तथ्यजाँच एआई जेनेरेटेड कर्णाली भ्रामक सूचना

हुम्लामा गएको पहिरो भन्दै मिडियाले राखेका फोटो वास्तविक नभई एआईबाट बनेको


हुम्लामा गएको पहिरो भन्दै मिडियाले राखेका फोटो वास्तविक नभई एआईबाट बनेको

मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान र स्थानीय अधिकारीहरूसँगको पुष्टिबाट उक्त तस्बिर वास्तविक नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत निर्मित भ्रामक सामग्री भएको पुष्टि भएको छ।

के हो दावी ?

देश सञ्चार डटकमले २०८३ साल जेठ ६ गते हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको समाचार प्रकाशित गरेको छ। सो समाचारको मुख्य स्थानमा भीषण बाढीपहिरो गएको र भौतिक संरचनाहरू बगाएको देखिने एक तस्बिर समावेश गरिएको छ। (हेर्नुहोस् देशसञ्चारको स्क्रिनसट)

देशसंचारको आधिकारिक लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यही तस्बिर र व्यहोरा प्रयोग गरेर बाह्रखरी डटकम, नेपालन्यूज डटकम र नागरिकन्यूज डटकम लगायतका स्थापित सञ्चारमाध्यमहरूले पनि समाचार प्रकाशित गरेका छन्। समाचारमा चङ्खेली–५ का स्थानीय बासिन्दा छक्कबहादुर तामाङलाई उद्धृत गर्दै असिनापानीपछि खसेको पहिरोले विद्यालय भवन, खेतीयोग्य जग्गा र गोठहरूमा क्षति पुर्‍याएको उल्लेख छ।

हेर्नुहोस् बाह्रखरी डटकमको स्क्रिनसट

बाह्रखरीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

नेपाल न्यूज डटकमले पनि यही व्यहोराको समाचार र यही तस्बिर प्रयोग गरेको छ ।

हेर्नुहोस् नेपाल न्यूज डटकमको स्क्रिनसट

नेपाल न्यूजको आधिकरिक लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

नागरिक न्यूज डटकमले पनि हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगाएकोबारे समाचार प्रकाशित गरेको छ । उसले पनि यही तस्बिर प्रयोग गरेको भेटियो ।

हेर्नुहोस् नागरिक न्यूजको स्क्रिनसट

नागरिक न्यूजको आधिकारिक लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

 प्रभाव

नेपालका स्थापित र आधिकारिक मानिएका मूलधारका समाचार पोर्टलहरूबाटै एउटै व्यहोरा र एउटै तस्बिरसहितका समाचारहरू एकसाथ प्रकाशित भएपछि यसलाई सामाजिक सञ्जाल (फेसबुक, एक्स र टिकटक) मा थुप्रै प्रयोगकर्ताहरूले वास्तविक घटनाको तस्बिर मान्दै व्यापक रूपमा सेयर गरिरहेका छन्, जसका कारण जनमानसमा भ्रम फैलिएको देखिन्छ।

सामाजिक संजालमा फैलिएको तस्बिरसहितको समाचार हेरौँ ।

के हो तथ्य ?

तथ्य–जाँच प्रक्रियाका क्रममा हामीले सुरुमा समाचारको स्रोत पहिल्याउने प्रयास गर्‍यौँ। सबैजसो सञ्चारमाध्यमले समाचारको अन्त्यमा राष्ट्रिय समाचार समिति (रासस) उल्लेख गरेको भेटिएपछि हामीले राससको बुलेटिन जाँच गर्‍यौँ। राससले २०८३ जेठ ६ गते बिहान ८:५५ बजे उक्त समाचार र तस्बिर वितरण गरेको देखिन्छ। यसैगरी निजी क्षेत्रको समाचार एजेन्सी ‘नेपाल न्यूज बैंक’ ले पनि आफ्ना ग्राहक सञ्चारमाध्यमहरूलाई यही समाचार र तस्बिर प्रवाह गरेको फेला पर्‍यो। तर, दुवै न्यूज एजेन्सीले उक्त तस्बिर खिच्ने फोटो पत्रकार वा व्यक्तिको नाम (क्रेडिट) कतै खुलाएका छैनन्।

नेपाल न्यूज बैंकको स्क्रिनसट

क) रिभर्स इमेज र भिजुअल अनुसन्धान: हामीले उक्त तस्बिरलाई गुगल रिभर्स इमेज सर्च  मार्फत जाँच गर्दा कान्तिपुर दैनिकले विगतमा ‘फाइल तस्बिर’ का रूपमा आफ्नो लोगोसहित प्रयोग गरेको एउटा तस्बिर फेला पर्‍यो। कान्तिपुरको उक्त मूल फाइल तस्बिर र हाल सञ्चारमाध्यममा भाइरल भएको तस्बिरको फ्रेम, कोण र संरचना दुरुस्तै मिल्छ। दुई तस्बिरको सूक्ष्म तुलनात्मक विश्लेषण गर्दा कान्तिपुरको वास्तविक फाइल तस्बिरलाई पृष्ठभूमि (Background) को रूपमा लिएर त्यसमाथि थप विनाशका दृश्यहरू सम्पादन (Edit) गरिएको स्पष्ट देखिन्छ।

हेर्नुहोस् कान्तिपुरको स्क्रसिनसट

कान्तिपुरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

दुई तस्बिरको तुलना गरेर हेर्दा कान्तिपुरको फाइल तस्बिरलाई सम्पादन गरिएको देखिन्छ ।

ख) प्राविधिक परीक्षण (एआई डिटेक्सन टुल): तस्बिरमा कृत्रिमता देखिएपछि हामीले विभिन्न डिजिटल फरेन्सिक्स र एआई पहिचान गर्ने उपकरणहरूमार्फत् यसको प्राविधिक परीक्षण गर्‍यौँ:

  • Google SynthID: यो परीक्षणबाट उक्त भिडिओ वा तस्बिर सिर्जनामा गुगल एआईको प्रत्यक्ष प्रविधि प्रयोग नभएको देखिए पनि अन्य सम्पादन उपकरणहरूको प्रयोग भएको संकेत प्राप्त भयो।

  • WasItAI: यो टुलमार्फत गरिएको परीक्षणले तस्बिर एआईको प्रयोग गरी व्यापक रूपमा सम्पादन वा परिमार्जन गरिएको बलियो नतिजा देखायो।

  • Undetectable.ai र TruthScan.com: यी दुवै प्राविधिक उपकरणहरूको विश्लेषणले पनि यो तस्बिर शतप्रतिशत वास्तविक नभएको र यसका प्रमुख भागहरू (जस्तै बाढीपहिरो र संरचना बगाएको क्षेत्र) एआई टूल्स प्रयोग गरेर थपिएको (Manipulated) पुष्टि गरे। तस्बिरका विभिन्न स्थानमा पिक्सेलको असमानता र प्रकाशको असन्तुलनले यसलाई एआई निर्मित सामग्री साबित गर्छ।

ग) स्थानीय अधिकारीको भनाइ र प्रेस विज्ञप्ति: हामीले यसबारे थप आधिकारिक जानकारी लिन चङ्खेली गाउँपालिकाका सूचना प्रविधि अधिकृत ताराबहादुर कार्कीलाई सम्पर्क गरी भाइरल तस्बिर पठायौँ। उनले नेपालफ्याक्टचेकसँग कुरा गर्दै यो तस्बिर पूर्ण रूपमा नक्कली (वास्तविक नभएको) बताए। उनले भने, “पहिरो गएको नेप्का गाउँ एकदमै विकट र टाढा छ। त्यहाँ अनुगमनका लागि जनप्रतिनिधिसहितको टोली भर्खरै प्रस्थान गरेको छ, तर सञ्चारमाध्यममा आएको जस्तो यो तस्बिर त्यहाँको होइन।”

अधिकृत कार्कीले जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा जारी आधिकारिक प्रेस विज्ञप्ति समेत नेपालफ्याक्टचेकलाई उपलब्ध गराए। उक्त सरकारी विज्ञप्तिमा पहिरो र क्षतिको विवरण (समाचारमा उल्लेख भए बमोजिम नै) समेटिए पनि सञ्चारमाध्यमहरूले प्रयोग गरेको जस्तो कुनै पनि तस्बिर वा सो प्रकृतिको चरम विनाशको दृश्य समावेश छैन। यसबाट पुष्टि हुन्छ कि हुम्लामा पहिरो गएको घटना सत्य भए पनि न्यूज एजेन्सी र सञ्चारमाध्यमहरूले प्रयोग गरेको तस्बिर भने एआई निर्मित र भ्रामक हो।

हेर्नुहोस् विज्ञप्ति

तथ्यजाँच

दावी: हुम्लाको नेप्का गाउँको पहिरो भन्दै सार्वजनिक तस्बिर

दावीकर्ता : deshsanchar.com, baahrakhari.com, nepalnews.com, nagariknews.com लगायत अनलाईन सञ्चारमाध्यम‍

तथ्यजाँच : भ्रामक (Misleading)। हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा पहिरो गएको र विद्यालय भवनमा क्षति पुगेको सम्बन्धी समाचार विवरण सत्य हो। तर, सो समाचारका साथमा मुख्यधारका सञ्चारमाध्यम र न्यूज एजेन्सीहरूले प्रयोग गरेको तस्बिर भने वास्तविक होइन। प्राविधिक विश्लेषण, रिभर्स इमेज सर्च र गाउँपालिकाका सूचना प्रविधि अधिकृतको आधिकारिक भनाइ अनुसार कान्तिपुरको पुरानो फाइल तस्बिरलाई एआई उपकरणहरू प्रयोग गरी सम्पादन गरेर यो भ्रामक तस्बिर निर्माण गरिएको पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add