई १ हजार ९ सयभन्दा बढी लाइक, १ हजार २ सयभन्दा बढी कमेन्ट र ५० पटकभन्दा बढी सेयर गरिएको छ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिनसट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क 

त्यसैगरी एक्समा @ptkums ले एमाले नेता महेश बस्नेतको अकाउन्टबाट पोस्ट भएको यही फोटो सहितको स्क्रिनसट राखेको पोस्टमा १३ हजारभन्दा बढी भ्युज देखिन्छ। हेर्नुस् स्क्रिनसट

अर्काइभ लिङ्क। 

उक्त फोटोलाई विभिन्न फेसबुक पेज तथा एकाउन्टहरूमा पनि अपलोड गरिएको छ।

हेर्नुहोस्, भिडियो स्क्रिन रेकर्ड :

के हो तथ्य ?

हामीले यस भाइरल फोटोको तथ्य जाँच्न गर्न सबैभन्दा पहिला भिडियोको स्क्रिनसट निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। यस क्रममा  बाह्रखरी, नेपाल प्रेस र सिधा कुरा लगायतका सञ्चारमाध्यमले पोस्ट गरेका फोटो र भिडियोहरू फेला परे।

ती सामग्रीहरूका अनुसार, तस्बिरमा देखिएका व्यक्ति गत आइतबार एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका कार्यकर्ता हुन्। उनी गत सोमबार पनि टाउकोमा पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए ।

हेर्नुहोस्, बाह्रखरीको पेजको अपलोड गरिएको फोटोहरूको स्क्रिन सट :

लिङ्क यहाँ छ

उनको भिडियो अन्तर्वार्ताहरू नेपाल प्रेससहितका फेसबुक पेजमा अपलोड गरिएको छ ।

हामीले थप खोज्दै जाँदा सिधा कुरा नामक फेसबुक पेजमा गत आइतबार ‘एमाले कार्यकर्ता र प्रहरीबीच झडप, लाठीचार्जबाट केही घाइते र केही पक्राउ’ शीर्षकमा अपलोड गरिएको भिडियो भेट्यौं । उक्त भिडियोमा ती व्यक्तिको ठाउँकोबाट रगत बगिरहेको देखिन्छ भने उनी रगताम्य अवस्थामा पनि नाराबाजी गरिरहेका छन् । उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

यसरी गत आइतबारको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट टाउकोमा चोट लागेपछि सोमबारको प्रदर्शनमा पट्टी बाँधेर सडकमा निस्किएको पुष्टि हुन्छ ।

फोटोको वास्तविकता के ?

भाइरल फोटोमा देखिएको ढाडको चोट अस्वाभाविक लागेपछि हामीले प्राविधिक परीक्षण गर्‍यौँ। गुगलको SynthID प्रविधिले उक्त फोटोमा डिजिटल वाटरमार्क पहिचान गर्‍यो, जसले यो एआईद्वारा सिर्जित वा सम्पादित भएको संकेत गर्छ।

हेर्नुहोस्, जाँचको नतिजा :

हामीले उक्त फोटोलाई थप पुष्टि गर्न हाइभ मोडेरेशनमा पनि चेक गर्‍यौ । हाइभ मोडेरेशनले उक्त फोटो ९९.९ प्रतिशत एआईबाट तयार भएको सङ्केत देखायो ।

हेर्नुहोस्, स्क्रिनसट :

 

तथ्य जाँचबाट यो पुष्टि हुन्छ कि फोटोमा देखिएका व्यक्ति वास्तवमै एमालेको प्रदर्शनमा घाइते भएका हुन्। तर, उनको टाउकोमा चोट लागेको वास्तविक फोटोलाई आधार बनाएर, एआईको प्रयोग गरी ढाडमा निलडाम र चोटका दागहरू थपिएको देखिन्छ।

वास्तविक सञ्चारमाध्यमका फोटो र भिडियोमा उनको टाउकोमा चोट देखिए पनि ढाडमा त्यस्तो कुटपिटको दाग देखिएको छैन। तसर्थ, सहानुभूति बटुल्न वा आक्रोश फैलाउन वास्तविक व्यक्तिको फोटोलाई एआईमार्फत तोडमरोड गरिएको स्पष्ट हुन्छ।

तथ्य जाँच

दावी : एमालेको प्रदर्शनमा घाइते भएको व्यक्तिको फोटो।

दावीकर्ता : विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : भ्रामक/एआई जेनेरेटेड । एमालेले आयोजनाको गरेको आन्दोलनमा सहभागी भएको बेला आइतबार उनको टाउकोमा चोट लागेको मिडियाका फोटो र भिडियोबाट पुष्टि हुन्छ। तर, उनको ढाडमा दाग देखिएको कुटपिटको फोटो भने एआईबाट सम्पादित हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add