- टेकमान शाक्य
- बैशाख २०, २०८३

सुकुम्बासी बस्तीको ‘आलिशान भवन’ पूर्वमन्त्री किरातीको भएको दावी गलत
पूर्वमन्त्री गोपाल किरातीले मनोहराको सुकुम्बासी बस्तीमा ६ तले आलिशान भवन बनाएको र सरकारले त्यसमा डोजर चलाएको दाबीसहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, नेपालफ्याक्टचेकको स्थलगत अनुसन्धानमा उक्त आलिशान भवन सुकुम्बासी बस्ती बाहिर रहेको, त्यो नभत्किएको अनि घर पनि किरातीको नभएको पुष्टि भएको छ। यद्यपि, किराती बस्दै आएको सुकुम्बासी बस्तीभित्रको अस्थायी टहरोमा भने डोजर चलेको सत्य हो।
के हो दावी ?
सीधाकुरा डटकमले २०८३ साल वैशाख १४ गते प्रकाशित समाचारमा पूर्वमन्त्री गोपाल किरातीको घर सरकारले भत्काएको दाबी गरेको छ। समाचारमा सुकुम्बासी बस्तीको जग्गा कब्जा गरी किरातीले आलिशान भवन बनाएको उल्लेख गर्दै एउटा ६ तले घरलाई रातो घेरा लगाएर देखाइएको छ।
यस्तै, पूर्वसचिव भीम उपाध्यायले सोही समाचारको ग्राफिक्स प्रयोग गर्दै सन् २०२६ अप्रिल २७ मा फेसबुक स्टाटस लेख्दै किरातीको ६ तले घर प्रहरीले भत्काएको दाबी गरेका छन्।
दावीको प्रभाव:
-
सीधाकुराको समाचार: ३७१ पटकभन्दा बढी सेयर।
-
भीम उपाध्यायको पोस्ट: ३,४०० भन्दा बढी रियाक्सन र २४० पटक सेयर।
हेर्नुहोस् सीधाकुराको समाचारको स्क्रिनसट

सीधाकुराको लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
भीम उपाध्यायको पोस्टको स्क्रिनसट हेर्नुहोस्

भीम उपाध्यायको लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
हामीले यस दाबीको तथ्य जाँच गर्न निम्न प्रक्रिया अपनायौँ:
क) रिभर्स इमेज सर्च
हामीले सबैभन्दा पहिले गोलो घेरामा हाइलाइट गरिएको घरको फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्यौँ। नतिजामा नेपालभ्युज डटकमले यही घर देखिनेगरी ड्रोनबाट खिचिएको तस्बिर भन्दै २०८३ सालको वैशाख १३ गते केही तस्बिर सार्वजनिक गरेको भेटियो । जहाँ सीधाकुरा डटकम र पूर्वसचिव उपाध्यायले पूर्वमन्त्री किरातीको दावी गर्दै सार्वजनिक गरेको घरलाई पनि देख्न सकिन्छ ।
हेर्नुहोस् नेपालभ्युजको तस्बिर

नेपालभ्युजको लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
ख) स्थलगत निरीक्षण:
यो घर वास्तवमै भत्किएको हो कि होइन र सुकुम्बासी बस्तीभित्रकै घर हो कि होइन भन्ने पत्ता लगाउन नेपाल फ्याक्ट चेकको टोली बिहीबार दिउँसो ४:३५ बजे मनोहरास्थित सुकुम्बासी बस्ती पुगेको थियो। स्थलगत अध्ययनमा निम्न कुरा भेटिए:
-
भाइरल तस्बिरमा देखाइएको आलिशान भवन सुकुम्बासी बस्तीभित्र नभई बस्ती बाहिर निर्माणाधीन अवस्थामा छ।
-
उक्त घरको पिल्लर, रङ, बुट्टा र छतमा रहेको बुद्धको मूर्ति भाइरल तस्बिरसँग मेल खान्छ, तर यो घर भत्काइएको छैन।
हेर्नुहोस् नेपाल फ्याक्टचेकले खिचेको तस्बिर र कैद गरिएको समयसहितको विवरण

केही दिनअघि भत्काइएको सुकुम्बासी बस्तीतिरको भुभागबाट पनि हामीले यो घरलाई कैद गर्यौँ ।
सन् २०२६ को अप्रिल ३० को दिन दिउँसो ४ बजेर ४३ मिनेटमा कैद गरिएको यो तस्बिर हेर्नुहोस् ।

ग) पूर्वमन्त्री किरातीको वास्तविक बसोबास
हामीले सुकुम्बासी बस्तीमा बस्ने देवान राईलाई भेट्यौँ, जसले किरातीलाई २०८१ सालदेखि सो बस्तीमा व्यवस्थापन गरेका थिए। किराती आर्थिक अभाव र स्वास्थ्य समस्याका कारण ‘सारथी’ नामक संस्थाको टिनले छाएको टहरोमा बस्दै आएको उनले बताए।
हेर्नुहोस् पूर्वमन्त्री किराती बसेको सुकुम्बासी बस्तिको भत्किएको घर (तस्बिर- नेपाल फ्याक्टचेक)

हेर्नुहोस् पूर्वमन्त्री किरातीले सुकुम्बासी बस्तीमा चर्चेर बसेको जग्गा (तस्बिर- नेपाल फ्याक्टचेक)

घ) सम्बन्धित पक्षको प्रतिक्रिया
पूर्वमन्त्री किरातीले हामीसँग कुरा गर्दै आफ्नो कुनै घर-जग्गा नभएको र आफू सुकुम्बासी बस्तीकै टिनको टहरोमा बसेको स्पष्ट पारे। उनले आफू बसेको उक्त अस्थायी संरचनामा भने डोजर चलेको स्वीकार गरे।
ङ) भिडियो प्रमाण
सन् २०२५ जुलाई ३० मा ग्लोबल टेलिभिजनले प्रसारण गरेको अन्तर्वार्तामा पनि किराती टिनले बेरेको टहरोमा बसिरहेको देखिन्छ, जसले उनी ६ तले घरमा नभई टहरोमा बस्थे भन्ने थप पुष्टि गर्छ।

ग्लोबल टेलिभिजनको लिंक यहाँ छ।
तथ्यजाँच
दावी : सुकुम्बासी बस्तीमा पूर्वमन्त्री किरातीको ६ तले घरमा डोजर चलेको
दावीकर्ता : सीधाकुरा डटकम, पूर्वसचिव भीम उपाध्याय
तथ्यजाँच/निश्कर्ष : भ्रामक (Misleading)। पूर्वमन्त्री किराती सुकुम्बासी बस्तीमा बस्दै आएको टिनको टहरोमा डोजर चलेको कुरा सत्य हो। तर, सामाजिक सञ्जालमा दाबी गरिएको ६ तले आलिशान भवन किरातीको होइन र त्यसमा डोजर पनि चलेको छैन। उक्त भवन निजी सम्पत्ति हो र बस्ती बाहिर अवस्थित छ।