कोशी तथ्यजाँच भ्रामक सूचना

झापामा सुकुम्वासी बस्ती भत्काउँदा मुठभेड भएको भनिएको भिडियो काठमाडौंको ८ महिना पुरानो


झापामा सुकुम्वासी बस्ती भत्काउँदा मुठभेड भएको भनिएको भिडियो काठमाडौंको ८ महिना पुरानो

झापामा सुकुम्वासी बस्ती भत्काउन पुगेका सुरक्षाकर्मी र डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, नेपाल फ्याक्ट चेकको तथ्य जाँचले उक्त भिडियो झापाको नभई ८ महिना पुरानो काठमाडौंको मनोहरा सुकुम्वासी बस्तीको भएको पुष्टि गरेको छ। 

के हो दावी  ?

लक्ष्मण धामी नामक फेसबुक प्रयोगकर्ताले मंगलबार (मे ५, २०२६) साँझ महानगर प्रहरी, नेपाल प्रहरी र स्थानीयबीच मुठभेड भएको देखिने भिडियो पोस्ट गरे।

२ मिनेट १३ सेकेन्डको उक्त भिडियोमा झापामा सुकुम्वासी बस्ती भत्काउन आउने सुरक्षाकर्मी र डोजरमाथि ढुङ्गामुढा भएको दावी गरिएको छ।

हामीले तथ्य जाँच गर्दै गर्दा ७ हजार ४ सय बढी लाइक, एक हजार ६ सय कमेन्ट र एक हजार ८ सय पटक शेयर गरिएको छ । साथै, भिडियोलाई ४ लाख ९० हजार बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, स्क्रिनरेकर्ड :

उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्कअर्काइभ भिडियो 

सोही भिडियोलाई युवा लामा (लिङ्क/अर्काइभ लिङ्क), उमेश बुढा (लिङ्क /अर्काइभ लिङ्क) लगायतका फेसबुक प्रयोगकर्ताले पनि अपलोड गरेका छन् ।

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले भाइरल भिडियोका दृश्यहरूलाई सूक्ष्म रूपमा विश्लेषण गर्‍यौं।

१. दृश्य प्रमाण  

भिडियोमा नगर प्रहरीले लगाएको ज्याकेट र हेलमेटमा प्रष्टसँग ‘KMC Police’ लेखिएको देखिन्छ। ‘KMC Police’ को अर्थ काठमाडौं महानगरपालिका प्रहरी (Kathmandu Metropolitan City Police) हो। झापाका कुनै पनि पालिकामा ‘KMC Police’ रहने व्यवस्था छैन।

हेर्नुहोस्, स्क्रिनसट :

२. स्रोत पहिचान 

भिडियोमा ‘‘फन फनी इन्टरटेनमेन्ट‘ (Fun Funny Entertainment) को लोगो देखिएपछि हामीले उक्त युट्युब च्यानलमा खोज गर्‍यौं। खोजका क्रममा अगस्ट १५, २०२५ (२०८२ साउन ३०) मा सोही च्यानलमा अपलोड गरिएको १३ मिनेट १३ सेकेन्डको भिडियो फेला पर्‍यो।

हेर्नुहोस्, उक्त युट्युब च्यानलमा ८ महिनाअघि अपलोड गरिएको भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

३. समय र सन्दर्भ  

उक्त युट्युब भिडियोको शीर्षक ‘मनोहरा सुकुम्वासी बस्तीमा बालेनले हाने डोजर ! बालेन टोली माथि सुकुम्वासीले बर्साए ढुङ्गा मुडा !’, रहेको छ।

हामीले सो समयमा मनोहराको सुकुम्वासी बस्तीमा डोजर चलेको थियो वा थिएन भनेर एड्भान्स गुगल सर्च मार्फत थप खोज्यौँ । अगस्ट १५, २०२५ (वि.सं. २०८२ साउन ३०) मै अनलाइनखबर, रातोपाटी, हिमाल प्रेस, नेपाल भ्यूज लगायतका अनलाइन सञ्चारमाध्यममा पनि मनोहरा सुकुम्वासी बस्तीमा डोजर चलेको समाचार प्रकाशित गरेका छन् । सो समयमा हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको प्रमुख थिए।

तथ्य जाँच

दावी  : झापामा सुकुम्वासी बस्ती भत्काउन पुगेका सुरक्षाकर्मी र डोजरमाथि स्थानीयले ढुङ्गा मुडा प्रहार गरेको भन्दै भाइरल भिडियो ।

दावीकर्ता : लक्ष्मण धामी, युबा लामा र उमेश बुढा लगायतका फेसबुक प्रयोगकर्ता ।

तथ्य : भ्रामक (Misleading) । भाइरल भिडियो हालैको झापाको घटना नभई ८ महिना पुरानो काठमाडौंको मनोहरा सुकुम्वासी बस्तीको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add